बिहिवार , मंसिर २५, २०८२
(वनफूलको विद्रोह कवितासङ्ग्रह पढेपछिको अनुभूति )
“वनफूलको विद्रोह” कवितासङ्ग्रह युवा पुस्ताकी कवि निरञ्जना चन्द निरुको पछिल्लो सशक्त साहित्यिक सिर्जना हो । “निरुको साईनो” र “निरुपण” अघिल्ला सिर्जना हुन् । शिक्षण पेशामा गतिशील निरुले नाटकमा समेत दख्खल राख्छिन् । मुक्तक लेखन उनको खास रुची हो । नेपाली विषयमा स्नातकोत्तर निरुले साहित्य फाँटमा हस्तक्षेपकारी भूमिका प्रस्तुत गर्दैछिन् ।
केन्द्रीय राजधानीभन्दा धेरै टाढा अर्थात् बर्दियामा रहेर कविताको सहारामार्फत् वनफूलको विद्रोह कवितासङ्ग्रह हामी माझ ल्याइकी हुन् । सङ्ग्रहको शीर्षकले मात्र होइन, समाहित ६१ वटै कविताले मनमा उत्प्रेरणा जागृत गराउँछ । मस्तिष्कमा झड्का पैदा र विचारमा उत्तेजना सिर्जना गर्छन् । यो नै कविताका खास गुण हुन् । कवितासङ्ग्रहमा पर्याचिन्तन, राष्ट्रभाव र महिलावादी सोचले प्रशस्त स्थान पाएका छन् ।
भन भन मेची, महाकाली र कोशी तिमी ?
कहाँसम्म जान्छौ अविरल अविरल ?
फर्केर आउनू अवश्य एक दिन
सम्झिएर आफू जन्मिएको मुहान ।
कविताको यो अंशले पर्याचिन्तन र राष्ट्र भाव एकैपटक प्रकट गरेको भेट्छौं । जसलाई संयोग मात्र होइन, सिर्जनाको सशक्त स्वरुप मान्न सकिन्छ ।
मनमा क्रान्तिकारी भाव बोकेर लम्बे साहित्यिक यात्रामा निस्किएकी निरुले आफ्ना कवितामार्फत् बेथिति र अन्धविश्वासप्रति झटारो हानेकी छिन् । समताका पक्षमा शब्दहरु उरालेकी छिन् र विभाजनका डोरीहरु चुँडाल्दै एकताका बाँसुरी बजाएकी छिन् ।
तिम्रो पितृवियोगपश्चात
शिरमा गुलाब सिउरिने रहर खोेसेपछि दुनियाँले
सिउँडीका फूलहरुले शिरकेश सजाएकी हुँ मैले
हेर न त्यो पखेरोमा लहलहाएको बाबियो झैं शिरकेश ।
मौन विद्रोहको उच्च रुप भेटिन्छ यो कवितामा । सायद दुनियाँले थाहा पाउने छन् कविले समताका निम्ति किन अक्षरका जुलुश लगाएकी छिन् । पुरुषप्रधान समाजमा महिलाले भोग्दै आएका अनुभवन्य पीडाको प्रमाण हो कविताको यो अंश ।
निरुले अक्षरको सहायतामा समाजमा क्रान्तिको बिगुल फुक्दैछिन् । विभेदविरुद्वको साहित्यिक यात्राका सारथी बन्दैछिन् । न्यायलाई ओथारो बसेको देख्छिन् घरिघरि । आँसुका सगरमाथा भेट्छिन् कहिलेकाही समाजमा उनले । तर, हरेश खाएकी छैनन् । उनमा कविताले स्फूर्ति भरेका छन् । उमंग थपेका छन् । समाजकै कथाव्यथा टपक्क टिपेर कवितामा बिम्ब, प्रतिबिम्ब र प्रतीक जोडेर समाजलाई नै दिएकी छिन् । यो उनको खुबी हो । निरुले अक्षरमात्र थुपारेकी छैनन् कवितामा बरु भाव, विचारलाई समिश्रण गरी कवितालाई सिर्जनशील र क्रान्तिकारी बनाउने अभियानमा छिन् ।
वनफूलको विद्रोह कवितासङ्ग्रहको नायक कविता “वनफूल” शीर्षकमा प्रतिबिम्बित भएको पाउन सकिन्छ । वनफूल त वनमै हुर्किन्छ, वनमै कोपिला लाग्छ, फूल्छ, सुगन्ध दिन्छ तर, देख्ने, सुगन्ध लिने कमै हुन्छन् । तर, वनकाँडाले गोप्दा थाहा हुन्छ कति दुख्छ भन्ने कुरा । वनफूलको विरह कसले सुन्छ ? कविले राउटेनीलाई वनफूल र विद्रोहको नायिका बनाएकी छिन् ।
बाँचौँ समान हैसियतमा र बदलौं यो दुनियाँ
परिवर्तन गरौं चिन्तन र मस्तिष्क धोईपखाली
कुन युद्व गर्नुपर्छ गरौं
म राउटेनी अर्थात् वनकी वनफूल
हातमा लिएर आउँछु वनफूल
आऊ तिमी मुस्कुराउँदै आऊ ।
प्रेमले प्रथा तोड्नुपर्छ पुराना तर काम नलाग्ने मात्र । त्यसका लागि कविले नयाँ युगको खोजी शाब्दिक क्रान्तिबाट थालेकी छिन् ।
निरुमा नैराश्यता देखिदैनन् कवितामा कतै, कतै नारा समेत छैनन् । भट्टे श्राप दिएकी छैनन् कसैलाई र भीख मागेकी पनि छैनन् क्षमा र करुणाको समेत । कवितामा प्रगतिशील रुझान छ । अग्रगामी विचार छन् । परिवर्तनका लागि प्रशस्तै कोशिष छन् ।
बजारमा आइपुगेको छ कवितासङ्ग्रह, चर्चा पाइरहेको छ सबैबाट । आवरणको सुन्दरता भव्य छ । रत्न पुस्तक भण्डारले प्रकाशन गरेको उक्त सङ्ग्रहले राम्रो बजार भेटेको छ । असल पाठकका नजरवन्दमा परिसकेको छ ।
निरुका कविता पढिसकेपछि पाठकका मनमा अनेक क्रिया, प्रतिक्रिया प्राप्त हुनेछन् । तर, म दाबीका साथ भन्छु–पाठकका समय र गरेको आर्थिक लगानी खेर जाने छैन । कविताप्रतिको मोह थप बढेर जानेछ । कविको पहिचानलाई विराट बनाउने छ ।
विभिन्न साहित्यिक प्रतिष्ठान र सरकारी निकायहरुद्वारा आयोजित कविता प्रतियोगिताहरुमा उनका कविताले श्रेष्ठता हासिल गरि पुरस्कृत हुने अवसर प्राप्त गरेका छन् ।
धेरै पढिने तर खरिद नगरिने विधा नै कविता रहेको वर्तमान परिवेशमा निरुले कवितामा ज्ञान, श्रम, सीप र प्रकाशनमा लगानी गरेकी छिन् । अर्थात् जानीजानी भुङ्ग्रोमा हात हालेकी छिन् । यसो भनिरहँदा उनमा नैराश्यता हैन उत्साहको बाँध फुट्ने छ । उनको यो कदम क्रान्तिकारी ठहरिने छ । बजार र पाठकले उनको कविता चिन्नेछ अनि किन्ने छ ।
जाँदाजाँदै उनकै कविताको अंशबाट बिट मारुँ कि !
म कलमको हतियार बोकेकी हतियारधारी हुँ
कलम छाडेर अहिले
यी ओैंलाहरु तिमीलाई छुन फुर्सदिला छैनन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij