२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

पश्चिमाञ्चल जीवनयोग प्रयोगशालाले मनायो प्रथम वार्षिक उत्सव

बुधवार , मंसिर १०, २०८२

  • 124
    Shares
  • 124
    Shares
  • भैरहवा, १० मंसिर । पश्चिमाञ्चल जीवनयोग प्रयोगशालाले आफ्नो प्रथम वार्षिक उत्सव मनाएको छ । बुधबार सिद्धार्थनगर नगरपालिका–६, गल्लामण्डीस्थित पश्चिमाञ्चल इङ्लिस हाई स्कूलमा एक समारोहको आयोजना गरी वार्षिक उत्सव मनाइएको हो ।

    समारोहमा बोल्नुहुँदै प्रमुख अतिथि संस्कृत विद्या संन्यास आश्रम भैरहवाका पीठाधीश १००८ स्वामी शान्तानन्द सरस्वती महाराजले आफूले आफैलाई चिन्नुपर्नेमा जोड दिनुभयो । उहाँले मनलाई शान्त बनाउने माध्यम ध्यान भएको उल्लेख गर्नुभयो । ‘सुख आफूभित्रै छ, बाहिर धाएर हुँदैन । उहाँले भन्नुभयो–‘ध्यानलाई अवलम्बन गर्नुपर्छ । मनलाई चिन्नुपर्छ । ’उहाँले जीवन विज्ञान विभिन्न ठाउँ र कुनामा पुगोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो । जीवन केवल खाना पकाउने र खाने मात्र नभइ मानिस भएर जन्मेपछि केही गर्नुपर्ने र त्यसका लागि चिन्तन गर्नुपर्ने उहाँको भनाइ छ । 

    कार्यक्रमका अध्यक्ष तथा पश्चिमाञ्चल जीवनयोग प्रयोगशालाका कार्यबाहक अध्यक्ष लक्ष्मण भण्डारीले संस्थाको कार्यसमितिमा बसेर अहोरात्र खट्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले जीवन विज्ञान प्रयोगशालामा आएर प्रशिक्षण प्रदान गर्ने प्रशिक्षक र सहभागी हुने साधक–साधिकाहरु धन्यवादको पात्र रहनुभएको बताउनुभयो । भण्डारीले पश्चिमाञ्चल इङ्लिस हाई स्कूलमा हुने योग–ध्यानमा दैनिक ६५ जनाको सहभागीता हुँदै आएको जानकारी दिनुभयो ।

    विशिष्ट अतिथि नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक रमेश आचार्यले जीवन विज्ञानका कार्यक्रममा सहभागी हुने मौका पाएर लाभ लिएको बताउनुभयो । उहाँले आगामी दिन पनि कार्यक्रमहरुमा सहभागी हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘कर्मचारीहरुका लागि तनाव व्यवस्थापन तालिम गरेका थियौं, त्यसमा पनि जीवन विज्ञानका प्रशिक्षक हुनुहुन्थ्यो, ’आचार्यले भन्नुभयो ।जीवन योग प्रयोगशालामा धेरै भन्दा धेरैजनाको सहभागीता हुने उहाँले अपेक्षा गर्नुभयो ।

    जीवन विज्ञान परिषद् रुपन्देहीका जिल्ला संयोजक खगनाथ गैरेले पश्चिमाञ्चल जीवनयोग प्रयोगशालाले स्थापना भएको एक वर्षमा सफल भएको र सफलताको श्रेय साधक–साधिका भएको बताउनुभयो । उहाँले पश्चिमाञ्चल स्कूलले हल उपलब्ध गराएर अमूल्य सहयोग गरेको बताउनुभयो ।

    सन शाइन आवासीय माध्यमिक विद्यालयका संस्थापक प्राचार्य डा. ज्ञानदेव हटुवालले धेरै महत्वाकांक्षाका कारण मानिस दुःखी भएको बताउनुभयो । उहाँले धनसम्पत्ति, भौतिक आर्जन लगायत कुुरामा मानिस दुःखी बनिरहेको बताउनुभयो । डा.हटुवालले ध्यानले दुःखको कारणलाई निवारण गर्ने बताउनुभयो । ‘वास्तवमा ध्यान गरिसकेपछि मानिसको स्वभाव र सोचाइमा धेरै परिवर्तन हुन्छ । उहाँले भन्नुभयो–‘इच्छा, चाहना, रिस र आवेग विस्तारै कम हुँदै जान्छ ।’ ध्यान मानिसको जीवनमा अपरिहार्य रहेको उहाँको भनाइ छ ।

    काशी नोबल एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरेले पश्चिमाञ्चल जीवनयोग प्रयोगशालामा छोटो समयमा धेरै सिक्ने मौका पाएको बताउनुभयो । उहाँले मानिसले आफ्ना लागि कम्तीमा १–२ घण्टा समय छुट्याउनुपर्ने तथा खुसी र आनन्दित बन्न योग÷ध्यान गर्नुपर्ने बताउनुभयो । 

    प्रशिक्षक माया बेल्बासेले प्रत्येक विद्यालयमा जीवन योग प्रयोगशाला खोल्नुपर्ने बताउनुभयो । प्रयोगशाला खोल्दा प्रशिक्षक, साधक र स्थान (तीनै कुरा)को भूमिका हुने उहाँको भनाइ छ ।

    रोहिणी गाउँपालिकाका शाखा अधिकृत कर्ण कुमार क्षेत्रीले योग/ध्यान गरेपछि धेरै कुरामा परिवर्तन आएको अनुभुति गरेको बताउनुभयो । त्यस्तै सहभागीकोतर्फबाट साधिका रिना रेग्मीले धारणा राख्नुभएको थियो ।

    पश्चिमाञ्चल जीवनयोग प्रयोगशालाका सचिव माया खनालको स्वागत तथा कार्यसमिति सदस्य मेनुका जि.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जीवन विज्ञान परिषद् लुम्बिनी प्रदेशका संस्थापक संयोजक हरि प्रसाद पोखरेलले ध्यान गराउनुभएको थियो । कार्यक्रममा प्रशिक्षकहरुलाई सम्मान समेत गरिएको पश्चिमाञ्चल जीवनयोग प्रयोगशालाका प्रमुख सल्लाहकार जीवन प्रकाश पाण्डेले बताउनुभयो।

    yoga.jpg
    Yog.jpg

    बुधबार आयोजित प्रथम वार्षिक उत्सव समारोहमा ४३३ जनाको उपस्थिति रहेको संस्थाले जनाएको छ ।