२०८२, मंसिर २४ गते

Dec 10 2025 | २०८२, मंसिर २४ गते

आन्दोलन फिर्तापछि काममा फर्किए भन्सार एजेण्ट

बुधवार , मंसिर २४, २०८२

  • 385
    Shares
  • 385
    Shares
  • भैरहवा, २४ मंसिर । भन्सार एजेण्टहरुले गरेको आन्दोलन फिर्ता भएको छ । भन्सार विभाग र महासंघबीचको सहमतिसँगै आन्दोलन फिर्ता भएपछि भन्सार एजेण्टहरु काममा फर्किएका छन् ।

    भन्सार ऐन २०८२ मा समावेश कतिपय प्रावधानले एजेण्टको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा असर पर्ने भन्दै आन्दोलनमा उत्रिएका भन्सार एजेण्टहरु आन्दोलनमा उत्रिएका थिए ।

    भन्सार एजेण्टहरु काममा फर्किएपछि भैरहवा भन्सार कार्यालय रुपन्देहीबाट साँझदेखि जाँचपासको काम सुरु भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत उद्धव ढुंगानाले जानकारी दिनुभयो ।

    भन्सार ऐनमा आएका कतिपय प्रावधानहरुप्रति असहमति जनाउँदै त्यसलाई सच्याउनुपर्ने र नियमावली संशोधन गर्नुपर्ने माग राख्दै विगत ३ दिनदेखि पेनडाउन गरिएको नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले बताउनुभयो ।

    अध्यक्ष पन्थीका अनुसार भन्सार कार्यालयमा ढिलासुस्तीमा सुधार गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै यसअघि भन्सार एजेण्ट महासंघ नेपालमार्फत भन्सार विभागमा ज्ञापनपत्र बुझाएको थियो । ‘चोरी पैठारी, भन्सार कार्यालयमा हुने ढिलासुस्ती लगायतका विषयमा सुधार गर्नुपर्छ भन्ने १० सुत्रीय माग राखेर भैरहवा भन्सार कार्यालयका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छौं,’ उहाँले भन्नुभयो।

    भन्सार विभाग र कार्यालयबाट सुधारको प्रतिबद्धता आएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको उहाँले बताउनुभयो ।प्रतिवद्धता अनुसार नभए भन्सार विभाग अगाडि नबढे पुनः आफूहरुले आन्दोलनमा चर्काउने उहाँले चेतावनी दिनुभयो ।

    भन्सार एजेण्टहरुको आन्दोलनका कारण भैरहवा भन्सार कार्यालयसहित देशभरका सबै भन्सार कार्यालयमा भन्सार जाँचपासका सम्पूर्ण काम ठप्प भएको थियो ।