२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

भैरहवामा चौथो वडा कप क्रिकेट प्रतियोगिता सुरु

आइतवार , मंसिर ७, २०८२

  • 970
    Shares
  • 970
    Shares
  • भैरहवा, ७ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा चौथो वडा कप टेनिस बल क्रिकेट प्रतियोगिता–२०८२ सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको आइतबार नगरप्रमुख इश्तियाक अहमद खाँले उद्घाटन गर्नुभएको हो ।

    सो अवसरमा बोल्नुहुँदै नगरप्रमुख खाँले वडा नम्बर ४ ले महत्वपूर्ण कार्यक्रमको आयोजना गरेको भन्दै वडा टीमलाई धन्यवाद दिनुभयो । उहाँले खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शनका लागि शुभकामना दिनुभयो । ‘वडास्तरीय प्रतियोगितामा खेलेका खेलाडीहरु भोलिका दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउन सक्नुहुनेछ, ’उहाँले भन्नुभयो–‘नेपालमा क्रिकेट खेलको भविष्य छ ।’ 
    नगरप्रमुख खाँले खेलाडीले भविष्यमा खेल प्रशिक्षक भइ एकेडेमी पनि सञ्चालन गर्न सक्ने बताउनुभयो ।

    त्यस्तै नगर प्रवक्ता तथा सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले विगतमा वडास्तरीय प्रतियोगिता खेल्नुभएका सिद्धार्थनगर नगरपालिका–६ निवासी सलिम अली यस वर्ष सञ्चालन भएको नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल) मा खेल्न पाउनुभएको बताउनुभयो । उहाँले खेलाडीको उत्पादन वडास्तरबाट सुरु हुने भएकाले यो प्रतियोगिता प्रत्येक वर्ष सञ्चालन गरिएको जानकारी दिनुभयो । विशेष गरी क्रिकेट र फुटबललाई प्राथमिकता दिइ प्रतियोगिताहरु सञ्चालन गरिएको उहाँको भनाइ छ ।

    कार्यक्रम (प्रतियोगिता) का संयोजक तथा वडा सदस्य हरि बहादुर के.सी.ले वडा तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो ।

    सहायक कम्प्युटर अपरेटर टेक बहादुर चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिता सुरु हुनु अघि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले ब्याटिङ तथा नगर प्रवक्ता मुक्तिनाथ यादव (भोला) र रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले बलिङ गर्नुभएको थियो ।

    प्रतियोगितामा प्रथम हुने टीमलाई ४१ हजार, दोस्रोलाई ३१ हजार, म्यान अफ द सिरिजलाई ११ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार १ सय र बेस्ट बलरलाई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् । आयोजकका अनुसार प्रत्येक खेल १० ओभरको रहेको र नकआउट फर्मेटमा खेलाइएको छ । प्रतियोगिता सोमबारसम्म सञ्चालनमा हुनेछ । प्रतियोगितामा ११ वटा टीमको सहभागीता छ ।