२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

कर्मचारीपछि जनप्रतिनिधि

सोमवार , मंसिर ८, २०८२

  • 703
    Shares
  • 703
    Shares
  • यादवप्रसाद अर्याल, तिनाउ गाउँपालिका–पाल्पाका प्रवक्ता हुन् । तिनाउ–२, गणेशटोल निवासी उनी सोही वडाका वडाध्यक्ष समेत हुन् ।  उनले २०४३ मा खरिदार पदमा लोकसेवा उत्तीर्ण गरी निजामती सेवामा प्रवेश गरेका थिए । नियुक्ति लिएपछि पहिलो हाजिरी कपिलवस्तुको साविक कोपहवा गाविसमा भए । त्यसपछि साविकका दोभान, कचल, कोल्डाँडा, हुँगी, गोठादी गाविसहरुमा उनले सचिव भइ सेवा गरे । बढुवा, पदस्थापनाका लागि केही वर्ष नवलपरासीको अरुणखोला वन कार्यालयमा काम गरे । पछि सरुवा भइ तिनाउ गाउँपालिकाबाट २०७७ मा निवृत्त भए । त्यतिबेला उनी अधिकृत भइसकेका थिए ।

    नेपालमा चलेको २०३६/०३७ को राजनीतिक आन्दोलनले उनलाई त्यतै तानिसकेको थियो । पछि कर्मचारी भइ देखिएर राजनीति  गर्न कठिन भए पनि कर्मचारी संगठनमा बसेर आफ्नो बामपन्थी विचारलाई मर्न दिएनन् ।

    निवृत्त भइसकेपछि सक्रिय राजनीतिमा हामफाले र २०७९ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी समेत भए । यतिबेला उनी आफ्नो पार्टीको जिल्लास्तरीय नेता समेत छन् । द्वन्द्वको समयमा उनी द्वन्द्वरत पक्षबाट केही समयका लागि अपहरणमा परेका समेत थिए ।

    पञ्चायत ढाल्ने आन्दोलनमा होस् वा गणतन्त्र ल्याउने परिवेशमा, उनको आन्तरिक साथ र समर्थन आफू समर्थक पार्टीमा भरपूर रहने गथ्र्याे । 
    तीन दशक बढी सरकारी सेवामा तल्लीन उनलाई स्थानीयहरुले भरविश्वास गरेकै कारण वडाध्यक्ष बनाएका हुन् । गाउँठाउँको विकास निर्माण, सामाजिक सेवामा उनको योगदान कदरयोग्य मान्न सकिन्छ । उनी यतिबेला झन् रातोदिन नभनेर गाउँ विकासमा कटिबद्ध छन् ।

    २०२० साल असारमा जन्मिएका उनलाई उमेर ,शारीरिक एवम् मानसिक थकानले काममा कुनै असर पारेको छैन । पालिका र वडाको टीमसँग काँधमा काँध मिलाएर प्रगतिशील कर्ममा अघि बढिरहेका छन् । आफ्ना तीन छोरीका बिहे गरिदिइसकेका छन् । तीन छोरामध्ये कान्छोको बिहे हुन बाँकी छ । जेठो मिलनले बैंकतिर सर्भिस गर्छन् । माइलो विकासले आफ्नै व्यापार–व्यवसाय सञ्चालन गर्दै आएका छन् । कान्छो लोचनले स्नातकोत्तर गरी लोकसेवाको तयारीमा जुटेका छन् ।  नातीनतिनाका अनुहार देखिसकेका यादव अर्यालले सन्तानबाट भरपूर स्नेह, सम्मान, साथ र सहयोग पाइरहेका छन् । यसैमा उनी खुसी छन् । मख्ख छन् ।

    यादवप्रसाद अर्यालको पहाडघर गुल्मी हो । तर उनी भने यतै हुर्किबढेका हुन् ।बुटवलको ज्ञानोदय रात्रि माध्यमिक विद्यालयमा अध्ययन गरेता पनि बुटवल माध्यमिक विद्यालय, बुटवलबाट एसएलसी र बुटवल बहुमुखी क्याम्पस, बुटवलबाट प्रमाणपत्र तह उत्तीर्ण उनले आफ्ना सन्तानहरुलाई उच्च शिक्षा दिनमा कुनै कसर बाँकी राखेनन् । मिनसार, सहयोगी र कर्मशील अर्याललाई स्थानीयहरुले उच्चआदर र सम्मान गर्छन् । कसैसँग तीतोपीरो नगर्ने उनको जीवनशैली सरल र सादगी नै छ ।

    राजनीतिले देशलाई सही गोरेटोमा लैजानुपर्नेमा यतिबेला देश, राजनीतिकै कारण संकटमा परेको उनको तर्क छ । यसका लागि सुझबुझपूर्ण राजनीति नै आजको आवश्यता उनले ठान्छन् ।