बुधवार , मंसिर ३, २०८२
भैरहवा, २ मंसिर । रुपन्देहीको भैरहवामा बुधबार (आज) देखि सातौं लुम्बिनी महोत्सव)–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन) सुरु हुँदैछ । ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔँ’ भन्ने मूल नाराका साथ यही मंसिर २१ गतेसम्म सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा महोत्सव सञ्चालन हुनेछ ।
महोत्सवको बुधबार संविधान सभा सदस्य एवं सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ र लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले संयुक्त रुपमा उद्घाटन गर्नुहुने आयोजक संस्थाका अध्यक्ष सचिन रोक्काले बताउनुभयो ।
महोत्सवमा महिला हस्तकला, उद्योग, कृषि, पर्यटन, संघ–संस्था, बैंक, वित्तीय संस्था, व्यापार, अटो, होटल लगायत ३५० वटा स्टल रहनेछन् । यसपटकको महोत्सवको मुख्य आकर्षण नेपालमै पहिलोपटक भियतनामबाट ल्याइएको ‘जलपरी’ र फिसटनेल प्रदर्शन रहनेछ ।
‘उद्योग र व्यापारको प्रोत्साहन गरी परनिर्भर अर्थतन्त्रलाई कम गर्ने, लुम्बिनी क्षेत्रका पर्यटकीयस्थलको विकास गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन हुने लक्ष्य राखेका छौँ’,उहाँले भन्नुभयो-‘यसले उत्पादक र उपभोक्ताबीच समन्वय गराई स्थानीय वस्तुको बजार व्यवस्थापनमा सहयोग गर्ने र कृषिलाई वैज्ञानिक तथा व्यवसायीकरण गर्न सहयोग पुर्याउने विश्वास लिएका छौं ।’
त्यस्तै महोत्सवमा तीन दिन कुस्ती प्रतियोगिता पनि हुने अध्यक्ष संस्थाका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको प्रस्तुती रहने संस्थाका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले बताउनुभयो । महोत्सवलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको चेम्बर अफ कमर्श, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राम मिलन यादवले बताउनुभयो ।
महोत्सव उद्घाटनअघि बिहान ९ बजे भैरहवाको देवकोटाचोकदेखि औद्योगिक जनचेतना र्याली सुरु भइ महोत्सवस्थलसम्म पुग्ने महासचिव लक्ष्मी अधिकारीले बताउनुभयो । चेम्बर अफ कमर्श, रुपन्देहीले २०६६ सालमा प्रथम महोत्सवबाट सुरुवात गरी २०८२ सम्म आइपुग्दा सातौं लुम्बिनी महोत्सव आयोजना गर्न लागेको उहाँले बताउनुभयो । करिब १ करोड खर्च हुने महोत्सवको करिब १ लाख ५० हजारले अवलोकन गर्ने आयोजकले अपेक्षा लिएका छन् । त्यस्तै महोत्सवमा करिब ५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको भनाइ छ ।
महोत्सवको संरक्षकमा सिद्धार्थनगर नगरपालिकाको कार्यालय सिद्धार्थनगर, लुम्बिनी प्रदेश चेम्बर अफ कमर्श, लुम्बिनी, मुख्य प्रायोजकमा एस.आर. स्टिल एण्ड एस.आर. फुड्स प्रा.लि., सनसाईन फुड प्रा.लि., रिया एण्ड रक्षा फुड प्रा.लि., सह–आयोजकमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेश रहेका छन् ।
त्यसै गरी प्रवर्द्धकमा पर्यटन विकास परिषद्, लुम्बिनी प्रदेश, सचिवालय प्रायोजकमा मंगलम इण्डष्ट्रिज, ग्रेट प्रायोजकमा माउण्ड एभरेष्ट कत्था मिल्स, मुख्य आधिकारिक बैंकमा नेपाल एसबीआई बैंक लि., आधिकारिक बैंकमा प्रभु बैंक लि., इन्स्योरेन्स पार्टनरमा युनाइटेड एजोड इन्स्योरेन्स लि. र सहयोगी संस्थाहरु यस क्षेत्रका सम्पूर्ण संघ–संस्थाहरु छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij