२०८२, मंसिर २७ गते

Dec 13 2025 | २०८२, मंसिर २७ गते

सातौं तिलोत्तमा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

बिहिवार , मंसिर २५, २०८२

  • 535
    Shares
  • 535
    Shares
  • भैरहवा, २५ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहीबारदेखि सातौं तिलोत्तमा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८२ सुरु भएको छ । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ

    तिलोत्तमा–६ कुञ्जलापुरस्थित उमा आधारभूत विद्यालयको खेलमैदानमा उद्घाटन भइ सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका सामूदायिक र संस्थागत गरी ३६ विद्यालयहरुले प्रतिष्पर्धामा भाग लिएको नगर खेलकुद विकास समितिका संयोजक लोक पुनले जानकारी दिनुभयो ।

    विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रियस्तरीय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङशिल्ड आयोजना गरिएको नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख उपसचिव गंगाराम आचार्यले बताउनुभयो ।

    प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले खेलकुद स्वास्थ्यसँग पनि जोडिएकोले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताले भूमिका खेल्ने उल्लेख गर्दै गर्नुभयो । उहाँले खेलले मानिसलाई अनुशासित र गतिशील पनि बनाउने उल्लेख गर्नुभयो । खेलकुद प्रतियोगिताको माध्यमबाट खेलका पूर्वाधार पनि विकास हुने बताउनुभयो । तिलोत्तमामा आईटी पार्क निर्माण गरी त्यहाँ खेलाडीको तस्वीर राखिएको भन्दै उहाँले यसले खेलाडी उत्पादनमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    नगर उपप्रमुख जागेश्वर देवी चौधरीले खेलबाट संसार जित्न सकिने भन्दै विद्यालय तहबाटै प्रतियोगितामा सहभागी भइ पालिकाको नाम देशविदेशमा चम्काउन सकिने बताउनुभयो । उहाँले खेलकुदलाई विशेष महत्व दिइएको र तिलोत्तमालाई खेलकुदको हबको रुपमा विकास गर्न लागिपरेको बताउनुभयो । 

    शिक्षा अधिकृत धनी प्रसाद शर्माको स्वागत तथा तिलोत्तमा खेलकुद विकास समितिका सदस्य मनोज केसीको सञ्चालनमा प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भएको थियो ।

    प्रतियोगितामा कबड्डी, भलिबल, हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, एथ्लेक्टिक्सका विभिन्न ईभेण्टहरु, रिले दौडसहित पाँचवटा विधाका ५४ वटा इभेन्टहरु हुन छन् । जसमा एकसय, दुईसय, चारसय, आठसय, एकहजार पाँच सय र तीन हजार मिटरका दौड प्रतियोगिताहरु समावेश गरिएको समितिका सदस्य सोभित दर्लामी मगरले बताउनुभयो ।

    प्रतियोगिता नगरपालिकाको परिसरमा र उमा आधारभूत विद्यालयको प्रांगणमा गरी २ ठाउँमा सञ्चालन हुनेछ ।