मंगलवार , मंसिर २, २०८२
भैरहवा, २ मंसिर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले चुनाव गराउने मनसाय नै यो सरकारको नदेखिएको दावी गर्नुभएको छ । उहाँले चुनाव नहुने कुरामा चुनावको तयारी गर, तयारीमा जाउ भनेर जनतालाई हामीले किन भ्रममा पार्ने भन्दै प्रश्न समेत गर्नुभएको छ ।
मंगलबार रुपन्देहीको भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्दै अधिकारीले फागुन २१ गते निर्वाचन नहुने भएकाले सहभागीताको प्रश्न नै नहुने बताउनुभयो । ‘यस्तो वातावरणमा कसरी निर्वाचन हुन्छ ? उहाँले भन्नुभयो–‘निर्वाचन नामको नाटक त उहिल्यै ज्ञानेन्द्र शाहले कमल थापाहरुलाई लगाएर गरेको जस्तो खालको हो भने भन्न सकिदैन, ’नत्र निर्वाचन नै हुँदैन ।’ अभियुक्त, अपराधीहरु जेलबाट भागेर बाहिर रहेको र गोलीगठ्ठा, प्रहरीका पोशाक समेत लुटिएको अवस्थामा निर्वाचनको वातावरण बन्न नसक्ने उहाँको भनाइ छ ।
प्रधानमन्त्री स्वयंले दलका नेताहरुलाई भेट्न मन नलागेको बताएको उहाँले बताउनुभयो । दलहरुका नेतासँग सम्वाद गर्दिन भन्ने प्रधानमन्त्रीका कुराले चुनाव गराउने वातावरण छ भन्दै उहाँले प्रश्न गर्नुभयो ।
नेपालको संविधानले अहिलेको प्रधानमन्त्रीलाई नचिन्ने नेता अधिकारीले बताउनुभयो । ‘नेपालको संविधानले सर्वोच्च अदालतका प्रधानन्याधिशलाई मानव अधिकार आयोगबाहेक अन्य स्थानमा नियुक्त गर्न नपाइने प्रावधान छ, त्यसैले यो सरकार असंवैधानिक छ, ’उहाँले भन्नुभयो ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई बचाउन अन्तिमसम्म प्रयत्न गर्नुभएको उहाँले बताउनुभयो । ‘उहाँले राजीनामा दिने बेला पनि संवैधानिक बाटोबाट मात्र निकाय निकाल्न सकिन्छ भनेर राष्ट्रपतिलाई भन्नुभएको थियो, ’अधिकारीले बताउनुभयो । उहाँले नेपाललाई अन्तर्राष्ट्रिय शक्ति केन्द्रको खेलमैदान बन्न नदिनका लागि पनि संविधानको संशोधन गरी नव पुस्तालाई सामेल गरेर सर्वपक्षीय विश्वासिलो सरकार बनाएर तोकिएकै मितिमा पनि निर्वाचन गर्न सकिने बताउनुभयो ।
उहाँले संसद्को पुर्नस्थापना गरी लिगमा ल्याएर सुशासन कायम र भ्रष्टाचारको अन्त्य गर्नुपर्ने नव पुस्ताको मागलाई अत्यन्तै विश्वासिलो आयोग बनाएर पूरा गर्न सकिने बताउनुभयो । नेता अधिकारीले नेकपा (एमाले) को ११ औं महाधिवेशनले सर्वसम्मत नेतृत्व निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबैको आंकाक्षा र इच्छाहरु सम्बोधन गर्ने र उपयुक्त वातावरणमा सही ढंगले सबैलाई ‘सरप्राईज’ दिने गरी महाधिवेशन सम्पन्न हुने दावी गर्नुभयो ।
‘अरु दलले एमालेभित्रको चासो राखेर पार्टीभित्र विग्रह हुन्छ भनेर कामना गर्नुभएको छ भने यो पूरा हुँदैन, ’उहाँले भन्नुभयो । संविधान बचाउन निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयत्न गर्नुभएको नेता अधिकारीको भनाइ छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij