सोमवार , मंसिर ८, २०८२
काठमाडौं, ८ मंसिर । काठमाडौं प्रहरी परिसरले भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनसँग सम्बन्धित हालसम्म कुल १०४ वटा जाहेरी दर्ता गरेको जनाएको छ ।
परिसरले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त मात्रामा जाहेरी दर्ता गरिएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै परिसरकार प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले दर्ता भएका उजुरीमध्ये व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत तथा व्यापारिक प्रतिष्ठानका १६ वटा रहेको जानकारी दिनुभयो ।
उहाँकाअनुसार भदौ २३ र २४ को आन्दोलनको क्रममा परिसरमा अहिलेसम्म ४९ जनाको मृत्यु दर्ता भएको छ । मृतकमध्ये ७ जनाको पहिचान हुन नसकेको उल्लेख गर्दै उहाँले पहिचानका लागि डिएनए परीक्षणका लागि पठाइएको बताउनु भयो । एसपी भट्टराईले ७ वटा उजुरीहरु तामेलीमा राखिएको पनि उल्लेख गर्नुभयो ।
उहाँले आन्दोलनको क्रममा भएको क्षतिका सम्बन्धमा विभिन्न २ सय २८ वटा स्थानबाट क्षतिको विवरण संकलन गरिएको बताउनु भयो । उहाँले कर्तव्य ज्यान, आपराधिक उपद्रव, चोरी, हातहतियार खरखजनासम्बन्धी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योगसम्बन्धी १ सय ५४ मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार दर्ता भएका मुद्दामा प्रहरीले हालसम्म २ सय ६७ जनालाई पक्राउ गरेको छ । तीमध्ये ८७ जनालाई हाजिरी जमानीमा छोडेर अनुसन्धान जारी छ भने १ सय १३ जनालाई न्यायिक हिरासतमा राखिएको छ ।
न्यायिक प्रक्रियामा पेस गरिएका अभियुक्तमध्ये २३ जना धरौटीमा रिहा भएका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा राखिएका छन् । पक्राउ परेकामध्ये ५ जना मात्र महिला रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘गत भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनसम्बन्धी जिल्ला प्रहरी परिसर काठमाडौंलाई हालसम्म एक सय चार वटा जाहेरी दरखास्तहरु प्राप्त भएका छन् ।
यसमा यसमा सम्मानित सर्वोच्च अदालत, सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेतका व्यक्तिगत २२, सरकारकी कार्यालयसँग सम्बन्धी ६६ र संस्थागत तथा व्यापारिक प्रतिष्ठानका १६ वटा जाहेरी अहिलेको मितिसम्म प्राप्त भएका छन् ।
भदौ २३ र २४ मा भएको मानवीय क्षतिका सम्बन्धमा काठमाडौं जिल्लाभित्र ४९ वटा मृत्युका घटना दर्ता भएका छन् । जसमध्ये हालसम्म पनि पहिचान नखुलेको संख्या ७ रहेको छ । उनीहरुको पहिचानको लागि डिएनए परिक्षणका लागि पठाइएको र अझै केही समय लाग्नेछ । अहिलेसम्म हामीले प्राप्त हुन आएका ९ वटा जाहेरीहरुलाई तामेलीमा राखेका छौं ।
भदौ २३ र २४ गते काठमाडौंमा २ सयि २८ वटा स्थानमा हामीले क्षतिको विवरण संकलन गरेका छौं । सोही घटनासम्बन्धी एक सय ५४ वटा मुद्दाहरु दर्ता गरेका छौं । यसमा मुख्यतः कर्तव्य ज्यान, अपराधिक उपद्रव, चोरी, हातहतियार खरखजनासम्बन्धी, अभद्र व्यवहारसम्बन्धी र ज्यान मार्ने उद्योगसम्बन्धी रहेका छन् ।
१५४ मुद्दामा हामीले हालसम्म २ सय ६७ जना पक्राउ गरिएका छन् । ८७ जनालाई हाजिरी जमानीमा राखेर अनुसन्धान गरिरहेका छौं भने १ सय १३ जनालाई न्यायिक हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेका छौं । अहिलेसम्म न्यायिक अदालतमा पेस गरेकाहरुमध्ये २३ जना धरौटीमा रिहा हुनुभएको छ । ४३ जना पूर्पक्षको लागि थुनामा गएको अवस्था छ । पक्राउ परेकामध्ये ५ जना मात्रै महिला रहेका छन् ।’
उहाँले जेन–जी आन्दोलदनका क्रममा जेलब्रेक गरेर भागेका ५९ जनालाई फिर्ता ल्याइएको बताउनुभयो । पुनः पक्राउ गरिएका थुनुवाहरु ज्यान मार्ने उद्योगदेखि अभद्र व्यवहारमा सजाय काटिरहेको उहाँको भनाइ छ । उहाँले बाँकी १५ जना थुनुवाहरु समेत आफूहरुको सम्पर्कमा रहेको जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij