२०८२, मंसिर २५ गते

Dec 11 2025 | २०८२, मंसिर २५ गते

अन्तरविद्यालय क्रिकेट : अमर ज्योति र होराइजन जीबीएस विजयी

बिहिवार , मंसिर २५, २०८२

  • 490
    Shares
  • 490
    Shares
  • भैरहवा, २५ मंसिर । रुपन्देहीको भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएका दुई खेलमा अमर ज्योति इङ्गलिस स्कूल र होराइजन जीबीएस विजयी भएका छन् । अमर ज्योतिले काशी नोबल एकेडेमीलाई सुपर ओभरमा पराजित गर्दै जीत निकाल्दा होराइजनले सिद्धार्थ मेमोरियललाई ७० रनले पराजित गर्दै जीत हात पारेको छ ।

    सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको काशी नोबलले अलआउट हुँदै १ सय ६ रन बनायो । उसका लागि आयुष भण्डारीले २४, श्रेयस बस्नेतले २२ र आर्यन भण्डारीले १९ रन बनाए । बलिङमा अमर ज्योतिका सम्राट बरालले ३, रवि खानले २ तथा रवि मौर्य, सोयम बराल र विनायक शर्माले १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको अमर ज्योतिले ७ विकेटको क्षतिमा १ सय ६ रन नै बनायो । उसका लागि विनायक शर्माले ३५, आयुष श्रीवास्तबले १९ र प्रनिश ढकालले ११ रन बनाए । बलिङमा काशीका आर्यन भण्डारीले ३ तथा संगम घर्ती, शिव गुप्ता र कविन थापा मगरले समान १–१ विकेट लिए । सम्राट बराल म्यान अफ द म्याच भए । 

    त्यस्तै दोस्रो खेलमा होराइजन जीबीएसले टस जितेर ब्याटिङ गर्दै ५ विकेट गुमाएर १ सय ७४ रन बनायो । उसका लागि सुनिल लोधले अविजित ५९ रनको अर्धशतकीय पारी खेले । यस्तै, सोहन अलीले ३१, प्रसोन पोखरेलले २३ र खुसाल पौडेलले १७ रन बनाए । बलिङमा सिद्धार्थ मेमोरियलका सिशान पन्थीले २ तथा आकाश आचार्य र सुजल बर्नेलले समान १–१ रन बनाए ।

    जवाफमा सिद्धार्थ मेमोरियलले ७ विकेट गुमाएर १ सय ४ रन मात्र बनायो । उसका लागि सुशान्त शाहीले ३३, रिजन गैरेले २० र सिशान पन्थीले १४ रन बनाए । बलिङमा होराइजनका कुशल पौडेलले ३, शिवप्रसाद यादव, शाहज अर्याल र सोहन अलीले १–१ विकेट लिए । सुनिल लोध प्लेयर अफ द म्याच भइ पाँच सय रुपैयाँ प्राप्त गरे । 

    रुपन्देहीका ३० वटा विद्यालयकोे सहभागीता रहेको प्रतियोगिताको विजेता टीमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदय कुमार मल्लिकले जानकारी दिए । 

    त्यस्तै म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टीमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्नेछ । प्रतियोगितालाई पर्वत ज्वेलर्स, भैरहवाले प्रायोजन गरेको छ ।