२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

कोरोना संक्रमण अनियन्त्रित रुपमा फैलियो, बाँके र बर्दियामा निषेधाज्ञा जारी 

सोमवार , बैशाख १३, २०७८

कोहलपुर, १३ वैशाख । पछिल्लो पटक भयावह रुपमा फैलिइरहेको नयाँ भेरिएन्टको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आज राती १२ बजेबाट एक हप्ता लामो निषेधाज्ञा घोषणा गरिएको छ ।

लुम्बिनी प्रदेशका बाँके र बर्दिया दुवै भारतसँग सीमा नाका जोडिएका जिल्ला भएका कारण उच्च जोखिममा रहेका छन् । कोरोना भाइरसको संक्रमण अनियन्त्रित रुपमा फैलिदै गएको र आम मानिसले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपले पालना नगरेका कारण बाँके र बर्दिया जिल्लामा जोखिम पनि तीव्र रुपले बढेको भन्दै दुवै जिल्ला प्रशासन कार्यालयले एकसाथ निषेधाज्ञा जारी गरेका हुन् । 

जिल्ला प्रशासन कार्यालय बाँके र बर्दियाका अनुसार सोमबार राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुनेछ । निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लगायत अत्यावश्यक गाडीमात्र सञ्चालन गर्न दिने निर्णय जिल्ला प्रशासनले गरेको छ ।

यस अवधीमा स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैंकका एटिएम, औषधि पसल र हवाई सेवा पनि खुल्ला हुनेछन् ।

यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो । संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

बाँके र बर्दियासहित लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्ला पनि भारतसँग सिमा जोडिएका कारण उच्च जोखिममा छन् ।