बुधवार , मंसिर ३, २०८२
काठमाडौं, ३ मंसिर । आज मार्ग कृष्ण पक्षको चतुर्दशी । पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा शतबीज छरेर मनाइएको छ ।
आज बिहानै पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा शतबीज छरिएको छ । शतबीज छर्न देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
यसअघि मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरिएको थियो । यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ ।
श्रद्धालुहरु त्रयोदशीको दिन राति पितृका नाममा दीप बाली जाग्राम बसेका थिए । अघिल्लो दिन विधिपूर्वक संकल्प गरी दीप बाली रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै नदीमा बत्ती बगाउने परम्परा छ ।
श्रद्धालुहरु चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्ने गर्दछन् । शतबीजमा धान, जौ, गहुँ, चना, तिल र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका र विभिन्न किसिमका फूल हुन्छन्।
पशुपतिमा भक्तजनका लागि व्यवस्थित रुपमा बत्ती बाल्न र शतबीज छर्न व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले बताएको छ । चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा धानका शतबीज छरेमा जन्मने र मर्ने प्रपञ्चबाट मुक्त भइने कुरा हेमाद्रिले लेखेको चतुर्वर्ग चिन्तामणिमा व्याख्या गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij