शुक्रवार , मंसिर ५, २०८२
भैरहवा, ५ मंसिर । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको नवआगन्तुक कार्यालय प्रमुख (प्रहरी निरीक्षक) प्रतिमा कार्कीले ट्राफिक चेकिङमा एकदमै कडाइ हुने बताउनुभएको छ । उहाँले कानूनभन्दा माथि पनि कोही नभएको र आफूहरुले कानूनभन्दा बढी पनि गर्न नसक्ने बताउनुभयो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौंबाट सरुवा भइ रुपन्देही ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएकी कार्कीले कानूनसम्मत अधिकार प्रयोग गर्ने बताउनुभयो । ‘म जिरो टोलरेन्सबाट जान्छु, म नयाँ छु भनेर कन्फूयजन हुन पनि पर्दैन, ’उहाँले भन्नुभयो । कानूनलाई माथि राखेर र आफू सिन्सिएर भएर अगाडि बढ्दा ट्राफिक व्यवस्थापन र नागरिकलाई राहत पुग्ने उहाँले बताउनुभयो ।
भैरहवास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रुपन्देहीका पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले जेनजी आन्दोलनका क्रममा कार्यालय भवनसँगै उपकरणहरुमा पनि क्षति पुगेको बताउनुभयो । ‘जेनजी आन्दोलनका भएको तोडफोड र आगजनीका क्रममा कार्यालय भवनसँगै ट्राफिक प्रहरीले प्रयोग गर्ने विभिन्न उपकरणमा पनि क्षति पुगेकाले सीमित स्रोतसाधनमा चल्नुपर्ने अवस्था छ । जेनजी आन्दोलनको असरले प्रहरीको मनोबल घटेको हो कि भन्ने छ, प्रहरी कर्मचारीको मनोबल बढाउन म फिल्डमा उत्तिकै खट्ने प्रतिबद्धता व्यक्त गर्दछु । स्रोतसाधन जटाउन पनि म लाग्छु ।‘
प्रहरी निरीक्षक कार्कीले आफू यहाँ आइसकेपछि पार्किङको समस्या, ई–रिक्सा चलाउने सबैसँग सवारीचालक अनुमतिपत्र (लाईसेन्स) नभएको, लेन व्यवस्थापनमा कमीकमजोरी, मोटरसाईकलको स्वरुप परिवर्तन गरी ठूलो आवाजमा कुदाएर ध्वनी प्रदुषण गर्ने जस्ता समस्या रहेको पाएको बताउनुभयो । स्थानीय तहसँग समन्वय गर्दै अघि बढ्ने उहाँको भनाइ छ । भैरहवा व्यस्त शहर भएकाले यहाँ सवारीसाधनको चाप र सीमा नाका भएकाले मानिसको आवतजावत र चहलपहल बढी नै भएको उहाँको भनाइ छ ।
‘खास गरी ट्राफिक प्रहरीको मोबिलिटी नै बढाउने हो, ’उहाँले भन्नुभयो–‘सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्छौं ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij