२०८२, कार्तिक ३० गते

Nov 16 2025 | २०८२, कार्तिक ३० गते

भैरहवामा स्थायी मण्डपको अभाव, अस्थायी संरचनामा वर्षेनी लाखौं खर्च

आइतवार , कार्तिक ३०, २०८२

  • 616
    Shares
  • 616
    Shares
  • भैरहवा, ३० कार्तिक । रुपन्देहीको भैरहवा (सिद्धार्थनगर नगरपालिका) गौतमबुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार हो । यहाँ आर्थिक गतिविधि चलायमान बनाउन र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको आयोजनामा मेला, महोत्सवलगायत विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । भैरहवामा हुने महोत्सवले यो क्षेत्रको पर्यटन, उद्योग, कृषि, व्यापार लगायतको प्रवर्द्धनमा सहयोग पुर्याउँदै आएको छ ।

    ती कार्यक्रममा सरकारी निकाय र नागरिकको पनि सहयोग रहदै आएको छ । यिनै कार्यक्रममध्ये एक हो–यहाँ वार्षिक रुपमा सञ्चालन हुँदै आएको महोत्सव (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन) व्यापार मेला । तर, महोत्सव आयोजना गर्नका लागि भने यहाँ स्थायी मण्डप भने छैन ।

    दुई दशक अघिदेखि भैरहवामा महोत्सव आयोजना गर्न सुरुवात भएको यो नगरमा स्थायी मण्डप निर्माण हुन सकेको छैन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले पहिलोपटक भैरहवामा वि.सं. २०६१ सालमा महोत्सवको आयोजना गरेको थियो । संघले सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा महोत्सवको आयोजना गरेको थियो ।

    वि.सं. २०६६ सालमा चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन रुपन्देही) ले पनि सोही स्थानमा प्रथमपटक महोत्सव आयोजना गरेको थियो । तर, सिद्धार्थ रंगशालामा आयोजना हुँदै आएको महोत्सव पछि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ अञ्चलपुरस्थित निजी जग्गामा आयोजना हुँदै आएको छ । उक्त जग्गा उद्योगी तथा समाजसेवी सीताराम उप्रेतीको हो ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्स रुपन्देहीले आलोपालो रुपमा अञ्चलपुरमा महोत्सवको आयोजना गर्दै आइरहेका छन् । वि.सं. २०७३ मा सिद्धार्थ होटल संघ, नेपालको आयोजना तथा रुपन्देही क्रिकेट संघको सह–आयोजनामा भैरहवाको डण्डाखोला नजिक मेला सञ्चालन गरिएको थियो ।

    स्थायी मण्डप नहुँदा निजी क्षेत्रका संघ–संस्थाहरुले प्रत्येक वर्ष मेला–महोत्सव सञ्चालनका लागि अस्थायी संरचना निर्माणमा ठूलो रकम खर्चिनुपरेको छ ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले स्थायी मण्डप नहुँदा प्रत्येक वर्ष अस्थायी संरचना निर्माणमा लाखौं रकम खर्च हुँदै आएको बताउनुभयो । ‘भैरहवामा महोत्सव मात्र राजनीतिक दलका ठूलाठूला कार्यक्रम, सभा/सम्मेलन गर्नका लागि पनि खुल्ला ठाउँ आवश्यक छ, ’उहाँले भन्नुभयो–‘तर, मण्डप नहुँदा व्यक्तिको जग्गामा मेला–महोत्सव सञ्चालन गर्दै आएको छौं ।’

    विगतमा तीनै तहका सरकार र यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुसँग यसबारे आवाज उठाउँदै आएको उहाँले जानकारी दिनुभयो । निवर्तमान अध्यक्ष श्रेष्ठले जग्गाको व्यवस्था हुन सके संरचना बनाउँदा लाग्ने खर्च निजी क्षेत्र र संघ–संस्थाले गर्ने कुरा आफूहरुले भन्दै आइरहेको बताउनुभयो । स्थायी मण्डप नहुँदा प्रत्येक वर्ष आयोजना हुने मेला–महोत्सवलाई स्तरीय रुपमा बनाउन असर परिरहेको उहाँको भनाइ छ । अब छिटोभन्दा छिटो कुनै न कुनै निकाय÷सरकारले भैरहवामा स्थायी मण्डप बनाउन व्यवस्था सरकारले गर्छ भन्ने आशा र विश्वास राखेको उहाँले बताउनुभयो ।

    त्यस्तै चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले संस्थाले आगामी मंसिर ३ देखि मंसिर २१ गतेसम्म सातौं लुम्बिनी महोत्सव–२०८२ आयोजना गर्न लाग्दा अहिले पनि अस्थायी संरचना बनाउनुपर्ने बाध्यता रहेकोले आफूहरु दुःखी भएको बताउनुभयो । महोत्सव सञ्चालन गर्दा निजी क्षेत्रले अस्थायी संरचनामा ठूलो रकम खर्चिनुपरेको उहाँको भनाइ छ ।

    ‘सिद्धार्थ रंगशाला क्रिकेट मैदानमा परिणत भएपछि महोत्सव आयोजना गर्न मण्डपका लागि विभिन्न स्थानमा जग्गाको खोजी पनि गर्यौं । जग्गा खोजीका लागि समिति नै बनेको थियो, तर पनि समस्या समाधान सकेको छैन, ’उहाँले भन्नुभयो–‘सीमित समय १२–१५ दिनका लागि आयोजना गरिने महोत्सवमा ठूलो रकम खचिर्नुपर्ने बाध्यता छ ।’

    अस्थायी संरचना निर्माणमा हुने खर्च बचाउन सकिए मेलालाई अझ स्तरीय बनाउन सकिने उहाँको भनाइ छ । ‘स्थायी मण्डप भए वर्षमा हुने महोत्सव मात्रै होइन, समयसमयमा शैक्षिक महोत्सव, पुस्तक महोत्सव, जुत्ता मेला, आईटी क्षेत्रको महोत्सव आयोजना गर्न सकिन्छ, ’अध्यक्ष रोक्काले भन्नुभयो–‘अस्थायी संरचना बनाउँदा ठूलो खर्च हुने भएकाले वर्षमा एकपटक मात्रै महोत्सव लगाउने चलन छ ।’

    उहाँले पालिकामा सरकारीस्तरको प्रयाप्त जग्गा नरहेको स्थानीय सरकारबाट जवाफ पाएको जानकारी दिनुभयो । समस्या समाधानका लागि स्थानीय सरकार लाग्नुपर्ने उहाँले बताउनुभयो । स्थानीय सरकार नलागेसम्म व्यक्तिको जग्गामा नै महोत्सव सञ्चालन गर्नुपर्ने बाध्यता रहिरहने उहाँको भनाइ छ । स्थानीय सरकारसहित जिल्लाका सम्पूर्ण सरकारी निकायले स्थायी मण्डपका लागि पहल गर्नुपर्ने अध्यक्ष रोक्काले माग गर्नुभयो ।

    सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले यहाँ स्थायी मण्डप नहुनु सुरुदेखिको नै समस्या रहेको बताउनुभयो । उहाँले नेपाल सरकारअन्तर्गत नगरपालिकामा सरकारी खाली जग्गा नभएको र मण्डपका लागि सानो जग्गाले नपुग्ने बताउनुभयो ।

    ‘यहाँ जग्गाको अभाव भएको हुनाले यसको व्यवस्थापन गर्न अलि गाह्रो भएको छ, ’उहाँले भन्नुभयो–‘सिद्धार्थनगर नगरपालिकामा नयाँ कार्यपालिकाको टीम आइसकेपछि वडाअध्यक्षको संयोजकत्वमा समिति बनाएर जग्गाको खोजी पनि भएको थियो । तर, नगरपालिकाभित्र धेरै स्थान भएको जग्गा नभएको कारण छिमेकी पालिकासँग पनि सहजीकरणको प्रयास गरेका थियौं ।’ छिमेकी तीन–चारवटा पालिकाहरुसँग मिलेर स्थायी मण्डप बनाउनेबारे छलफल भइरहेको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो । महोत्सव सञ्चालनका लागि अस्थायी रुपमा स्टल, प्रवेशद्वार, सचिवालय, मञ्च लगायतका संरचना अस्थायी रुपमा निर्माण हुँदै आएको छ ।