सोमवार , मंसिर २२, २०८२
भैरहवा, २२ मंसिर । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा भैरहवामा सञ्चालित सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) सम्पन्न भएको छ । ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ मंसिर ३ देखि सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा सञ्चालित महोत्सव मंसिर २१ गते समापन भएको हो ।
करिब १२ करोड बराबरको कारोबार भएको महोत्सवमा झण्डै १ लाख २० हजार दर्शकले अवलोकन गर्नुभएको चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले बताउनुभयो । उहाँले आगामी दिनमा यस्ता महोत्सव सरकारले स्वामीत्व लिएर आयोजना गर्नुपर्ने र त्यसमा निजी क्षेत्र सहभागी हुने बताउनुभयो ।
‘महोत्सव सञ्चालनका लागि वर्षेनी ठूलो रकम अस्थायी संरचना निर्माणमा खर्चिनुपर्ने बाध्यता छ, ’उहाँले भन्नुभयो–‘स्थायी संरचना निर्माणमा सरकारले ध्यान दिनुपर्छ । ’अध्यक्ष रोक्काले भारतीय पर्यटकको संख्या बढाउन र धेरै खर्च गर्ने वातावरण बनाउन कम्तीमा १० लाख भारु रुपैयाँ लिएर नेपालमा आउन दिनुपर्ने माग गर्नुभयो ।
संस्थाका वरिष्ठ उपाध्यक्ष राम मिलन यादवले महोत्सव सफल बनाउन साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले चेम्बर अफ कमर्स, रुपन्देही निजी क्षेत्रको क्रियाशील र सशक्त संस्था भएको बताउनुभयो ।
महोत्सवको आइतबार एक समारोहकाबीच समापन गरिएको छ । समारोहमा बोल्नुहुँदै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले मण्डप बनाउनु ठूलो कुरा नभए पनि मण्डप निर्माणपछि महोत्सवबाहेक अन्य बेला स्थान कत्तिको प्रयोग हुन्छ भन्नेतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
‘मण्डप बनाएपछि वर्षमा एकपटक महोत्सव सञ्चालन गरेर मात्रै पुग्दैन, अन्य कार्यक्रमहरु पनि गरिरहनुपर्छ, ’मन्त्री कार्कीले भन्नुभयो । उहाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रदेशस्तरबाट पहल भइरहेको बताउनुभयो । नेपालमा सयभन्दा ठूला दरका भारु नोट चलाउन भारतीय केन्द्रीय बैंक स्वीकृति दिनु खुसीको कुरा भएको उहाँको भनाइ छ ।
त्यस्तै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले मण्डपको समस्या समाधानका लागि अघि बढ्न अर्थमन्त्री धनेन्द्र कार्कीलाई आग्रह गर्नुभयो । उहाँले मन्त्री कार्कीलाई भन्नुभयो–‘यो समस्या गर्न म आग्रह गर्दछु, हामीले के गर्नुपर्छ, यहाँलाई साथ दिन्छौं ।’
युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले अहिलेको पिढीले मुलुकमा परिवर्तन ल्याउने विश्वासका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन र खेलकुदमार्फत मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान सकिने धारणा राख्नुभयो । मन्त्री पाण्डेयले महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्याएको बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले हरेक हिसाबले सातौं लुम्बिनी महोत्सव सफल भएको बताउनुभयो । उहाँले निजी क्षेत्रको मनोबल उठाउनुपर्नेमा जोड दिनुभयो ।
चेम्बर अफ कमर्स, रुपन्देहीका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले भैरहवामा स्थायी मण्डपको अत्यन्तै आवश्यकता रहेको बताउनुभयो । उहाँले यसमा प्रदेश सरकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठले महोत्सवमा दर्शकको निःशुल्क प्रवेशका लागि स्थायी मण्डपको व्यवस्था हुनुपर्ने बताउनुभयो । पूर्वअध्यक्ष अनिल कुमार ज्ञवालीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनको लागि समग्र लुम्बिनी प्रदेशले नेतृत्व गर्नुपर्ने बताउनुभयो ।
चेम्बर अफ कमर्स, रुपन्देहीका महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न व्यक्ति, संघ–संस्था, प्रायोजक, सह–प्रायोजक लगायतलाई सम्मान गरिएको थियो ।
यसपटकको महोत्सवको मुख्य आकर्षण नेपालमै पहिलोपटक भियतनामबाट ल्याइएको जलपरी र फिस टनेल थिए । यस्तै, महोत्सवमा राष्ट्रिय, घरेलु तथा साना उद्योगको उत्पादन, अटो, बैंक तथा वित्तीय संस्था लगायतको प्रबद्र्धन गरिएको थियो । महोत्सवले भैरहवा र यस आसपासको बजार चलायमान बनाउन कोशेढुंगा सावित भएको आयोजकको दावी छ । महोत्सवमा ३ सय स्टल रहेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij