मंगलवार , मंसिर २, २०८२
भैरहवा, २ मंसिर । वडा तह (स्तर) बाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले रुपन्देहीको भैरहवा (सिद्धार्थनगर) मा वडास्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा चौथो वडास्तरीय वडा कप टेनिस क्रिकेट प्रतियोगिता हुने भएको हो ।
वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) का अनुसार सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा हुने उक्त प्रतियोगितामा वडाभित्रका १० वटा टीमको सहभागीता रहनेछ । यही मंसिर ७ र ८ गते हुने यो प्रतियोगितामा सहभागी हुने खेलाडी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को स्थायी बासिन्दा अनिवार्य हुनुपर्ने उहाँले बताउनुभयो ।
प्रतियोगिताको प्रथम हुने टीमलाई ४१ हजार, दोस्रोलाई ३१ हजार, म्यान अफ द सिरिजलाई ११ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार १ सय र बेस्ट बलरलाई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाँले प्रत्येक खेल १० ओभरको हुने र खेल नकआउट फर्मेटमा खेलाइने बताउनुभयो । ‘आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित पाँचलाख रुपैयाँ बजेटबाट यस वडाको स्थानीय खेल प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गर्दैछौं, ’उहाँले भन्नुभयो ।
सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहनुभएका अध्यक्ष यादवले वडास्तरबाट नै क्रिकेट खेलाडी उत्पादन गर्न वडा कपलाई निरन्तरता दिदै आएको बताउनुभयो । ‘हाम्रै छिमेकी वडा सिद्धार्थनगर नगरपालिका–६ निवासी सलिम अली नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) क्रिकेटमा सहभागी हुनुभयो । वडास्तरमा भएका प्रतियोगितामा निरन्तर खेल्नुभएका कारण उहाँ राजधानीमा सञ्चालन भएको एनएसपीएलमा छनौट भइ सहभागी हुन पाउनुभयो भन्ने हाम्रो बुझाइ हो, ’उहाँले भन्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij