शनिवार , मंसिर २०, २०८२
भैरहवा, २० मंसिर । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको सडकमा हिंड्ने र यात्रा गर्नेले सास्ती खेप्दै आएका छन् । सडकमा बिहानको समयमा कार्यालय जाने कर्मचारी तथा सेवाग्राही, विद्यालय जाने शिक्षक र विद्यार्थी, मजदूर, किसान, व्यवसायीका साथै उत्पादित वस्तु ढुवानी गर्ने सवारीसाधन, आवतजावत बढी हुन्छ ।
मर्चवारको मुख्यसहित विभिन्न सहायक सडकहरु समेत धुलाम्य हुने गरेको छ । त्यस्तै वर्षाको बेला यहाँका अधिकांश सडक हिलाम्य हुने र सुख्खा मौसममा धुलाम्य भएर स्थानीय बस्तीमा ‘धुलोको कुहिरो’ जस्तो देखिन्छ ।
वर्षामा हिलाम्य र सुख्खामा धुलाम्य सडकको समस्याले जनजीवन मात्र होइन, स्थानीय अर्थतन्त्रमा समेत प्रभाव पारेको छ । ‘अन्नको भण्डार’ को रुपमा चिनिने मर्चवारबाट उत्पादित वस्तुहरु बजारसम्म पुर्याउन, बजारबाट कच्चापदार्थ मर्चवार ल्याउनुपरेमा गुणस्तरीय सडक नहुँदा ढुवानी खर्च समेत महंगो परेको स्थानीयको गुनासो छ । मुलुकको अधिकांश क्षेत्रमा प्राथमिकताका साथ आधुनिक भौतिक संरचनाहरु निर्माण भइकेको अवस्थामा मर्चवारमा गुणस्तरीय सडक नै अपरिहार्य रहदा पनि यस क्षेत्रप्रति राज्यको प्राथमिकता पर्न नसकेको हो कि भन्दै प्रश्नचिन्ह खडा भएको स्थानीय बताउँछन ।
मर्चवारको मुख्य सडक मझगावाँदेखि रायपुरसम्म, मिडियाचोकदेखि जिगिनासम्म, भँगहियादेखि थुम्हवा, करौता, सेमरा, बगौली हुँदै तुनिहवासम्म आउने रिंगरोड जीर्ण अवस्थाले उक्त सडकमा आवतजावत गर्नेहरुको स्वास्थ्यमा असर गर्नुको साथै लगाएको कपडा समेत फोहोर हुने गरेको स्थानीय अवधेश विश्वकर्माले बताउनुभयो ।
कोटहीमाई गाउँपालिका–५ स्थित श्री मर्चवार आदर्श माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उमेश गुप्ताले भन्नुभयो–‘म परसहवाँबाट मझगावाँसम्म कहिले साइकल र कहिले पैदलै विद्यालय जान्छु । तर, विद्यालय पुग्दापुग्दै मैले लगाएको पोशाक धुलोले फोहोर हुन्छ । माक्स प्रयोग नगरी हिंडे बिरामी नै परिन्छ ।’
कोटहीमाई गाउँपालिकामा कार्यरत एक कर्मचारीले भन्नुभयो–‘गाउँपालिकाको कार्यालय जाँदा पोशाक धुलोबाट जोगाउन माथिबाट पात्लो कपडा लगाउनुपर्ने बाध्यता छ ।’
चारवटा स्थानीय तह पर्ने मर्चवारको सडक संरचना निर्माणमा खासै प्रगति हुन सकेको छैन । लुम्बिनी प्रदेश सरकारले निर्माण गरिरहेको गुरवनियादेखि खैरासम्मको सडक पाँच किलोमिटर निर्माण भइ अहिले निर्माण कार्य रोकिएको छ ।
मर्चवार क्षेत्र पुरानो बस्ती, पम्परागत खेती प्रणाली, साँस्कृतिक विविधता र भारतसँगको सीमा जोडिएको छ । तर, यहाँ आधुनिक पूर्वाधार विकासले गति लिन सकेको छैन ।
आवश्यकताअनुसार बजेट नआउँदा बजार क्षेत्र, कृषि उत्पादक बस्ती, विद्यालय तथा स्वास्थ्य चौकी जस्ता महत्वपूर्ण स्थानहरूमा आवश्यक निर्माण कार्य अलपत्र परेका छन् । केही निर्माणका काम सुरु भए पनि बजेट अभावमा बीचमै रोकिएका उदाहरणहरु पनि धेरै छन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादवले बनगाईदेखि सेमरा पुग्न ३० मिनेट अवधिको बाटोमा एकघण्टा भन्दा बढी लाग्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘एसीको गाडीमा आउनेहरुले मर्चवारको सडकमा आवतजावत गर्ने सर्वसाधारणको पीडा बुझ्न सकेनन् । धुलोले गर्दा मर्चवारको सडकमा सास फेर्न पनि गाह्रो भएको छ ।’
मर्चवार क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले मर्चवारमा तुलनात्मक विकास भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो–‘जुन हिसाबले विकास हुनुपर्ने हो, त्यो हुन सकेको छैन । मर्चवारको सबैभन्दा आवश्यक सडक संचरनाको विकास हुनुपर्ने हो । तर, हुन सकेको छैन । म आफै मर्चवारदेखि जिल्ला सदरमुकाम भैरहवा आउनेजाने गर्छु । तर, सडकको अवस्था राम्रो नहुँदा धेरै समय लाग्नुका साथै सवारीसाधन पनि बेलाबेलामा बिग्रिने गरेको छ ।’
मर्चवारको मुख्य सडक निर्माणको लागि लुम्बिनी प्रदेश सरकारसँग पहल भइरहेको बताउँदै उहाँले गुरवनियादेखि खैरासम्मको चारलेन सडक निर्माण कार्य अगाडि बढाउने प्रक्रिया अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।
रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लले मर्चवारको सडकहरु स्तरोन्नतिको लागि तीनै तहको सरकार लाग्नुपर्ने बताउनुभयो । आफू मर्चवारको जनप्रतिनिधि हुँदा यस क्षेत्रको धेरै सडक निर्माण गराएको उहाँले दावी गर्नुभयो ।
मर्चवार इतिहास र विकास सम्भावनाको आधारमा ठूलो फड्को मार्ने क्षमता राख्छ । तर, सडक र आधारभूत पूर्वाधार निर्माण प्राथमिकतामा नपरे विकासको सपना फेरी पनि पछि धकेलिन सक्ने हो किन भन्ने स्थानीय सरोकारवालाको चिन्ता छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij