शुक्रवार , मंसिर ५, २०८२
भैरहवा, ५ मंसिर । विश्व बाल दिवस अवसर पारेर सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र अमेरिकन कर्नर भैरहवाले संयुक्त रुपमा बालबालिकाहरुलाई लक्षित गरेर बाल अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । बिहीबार सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा ‘मेरो दिन, मेरो अधिकार’ भन्ने मूल नाराका साथ सुरुभएको कार्यक्रममा विभिन्न संघ–सस्थाका प्रतिनिधि तथा बालबालिकाहरुको सहभागीता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले स्थानीय सरकार बालबालिकाको पक्षमा काम गरिरहेको बताउनुभयो । उहाँले विद्यालय तहमा बालअधिकारको सुनिश्चिताको ग्योण्टी गरेको जानकारी दिनुभयो । उहाँले बालबालिकालाई अधिकार प्रदान गर्दै सकारात्मक सोचको विकासका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने मार्गमा सिद्धार्थनगर नगरपालिका अगाडी बढेको बताउनुभयो । अध्ययन गरेर विदेश जाने नभइ नेपालको विकासमा लाग्न नगरप्रमुख खाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा अमेरिकन कर्नर भैरहवाका संस्थापक सदस्य तथा नेपाल क्यान्सर सहयोग समूहका केन्द्रीय अध्यक्ष दिलिप भट्टराईले संयुक्त राष्ट्र संघले चार अधिकारको सुनिश्चिता गरेको बताउनुभयो । बालबालिकालाई बाँच्न पाउने अधिकार, विकासमा पाउने अधिकार, सुरक्षा पाउने अधिकार, सहभागीता पाउने अधिकार रहेको बताउनुभयो ।
उहाँले बालबालिकाले पाउने अधिकारका लागि सचेत हुनुपर्ने बताउनुभयो । बालबालिकाहरुलाई कुनै पनि कार्यक्रममा दुरुपयोग गर्न नहुने भन्दै यस्तो हुनु बालबालिकाको अधिकारविरुद्ध हुने बताउनुभयो । नेपालमा पछिल्लो समय बालश्रम बढ्दो रहेको भन्दै यसलाई राज्यले रोक्नुपर्ने उहाँको भनाइ थियो ।
अहिलेको बालबालिका सामाजिक सञ्जाल तथा इमेल इन्टरनेटको प्रयोगबाट संसारको अध्ययन तथा अवलोकन गरेको भन्दै उहाँले बालबालिकाहरुलाई त्यस्ता विषयवस्तुबाट टाढा गर्न नसकिने बताउनुभयो । नेपालमा भएको जेनजी आन्दोलन भष्टाचारविरुद्ध भएको भन्दै त्यो आन्दोलनमा घुसपैठ हुँदा नयाँ पुस्ताले चाहे जस्तो परिवर्तन नभएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले बालबालिका देशको कर्णधार भएको बताउनुभयो । उहाँले बालबालिकाका अधिकारका लागि सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले अहिले बालबालिकाहरु जेनजी आन्दोलनमा उठाएका मागहरु जायज भएको तर, तोडफोड र राज्यका सम्पत्तिमा भएको क्षति गलत भएको बताउनुभयो । यस्ता गतल क्रियाकलापमा नलाग्न आग्रह गर्दै अध्यक्ष आचार्यले सकारात्मक सोचका साथ आफ्ना माग राख्नका लागि आग्रह गर्नुभयो ।
संघका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दुले बालअधिकार राज्यको दायित्व भएको भन्दै उपस्थित सबैलाई धन्यवादसहित कार्यक्रमको समापन गर्नुभएको थियो । काशी नोबल एकेडमीमा कक्षा १२ मा अध्ययनरतत छात्रा रुबी क्षेत्रीले आफ्नो अधिकार आफैले खोज्नुपर्ने बताउनुभयो । राज्यले बालबालिकाको सवै अधिकारलाई व्यवहारमा पनि लागू गर्नुपर्ने भन्दै क्षेत्रीले घरपरिवारदेखि विद्यालयसम्म बालबालिका स्वतन्त्र हुन पाउनुपर्ने माग राख्नुभयो ।
जेननजी पुस्ताकी विद्यार्थी नेन्सी गिरी युवाहरु सकारात्मक सोचबाट देश विकासमा लाग्न आग्रह गर्दै यो कार्यक्रमबाट बालअधिकारको विषयमा धेरै जानकारी प्राप्त गरेको बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij