
सोमवार , बैशाख १३, २०७८
बुटवल, १३ वैशाख ।
कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरबाट आफु सुरक्षित रही संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न पूर्व सावधानीका सम्पूर्ण उपायहरु अप्नाउन नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीले विज्ञप्तीमार्फत अपिल गरेको छ ।
संघका अध्यक्ष सुरज भट्टराईद्वारा सोमबार जारी प्रेस विज्ञप्ती सेवामुलक व्यवसायलाई सरकारले तोकेको मापदण्डभित्र रहेर निरन्तरता दिन सम्पूर्ण औषधि व्यवसायीहरुलाई अपिल गरिएको हो । नागरिकको उपचार तथा औषधि प्राप्त गर्ने अधिकार प्रति संवेदनशील भएर सेवा भावका साथ औषधि पसल तथा क्लिनिकहरुमा सेवा प्रवाहलाई निरन्तरता दिइ उपचार तथा औषधि विक्री–वितरणमा सहजता कायम गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।
औषधि विक्री–वितरण तथा आपूर्ति व्यवस्थापन अत्यन्त संवेदनशील व्यवसाय भएकाले कुनै पनि नागरिकले जीवनरक्षक औषधिको अभाव भोग्न नपरोस् भन्नेतर्फ औषधि व्यवसायी संवेदनशील र सचेत रहनुपर्ने बताइएको छ । पेशागत मर्यादा, आचारसंहिता र सरकारी नीति, निर्णय र निर्देशनको पालना गरी औषधिको आपुर्ति र व्यवस्थापनका लागि स्थानीय तहसंग समन्वय गरी कार्य गर्नुपर्ने परिस्थिति निर्माण भएको भन्दै कोरोनाको लहर बढ्दै जाँदा अवलम्बन गरिने लकडाउन, सवारीसाधनको आलोपालो प्रणाली, निशेषाज्ञा आदिको अवस्थामा औषधि र साधक वस्तुहरुको आपूर्ति व्यवस्थापनबारे सरकारी निकायको योजना बनाउन समेत सुझाव दिइएको छ ।
संघबाट जारी १२ बुद्धे विज्ञप्तीमा संकटको समाधान सबैको सहयोग, सहकार्य र योगदानबाट गर्नेतर्फ हातेमालो बढाउन, पसल वा बाहिर हिंडडुल गर्दा अनिवार्य रुपमा माक्सको प्रयोग गर्न, फर्ममा आवतजावत गर्दा अनिवार्य रुपमा आफ्नो फर्मको आईडी कार्ड साथमा राख्न, सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दा निश्चित दुरी कायम गर्न, औषधि पसलमा सेवाग्राहीहरु बस्ने प्रतिक्षा कक्षमा निश्चित दुरी कायम गरी बस्ने व्यवस्था मिलाउन, सरसफाई र औषधिजन्य फोहोरको व्यवस्थापनमा विशेष सावधानी अपनाउन, शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने खालका खानेकुरा सेवन गर्न, अत्यावश्यक काम बाहेक भिडभाड हुने स्थानमा नजाने र अनावश्यक रुपमा घरबाहिर हिड्डुल नगर्न, सम्भव भएसम्म सीमित जनशक्तिबाट आलोपालो गरेर भए पनि सेवा प्रवाहलाई निरन्तरता दिन, कोरोना संक्रमणको शंका लागेमा परिक्षण, संक्रमितलाई आइसोलेशन र कन्ट्रयाक्स ट्रेसिङमा परेकालाई परीक्षण गराउन आवश्यक समन्वय र सहजीकरण गर्न, जीवन रक्षक औषधिको अभाव हुने अवस्था श्रृजना भएमा समयमै संघमा जानकारी गराउन समेत आग्रह गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij