शनिवार , मंसिर १३, २०८२
उनी करिब २८ वर्ष स्वास्थ्य सेवामा क्रियाशील भइन् । मातृ शिशु स्वास्थ्य कार्यकर्ता दरबन्दीमा नियुक्ति लिएकी उनी, निवृत्त हुँदा स्वास्थ्य सेवाको पाँचौ तहमा बढुवा भइसकेकी थिइन् ।
साविक कसेनी गाविसको जगात स्वास्थ्य चौकीमा कार्यरत उनले ग्रामीण क्षेत्रमा रही आमा र बच्चाको स्वास्थ्य सेवामा जीवनका स्वर्णिम समय बिताइन् । कति आमाहरुलाई मृत्युको मुखबाट फर्काइन् ! कति शिशुहरुलाई नयाँ जीवनको पारिलो घाम तपाइन् !
नेपालमा मातृ शिशु मृत्युदरलाई घटाउन विष्णुमाया लुङ्चे मगरजस्तै स्वास्थ्यकर्मीको भूमिका, प्रयास र प्रयत्न उल्लेखनीय मानिन्छ । यतिबेला पाल्पा, माथागढी गाउँपालिकाकी उपाध्यक्ष छिन् उनी ।
विष्णुमायाले ग्रामीण जीवन नजिकबाट बुझेकी छिन् । महिला सशक्तिकरण, उद्यमशीलतामा जोड दिदै लैंगिक हिंसाविरुद्धको अभियानमा असल र सशक्त अभियन्ता बनेकी छिन् । कृषि, पर्यटन र उद्यमबाटै आफ्नो गाउँको विकास हुने ठानेकी छिन् । भूगोलले पाल्पा जिल्लाकै ठूलो गाउँपालिका माथागढीमा सामाजिक विकास, साँस्कृतिक उन्नयन, आर्थिक उन्नति, स्वास्थ्य र शिक्षामा प्रगतिका लागि रातोदिन पालिका अध्यक्ष यमबहादुर चिदीसँग हातेमालो गरी सँगसँगै अघि बढेकी छिन् । विकास निर्माण र प्रगतिशील कार्यका लागि झिनामसिना उल्झन र तीतापीरालाई पन्छाएर विष्णुमाया निरन्तर गतिशील छिन् । उनको मिहिनेत, श्रमशील बानी, काम गर्ने अठोट र प्रतिवद्वतामा कुनै कञ्जुस्याइँ छैन ।
माथागढी गाउँपालिका–६, साविक कसेनी गाविसको जगातमा जन्मिएकी उनले कक्षा ७ सम्म गाउँकै तत्कालीन सातपोखरी निम्न माध्यमिक विद्यालयमा पढेकी थिइन् । पछि माध्यमिक तहको पढाई झडेवाको किसान माविबाट लिएकी थिईन् । चार दाजुहरु र एक दिदीकी पुच्छरे अर्थात् कान्छी बहिनी थिइन् उनी । घरतिरका चार भाइहरुमध्येकी कान्छी बुहारी समेत हुन् ।
विष्णुमायाका तीन छोरा छन् । जेठो छोरो फार्मेसी पढेर परदेश छन् भने जेठी बुहारी स्टाफ नर्स । सिटीईभिटीको डिप्लोमातर्फको इञ्जिनियरिङ पूरा गर्दैछन् माइलो छोरोले । कान्छो, अक्सफोर्ड कलेज, बुटवल, रुपन्देहीमा–१२ कक्षा अध्ययनरत् छन् ।
विष्णुमायाका श्रीमान् विगत २२ वर्षदेखि खाडीमुलुक अबुधावीमा प्राविधिकका रुपमा कार्यरत छन् । उनी समय मिलाएर घरमा आउनेजाने र परिवारका सदस्यहरुलाई आफू बसेको देशमा घुमाउन समेत लैजान्छन् ।
रमाइलो पारामा बोल्ने र ठट्टा गर्न रुचाउने विष्णुमाया अति नै शालीन समेत छिन् । जिम्मेवारीपूर्वक आफ्नो दायित्व निर्वाह गर्छिन् । प्राप्त आफ्नो भूमिकालाई वफादारीपूर्ण तवरले पूरा गर्छिन् । स्थायी घर पाल्पा, माथागढीको ६ नम्बर वडामा रहेतापनि यतिबेला नवलपरासी, सुनवल नगरपालिका–७ को गौरीघाटमा ९५ वर्षिया आमा लालीकुमारी ढेंगा र छोरा, बुहारीसँग सात वर्षदेखि बस्दै आएकी छिन् । अस्थायी रुपमा गाउँपालिका नजिकै झडेवा बजारमा बस्ने गरेकी छिन् ।
विष्णुमायाले स्वास्थ्य सेवामा रहँदादेखि नै राजनीतिप्रति आस्था राख्थिन् । आफ्नो संगठनलाई सक्दो आर्थिक, नैतिक र भौतिकरुपले सहयोग गर्थिन् । त्यही भएर नै उनको पार्टीले उनलाई २०७९ को स्थानीय तहको निर्वाचनमा पालिकाको उपाध्यक्ष पदमा जागिर छोडाएर उठाएन मात्र, जिताएरै छाड्यो । यतिबेला उनी जिल्लास्तरको नेताका रुपमा समेत पाल्पामा सक्रिय छिन् ।
मगर समुदायको बाहुल्यतामा जन्मि–हुर्किएकी उनले आफ्नो भाषा फड्कारेर बोल्छिन् । मगर कला, संस्कृति र सभ्यताको राम्रो हेक्का समेत छ उनमा । यो उनको खास पहिचान मान्न सकिन्छ ।
२०४८ सालमा पेवा भैलो खाएर झ्याउँरे नृत्य गर्दैगर्दा गाउँकै सोमबहादुर लुङ्चे मगरसँग भागी बिहे गरेकी थिइन् ।
ठट्यौली पारामा उनी भन्दैथिइन्–उतिबेला स्कूल पढ्दा नजिक परेर, बोलेर मायाप्रेम हुन्थेन । चिठी चलाचल हुन्थ्यो । कुखुरे बैंशको के कुरा गर्नू ! स्कुले जीवन, किशोरी वय । कुकुरको पुच्छर निहुरेको देख्दा पनि हाँसो लाग्थ्यो । दश कक्षा पढ्दा मेरो उमेर १६ पुगिसकेको थियो । टेष्ट परीक्षा दिएपछि मायाप्रेमलाई सार्थक तुल्याउन भागी बिहे गरें । त्यतिबेला १७ मात्र टेकेकी थिएँ ।
उतिबेलाका गाउँलेहरुले बुढी हुँदासम्म (त्यो १७ वर्षको उमेरलाई ) पनि विष्णुमायाले किन बिहे नगरेकी होली भनेर कुरा काट्थे रे ! हाँसो गर्दै विष्णुमायाले सुनाइन्–यतिबेला आफैले २० वर्ष वारि केटीहरुले बिहे गर्न हुन्न भनेर सम्झाउँदै हिडेकी छु ।
उनका दमालीहरु कोही गाउँमै घाँस दाउरा गर्दैछन् । कोही मधेशतिर झरे । कसैले सदाका निम्ति जीवन गुमाइसकेका छन् । विष्णुमाया भने गाउँकै
सर्वाङ्गीर्ण विकासमा तल्लीन छिन् । जागिरकालभन्दा थप खटिएकी छिन् । थकाइ, निद्रा, भोक, प्यास नभनी समाजका लागि खटिदा आफूलाई झनै आनन्द महसुस् भएको सुनाउँदै थिइन् । समाजलाई के दिएँ होइन, थुप्रै अनुभव समाजबाटै बटुलें भन्दैथिइन् । समाज मेरो लागि विश्वविद्यालय हो उनको मननीय तर्क थियो ।
नाँच्न विपत्ता जानेकी छिन् । पकाउने कला उत्तम छ । फुर्सदमा घरधन्दा उधुमै गर्छिन् । मिलेर काम गर्ने बानी छ । कहिलेकाही रिसाउने, झर्किने त मानवीय स्वभावै ठान्नू पर्ला !
बाँचुञ्जेल समाजसेवामा समर्पित हुने योजना बुनेकी विष्णुमायाको जीवनयात्रा सफल रहोस् । शुभेच्छा सबैको ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij