२०८२, मंसिर २४ गते

Dec 10 2025 | २०८२, मंसिर २४ गते

भन्सार एजेण्टले उठाएको माग न्यायोचित छन् : सिद्धार्थ उवासंघ

मंगलवार , मंसिर २३, २०८२

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, २३ मंसिर । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भन्सार एजेण्टले उठाएको मागहरु न्यायोचित रहेको जनाएको छ । व्यापारिक समुदायको समस्यालाई प्रभावकारी रूपमा उजागर गर्न र शिघ्र समाधान खोज्न नेपाल भन्सार एजेण्ट संघ, सिद्धार्थनगर रुपन्देहीले आयोजना गरेको कलम बन्द कार्यक्रमप्रति आफ्नो ऐक्यबद्धता रहेको संघको भनाइ छ ।
     
    मंगलबार संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले विज्ञप्ती जारी गर्दै हालै सानो गल्तीको आधारमा अत्यधिक जरिवाना लगाउने र भन्सार प्रक्रियामा ढिलाइ हुने घटनामा तत्काल सुधार आवश्यक रहेको बताउनुभएको छ । सानो गल्तीको आधारमा अत्यधिक जरिवाना लगाउने र भन्सार प्रक्रियामा ढिलाइ हुने विवरणमा साना–साना त्रुटी भएमा सरकार स्वयंले त्यसलाई व्यवस्थापन गरी व्यापार सहजीकरणमा भन्सारका सबै अंगको सहयोग सुनिश्चित गर्नुपर्ने आफूहरुको माग रहेको अध्यक्ष आचार्यले बताउनुभयो । यसले आयातकर्ताहरू र एजेण्टहरूको समय र लागत बचत हुने उहाँको भनाइ छ । 
     
    हाल देशभरका केही भन्सार कार्यालयमा देखापरेको प्राविधिक अवरोध, सेवा–प्रवाहमा ढिलाइ र डिजिटल प्रणालीको अस्थिरताका कारण भन्सारका दैनिक कार्यहरू प्रभावित भएकोमा हाम्रो संघको ध्यानाकर्षण भएको छ । विज्ञप्तीमा भनिएको छ–‘ लगातार देखिँदै आएका यी समस्याले आयात–निर्यात प्रक्रियामा अनावश्यक जटिलता सिर्जना गरेको, व्यवसायीहरूको समय र लागत बढाएको, साथै समग्र व्यापारिक वातावरण अस्थिर बनाएको संघको ठहर छ ।’ 
     
    सरकार उदार अर्थनीतिको विरोधमा कडाइपूर्ण भन्सार नीति ल्याएर अघि बढ्न नसक्ने सिद्धार्थ उद्योग वाणिज्य संघको धारणा रहेको अध्यक्ष आचार्यले बताउनुभयो । केवल दण्ड जरिवाना थोपारेर व्यापार–व्यवसाय वृद्धि सुनिश्चित हुने छैन । तसर्थ, सबै सम्बन्धित निकायहरूलाई तत्काल प्रभावकारी कदम चाल्न यस विज्ञप्तिमार्फत अनुरोध गर्दछौं, ’उहाँले भन्नुभयो ।