२०८२, मंसिर २५ गते

Dec 11 2025 | २०८२, मंसिर २५ गते

‘भीम अस्पतालको सेवाप्रति विश्वास बढ्दो, सुधारका केही काम बाँकी’

बिहिवार , मंसिर २५, २०८२

  • 373
    Shares
  • 373
    Shares
  • भैरहवा, २५ मंसिर । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालप्रति सेवाग्राहीको विश्वास बढेको सरोकारवाला तथा स्थानीयबासीले बताउनुभएको छ । अस्पतालप्रति बिरामीको विश्वास बढेको र धेरै सुधार भए पनि यहाँ गर्नुपर्ने सुधारका केही कामहरु भने बाँकी रहेको उहाँहरुको भनाइ छ ।

    स्वास्थ्य सेवाका विषयमा अस्पतालले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयबासी तथा सरोकारवालाले अस्पतालप्रति बिरामीको विश्वास बढेको कारणले यहाँ चाप पनि बढेको बताउनुभयो । उहाँहरुले कोरोना महामारी जस्तो जटिल परिस्थितिमा उपचार सेवा दिएर भीम अस्पताल अब्बल अस्पतालको रुपमा स्थापित भएको बताउनुभयो ।

    कार्यक्रममा होटल व्यवसायी महासंघ–नेपालका केन्द्रीय उपमहासचिव राजेश महोत्राले सरकारी अस्पताललाई हेला नगरी आफ्नै अस्पतालको रुपमा सोचेर यसको विकासमा लाग्नुपर्ने बताउनुभयो । उहाँले भीम अस्पतालको सुन्दरीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले अस्पतालको प्रगतिबाट खुसी भएको बताउनुभयो । उहाँले कोरोना महामारी अघि अस्पतालबाट प्रदान गरिएको सेवा सन्तोषजनक नभए पनि विगत केही वर्ष यता भने यहाँ धेरै सुधार भएको बताउनुभयो । उहाँले अस्पतालमा भिडभाड व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

    सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले यो अस्पतालमा धेरै सुधार भएको बताउनुभयो । ‘विगतमा उपचारका लागि अन्यन्त्र जान्थ्यौं । तर, अहिले लाइन लागेर उपचार सेवा लिन हामी यहाँ आउँछौं, ’उहाँले भन्नुभयो–‘बिरामीको चाप बढेकाले विशेषज्ञ चिकित्सकको संख्या थप्नुपर्छ ।’

    kkkk.jpg

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दुले अस्पतालमा भिड बढ्दै गएको बताउनुभयो । उहाँले अस्पतालमा विशेषज्ञ डाक्टरको दरबन्दी थप गर्नुपर्ने माग गर्नुभयो ।

    लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले अस्पतालको सरसफाईमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले अस्पतालबाट उपलब्ध हुने सम्पूर्ण सेवा बिरामीले पाउनैपर्ने बताउनुभयो ।

    सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष समसाद इद्रीसीले बिरामीलाई सहज र सरल सेवा प्रदान गर्नका लागि विद्युतीय भुक्तानी प्रणाली आवश्यक रहेको बताउनुभयो ।

    सक्षम सहारा बहुउद्देश्यीय महिला समूह सिद्धार्थनगर नगरपालिका–६, रुपन्देहीको अध्यक्ष शान्ता कंडेलले अस्पतालले धेरै प्रगति गरेको बताउनुभयो । उहाँले विशेष गरी तराईमा सर्पको बिगबिगी रहेकोले यहाँ सर्पदशं उपचार केन्द्र राख्नुपर्ने बताउनुभयो । मानिसको मृत्यु भएपछि आफन्त र परिवारका सदस्य नआउँदासम्म शव निःशुल्क राख्ने व्यवस्था मिलाउन अस्पताल प्रशासनलाई उहाँले आग्रह गर्नुभयो ।

    स्वास्थ्यकर्मी प्रकाश पाण्डेले अस्पतालमा बढी भिड हुँदा कहिलेकाही आवश्यक औषधिको समेत अभाव हुन भएकाले यसको व्यवस्थापनका लागि स्थानीय सरकारले विशेष सहयोग गर्नुपर्ने बताउनुभयो ।

    समाजसेवी गोपाल भण्डारीले अस्पतालको स्तरोन्नति किन हुन सकेन भन्दै प्रश्न गर्नुभयो । उहाँले अस्पतालमा अनलाईन प्रविधिबाट हुनुपर्नेमा जोड दिनुभयो ।

    भैरहवा मर्निङ वाक ग्रुपका बाबुराम के.सी.ले अस्पतालमा अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन सुझाव दिनुभयो । उहाँले अस्पतालको टिकट काउण्टरमा कर्मचारीको संख्या बढाउनुपर्ने माग गर्नुभयो ।

    सिद्धार्थगर नगरपालिका–८ का नारायण प्रसाद कोइरालाले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको सेवाग्राहीसँग गर्ने व्यवहार राम्रो पाएको बताउनुभयो । उहाँले अस्पतालमा टिकट काट्नका लागि विद्युतीय भुक्तानी प्रणाली नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेकोले यसको समाधानका लागि अस्पताल प्रशासनले ध्यान दिनुपर्ने बताउनुभयो ।

    भीम अस्पताल विकास समितिका पूर्वअध्यक्ष आनन्द प्रसाद गुप्ताले अस्पतालमा अहोरात्र खट्ने स्वास्थ्यकर्मी र कर्मचारीको सुविधामा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।  

    अस्पताल विकास समितिका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले आफू भाग्यमानी अध्यक्ष भएको बताउनुभयो । उहाँले सुधार गर्न खोजिए हुँदो रहेछ भन्ने कुराको उदाहरण भीम अस्पताल भएको बताउनुभयो । उहाँले २०७८ देखि २०८० सालमा मात्रै अस्पतालमा किन परिवर्तन भयो भन्दै प्रश्न गर्नुभयो ।

    भीम अस्पतालको प्रमुख (मेडिकल सुपरीटेण्डेण्ट) डा. वर्षा थापाले स्वास्थ्य सबैको चासोको विषय भएको बताउनुभयो । उहाँले विगतको तुलनामा अस्पतालमा धेरै परिवर्तन भएको बताउनुभयो । यद्यपि चुनौतीहरु रहेको उहाँले बताउनुभयो । ‘यहाँ उपचार गराउन आउने बिरामीको संख्या बढेको छ, उहाँले भन्नुभयो–अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मीबाट पाएको सहयोग र समाजको योगदानको प्रशंसा गर्दछु ।’

    अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले अस्पतालमा कार्यरत टीमका कारण यहाँ बिरामीको विश्वास बढेको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मी र कर्मचारीको मनोबल बढाउनुपर्नेमा जोड दिनुभयो ।

    सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले सेवाग्राहीले पनि स्वास्थ्यकर्मीसँग राम्रो व्यवहार गर्नुपर्ने बताउनुभयो । उहाँले भीम अस्पतालले राम्रो सेवा दिएकोले विश्वास गरेर यहाँ बिरामीहरु आउनुभएको बताउनुभयो । सिद्धार्थनगर नगरपालिकाले अस्पतालका लागि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको उहाँको भनाइ छ ।

    जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले अस्पतालप्रति सेवाग्राहीको विश्वास अझ बढेको बताउनुभयो । उहाँले अफ्ठयारो परिस्थितिमा अस्पतालले राम्रो सेवा प्रदान गरेको उल्लेख गर्नुभयो ।

    अस्पतालका व्यवस्थापक छम बहादुर अधिकारी (सुरेन्द्र) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समन्वय भैरहवा सञ्चार गृह प्रा.लि. भैरहवा, रुपन्देहीले गरेको थियो ।