आइतवार , कार्तिक ३०, २०८२
बुटवल, ३० कार्तिक । लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणमा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको छ । लुम्बिनी प्रदेश पूर्वाधारण प्राधिकरणका अनुसार निर्माण सुरु भएको १४ महिनामै यो सफलता प्राप्त भएको हो ।
निर्धारित समय भन्दा पहिले नै योजना सम्पन्न गर्ने गरी तीव्र रुपमा काम अघि बढेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर छविराज पोख्रेलले दावी गर्नुभयो । मुलुककै सबभन्दा ठूलो १२ तलाको अत्याधुनिक सुविधासहितको अस्पताल बनाउने भन्दै २०८० साल पुस २६ गते प्रदेश पूर्वाधार विकास प्राधिकरणले भवन निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको ८ महिनापछि २०८१ भदौ १५ गते मात्र भवनको शिलान्यास गरी निर्माणको काम अगाडि बढाइएको थियो । हाल निर्माणस्थलमा ३ सय बढी जनशक्ति परिचालन गरिएको छ ।
सुविधासम्पन्न दुईवटा भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार लागत अनुमान गरिएकोमा भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगेसनले ६ अर्ब १८ करोड रूपैयाँमा ठेक्का सम्झौता गरेका थिए । ठेक्का सम्झौता अनुसार पाँचवर्ष अर्थात् २०८५ पुस २५ गतेभित्र भवन निर्माणको काम पुरा गर्नुपर्ने शर्त छ ।
कार्यकारी अधिकृत पोखरेलका अनुसार हालसम्म वित्तीय प्रगति भने २६ प्रतिशत मात्रै भएको छ । प्रादेशिक अस्पतालको भवन निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा छुट्टाएको बजेट पहिलो चार महिनामै सकिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ मा भवन निर्माणका लागि १ अर्ब रूपैयाँ विनियोजन गरेको थियो । उक्त रकम अघिल्लो आर्थिक वर्षमा भएको कामको भुक्तानीमै सकिएपछि चालु वर्षका लागि बजेट अभाव भएको हो ।
सरकारको गौरवको आयोजना भनिए पनि भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन नभएपछि निर्माण कम्पनीले उधारोमै काम गरिरहेको छ । पोखरेलका अनुसार सरकारले विनियोजन गरेको १ अर्ब रूपैयाँमध्ये ८५ करोड रूपैयाँ अघिल्लो वर्षको भुक्तानीमा सकिएको छ । बाँकी १५ करोड रूपैयाँ चालु वर्षमा भएको कामको भुक्तानी गरिएको छ भने कात्तिकसम्म सम्पन्न कामको अझै २४ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ । उहाँका अनुसार भवन निर्माणका लागि रकम अभाव भएपछि प्रदेश सरकारसँग चालु वर्षका लागि थप ८० करोड रूपैयाँ माग गरिएको छ । ‘अहिलेसम्मकै २५ करोड भुक्तानी गर्नुपर्ने छ, अहिले भइरहेको कामको प्रगतिलाई हेर्दा बाँकी ८ महिनाका लागि समेत गरी ८० करोड आवश्यक पर्छ,’ उहाँले भन्नुभयो ।
निर्माण कम्पनीलाई नियमित रूपमा रकम भुक्तानी गर्न सके निर्माणको काम पनि समयमै पूरा हुने भएकाले सरकारले पनि रकम थप गर्ने आश्वासन दिएको बताउनुभयो । ‘निर्माण कम्पनीले जसरी काम गरिरहेको छ, यही गतिमा अगाडि बढ्ने र सरकारले पनि बजेट विनियोजन गर्ने हो भने निर्धारित समयभन्दा अगाडि नै भवन निर्माणको काम सम्पन्न हुन सक्छ,’ इञ्जिनियर पोखरेलले भन्नुभयो ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणकातर्फबाट भवन निर्माणमा खटिएका साइट इञ्जिनियर शंकर सुवेदीका अनुसार निर्माण कम्पनीलाई पेश्की स्वरूप ठेक्का सम्झौताको २० प्रतिशत रकम दिने प्रावधान रहे पनि निर्माण कम्पनीले पेश्कीस्वरूप १८ प्रतिशत रकम लगेको छ । यसरी लगेको पेश्की रकम ३० प्रतिशत काम पूरा नगर्दासम्म काट्न पाइँदैन ।
अहिले भइरहेको रफ्तारमा काम भइरहे आगामी असार मसान्तसम्म ५० प्रतिशत जति काम सम्पन्न गर्ने लक्ष्य लिइएको सुवेदीले बताउनुभयो । ‘ठेक्का सम्झौता गरिएको अवधिबाट हेर्ने हो भने चालु आर्थिक वर्षभित्र ४७ प्रतिशत काम पूरा गर्नुपर्ने कार्यतालिका छ । तर, कामको प्रगतिलाई हेर्दा यस वर्ष ५० प्रतिशत काम सम्पन्न हुन्छ भन्ने अपेक्षा गरेका छौं,’सुवेदीले भन्नुभयो ।
भवन निर्माणमा प्रयोग भइरहेका वस्तु तथा कामको गुणस्तर अनुगमनका लागि काठमाडौं विश्वविद्यालयको १६ जनाको प्राविधिक टोलीले सुपरीवेक्षण गरिरहेको छ । भवनको डिजाइन र गुणस्तर सुपरीवेक्षणको जिम्मा ‘जी–टु–जी’ माध्यमबाट काठमाडौं विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौं युनिकन्सर्न कन्सल्टेन्सीलाई दिइएको थियो ।
सिद्धार्थ राजमार्गसँगै जोडिएको कुल ६ बिगाह १२ कट्ठा जमिनमा २०१६ सालमा बनेका पुराना संरचना भत्काएर १२ तलाको मुख्य भवन र क्यान्सर भवन निर्माण थालिएको हो । यसअघि निर्माण गरिएका डाइग्नोष्टिक एण्ड रिसर्च, प्रसूति, महिला तथा बालरोग, जनरल वार्ड र शल्यक्रिया भवनहरू भने यथावत् राखिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij