२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

उद्योग सञ्चालनमा समस्याका चाङ

मंगलवार , मंसिर ९, २०८२

  • 307
    Shares
  • 307
    Shares
  • भैरहवा, ९ मंसिर । उद्योगीले उद्योग सञ्चालनमा समस्याको चाङ रहेको गुनासो गरेका छन् । उनीहरुले उद्योग दर्ता प्रक्रिया निकै झण्झटिलो रहेको बताएका हुन् । उद्योग दिवस, २०८२ को अवसरमा चेम्बर अफ कमर्श, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको उद्योग प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उद्योग दर्ताका लागिल विभिन्न ठाउँ धाउनुपर्ने भएकाले दर्ता प्रक्रिया एकद्वार प्रणालीबाट गर्नुपर्ने नीति बनाउनुपर्ने माग गरे ।

    कार्यक्रममा चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले रुपन्देही उद्योगको हब भएको र यस क्षेत्रमा विभिन्न चुनौती र समस्या रहेको बताउनुभयो । उहाँले उद्योगीलाई ३ प्रतिशत ब्याजदरमा बैंकबाट ऋण दिए उद्योग फस्टाउने र प्रवद्र्धन हुने बताउनुभयो । ‘५० लाखमुनी ऋण बिना धितो व्यवस्था गरे घरेलु तथा साना उद्योग पनि प्रवद्र्धन गर्न सकिन्छ, ’उहाँले भन्नुभयो–‘उद्योगले रोजगारी सिर्जना र उत्पादन वृद्धिबाट आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने हाम्रो बुझाइ छ ।’ उहाँले अर्थतन्त्र चलायमान बनाउन उद्योग सञ्चालन अपरिहार्य रहेको बताउनुभयो । स्वदेशमा उत्पादित वस्तुको अनिवार्य प्रयोगका लागि सरकारी कार्यालयबाट सुरु गर्नुपर्ने उहाँको भनाइ छ ।संस्थाका वरिष्ठ उपाध्यक्ष राम मिलन यादवले एकाधले केही गलत गर्दा सबै उद्योगी–व्यवसायीलाई एउटै दृष्टिकोणले हेर्न नहुने बताउनुभयो । उहाँले सरकारले नै वस्तु खरिद गर्ने वातावरण बनाउन जरुरी रहेको बताउनुभयो ।

    माउण्ट एभरेष्ट कत्था मिल्स प्रा.लि. तिलोत्तमा, रुपन्देहीका सञ्चालक बसन्त रोका क्षेत्रीले सरकारले नेपालमा उद्योगीलाई प्राथमिकता नदिएको बताउनुभयो । उहाँले राज्यले उद्योगीलाई सहयोग गरेर अघि बढे रोजगारीका प्रशस्त अवसर सिर्जना हुने बताउनुभयो । ‘उद्योग फस्टाउन नसक्दा विदेशबाट वस्तु आयात गर्नुपरेको छ, जनशक्ति बाहिरबाट आएका छन्,’उहाँले भन्नुभयो–‘उत्पादित वस्तु निर्यात गर्न सरकारले सहयोग गर्नुपर्छ ।’

    उद्योगी चन्द्रमणि अधिकारी (रामु) ले भैरहवा–लुम्बिनी औद्योगिक करिडोरका उद्योग स्थानान्तरण गर्न सरकारले जग्गाको व्यवस्थापन गर्नुपर्ने र उद्योगीलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । उहाँले २०७३ सालपछि क्रसर उद्योग नविकरण नहुँदा आफूहरु मारमा परेको बताउनुभयो । ‘उद्योग नविकरण नहुँदा दोहोरो मारमा परेका छौं, ’अधिकारीले भन्नुभयो–‘उद्योग विक्री गर्न सकेका छैनौं र बैंकिङ कारोबार पनि गर्न सकेका छैनौं ।’ उहाँले सम्बन्धीत निकायले समयसमयमा उद्योग अनुगमन गरी आवश्यक सल्लाह–सुझाव दिनुपर्ने बताउनुभयो ।

    चेम्बर अफ कमर्श, लुम्बिनी साँस्कृतिक नगरपालिकाका अध्यक्ष कृष्ण बहादुर गुरुङले उद्योग–व्यवसाय सञ्चालन गर्न लिइने ऋण बराबरको बीमा सरकारले नै गर्नुपर्ने माग गर्नुभयो । उहाँले कर तिर्न जाँदा पनि धेरै समय लाग्ने भएकाले सेवा प्रवाहलाई अझ सहज बनाउनुपर्ने बताउनुभयो ।

    अर्घाखाँची सिमेन्ट लिमिटेडका नायब महाप्रबन्धक कृष्ण पाण्डेले औद्योगिक क्षेत्रमा सुरक्षाको चुनौती रहेको बताउनुभयो । उहाँले सरकारले उद्योगीलाई प्रोत्साहन गर्नुको साटो उल्टै गल्ती र कमीकमजोरी खोजेर निराश बनाएको बताउनुभयो । ‘भैरहवा–लुम्बिनी औद्योगिक कोरिडोरमा रहेका उद्योगलाई दुई वर्षभित्र स्थानान्तरण गर्नुपर्ने निर्णय भएको छ, तर उद्योग निर्माण गर्न झण्डै अढाई वर्ष लाग्छ, दुई हजार बढी कर्मचारीको भविष्य के हुन्छ, उद्योग सार्न सरकारले जग्गा पनि छुट्याएको छैन, उहाँले भन्नुभयो–’सरकारले गरेको निर्णय उद्योगीले पालना गर्नुपर्ने दायित्व जस्तो भएको छ ।‘

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष लिलाधर भट्टराईले होटललाई उद्योग सरह मान्यता दिने हो भने चारतारे मात्र नभइ सबै होटल व्यवसायलाई मान्यता पाउनुपर्ने माग गर्नुभयो ।
    चेम्बर अफ कमर्श, रुपन्देहीका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले विदेशमा उद्योगीलाई विमानस्थलमा भीआईपी पासको व्यवस्था रहे पनि नेपालमा भने नेता–कर्मचारीलाई दिइने गरेको बताउनुभयो । यद्यपि अहिले सरकारले भीआईपी पास सिस्टम हटाए पनि उद्योगीलाई भने सरकारले सम्मान गर्न नसकेको बताउनुभयो । उहाँले होटललाई उद्योग सरह मान्यता दिने भनिए पनि भैरहवा–लुम्बिनी क्षेत्रमा होटल दर्ता प्रक्रिया पनि सहज नभएको बताउनुभयो ।

    लुम्बिनी प्रेस क्लब, रुपन्देहीका संस्थापक अध्यक्ष माधव ढुंगानाले नेपाली उपभोक्तालाई स्वदेशमै सामान किन्ने बानी बसाल्नका लागि व्यवसायीले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

    घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको प्रमुख उद्योग अधिकृत शारदा भट्टराईले प्रदेश सरकारले स्पष्ट खालका मापदण्ड, कार्यविधि र निर्देशिकाहरु बनाउन अझै नसकेको बताउनुभयो । उहाँले उद्योगीले उठाएका माग मन्त्रालयका बैठक र विभिन्न  फोरममा राख्ने बताउनुभयो । सहज ढंगले सेवा प्रवाहको बाटोमा लाग्ने उहाँले बताउनुभयो ।

    उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्धार्थनगर, रुपन्देहीका निमित्त प्रमुख पुष्पराज पाण्डेले उद्योग सम्बन्धी नीति, कानून बनाउँदा उद्योगी–व्यवसायीलाई पनि सँगै सहभागी गराउनुपर्ने बताउनुभयो । उहाँले जेनजी आन्दोलनका क्रममा निर्देशनालयको गाडीमा क्षति पुग्दा अनुगमन सबै ठाउँमा गर्न नसकिएको बताउनुभयो । उहाँले एकद्वार प्रणालीका लागि त्यही अनुसारको सफ्टवेयर बनाउनुपर्नेमा जोड दिनुभयो । नीतिगत तहबाट सुधार आवश्यक रहेको र व्यवसायी, कर्मचारी बसेर कानून बनाउनुपर्ने उहाँको भनाइ छ ।

    IMG_1631.JPG

    कार्यक्रम संयोजक विष्णु कंडेलको स्वागत तथा चेम्बर अफ कमर्श, रुपन्देहीको महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरस्थित कार्यक्रम सम्पन्न भएको थियो । 

    चेम्बर अफ कमर्श, रुपन्देहीको आयोजनामा सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा मंसिर ३ गतेदेखि सातौं लुम्बिनी महोत्सव (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) सुरु भएको हो । महोत्सव मंसिर २१ गतेसम्म सञ्चालन हुने संस्थाको कोषाध्यक्ष धिरज कुमार मल्लिकले बताउनुभयो ।