मंगलवार , मंसिर २, २०८२
भैरहवा, २ मंसिर । श्रीलंकाको राजधानी कोलम्बोस्थित बन्दरागामा स्टेडियममा सम्पन्न ११ औं खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा नेपालले ८ वटा पदक जितेको छ । जापान सोतोकान कराते संघ, श्रीलंकाद्वारा आयोजित प्रतियोगितामा नेपालले ४ स्वर्ण, १ रजत र ३ कास्य पदक जितेको हो ।
नोभेम्बर १६ तारिखमा भएको प्रतियोगितामा नेपाल, भारत, युक्रेन, श्रीलंका र सिंगापुर लगायत मुलुकका खेलाडीहरुबीच प्रतिष्पर्धा भएको थियो । कराते प्रशिक्षक मुहम्मद अलीका अनुसार प्रतियोगितामा बृटिश ग्रामर स्कूल, रुपन्देहीका खेलाडी आबिस्कार श्रेष्ठ (कुमिते बिधा) अन्तर्गत स्वर्ण र कातामा कास्य पदक जितेका छन् ।
आबिस्कारको संयम, अनुशासन र कठिन परिश्रमले उनले दुई विधामा पदक जित्दै विद्यालय र राष्ट्र दुवैलाई गौरवान्वित बनाए। त्यस्तै रियाना खनालले कुमितेमा स्वर्ण पदक जितेकी छन् । त्यसै गरी आयुश रेग्मीले कुमितेमा स्वर्ण पदक जितेका छन् ।
हर्सित इटानीले कुमितेमा रजतm जिवक भट्टराई र कुबेर चौधरीले कुमितेमा कास्य पदक जितेका छन् । त्यसै गरी सेभेन स्टार इङ्लिस बोर्डिङ स्कूल, देवदहका सुशान्त खड्काले कुमितेमा स्वर्ण पदक जितेका छन् । नेपाली टीमका प्रशिक्षक मुहम्मद अलीले खेलाडीहरूको प्रदर्शनबारे जानकारी गराउँदै भन्नुभयो–‘हाम्रो खेलाडीहरूले खेलमैदानमा जुन आत्मबल, अनुशासन र राष्ट्रप्रतिको समर्पण देखाए, त्यो निकै प्रेरणादायी छ । उनीहरूले पदक जितेर मात्र होइन, राष्ट्रको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा उच्च स्थानमा फहराएर नेपालको गौरव बढाइएका छन् । खेलाडीहरूको यो उपलब्धी सम्पूर्ण नेपालीको गर्व र उत्साहको विषय हो ।’ उहाँले नेतृत्व, कडा प्रशिक्षण र रणनीतिक मार्गदर्शनका कारण यो सफलता सम्भव भएको बताउनुभयो ।
‘११ औं खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा प्राप्त गरेको यो सफलता केवल पदकको गन्ती मात्र होइन, नेपालका युवा खेलाडीहरूको क्षमता, मेहनत, राष्ट्रप्रेम र अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा उभिन सक्ने सामथ्र्यको प्रमाण हो, ’प्रशिक्षक अलीले भन्नुभयो ।
एसियन कराते फेडेरेण्शन (एकेएफ) का कोच समेत रहनुभएका अलीले खेलाडीहरुको उत्कृष्ट प्रदर्शनले खेलकुदको विश्व मञ्चमा अझ उज्यालो बनाएको र आगामी दिनमा अझ ठूला सफलताका ढोका खोलेको बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij