आइतवार , कार्तिक ३०, २०८२
भैरहवा, ३० कार्तिक । जनता समाजवादी पार्टी (जसपा) का नेताहरुको मुलुकको विकासका लागि संघीयता अपरिहार्य रहेको बताएका छन् । उनीहरुले संघीयतालाई बदनाम गर्न खोजिएको बताए । शनिबार रुपन्देहीको भैरहवामा जसपा नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा बोल्ने नेताहरुले संघीयता बचाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पार्टीको पश्चिम नवलपरासी जिल्ला अध्यक्ष धरेन्द्र यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धीहरु रक्षा गर्नुपर्ने बताउनुभयो । रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादवले तराई–मधेशलाई मरुभूमि बनाउने भूमि विधेयक पारित गर्न जसपा नेपालले साथ नदिइएको बताउनुभयो ।
कपिलवस्तु अध्यक्ष शैलेन्द्र कुमार यादवले काँग्रेस–एमालेको अहंकारका कारण देशको यस्तो अवस्था सिर्जना भएको बताउनुभयो ।जसपा नेपालका केन्द्रीय सदस्य तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले सबैको अधिकार र हकका लागि लड्ने पार्टी जसपा नेपाल नै भएको दावी गर्नुभयो । उहाँले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र समानुपातिक प्रतिनिधित्व आवश्यक रहेको बताउनुभयो । ‘भुगोल होइन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउनुपर्छ, ’उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य रीता यादवले संघीयता खारेज गर्न शासक वर्ग लागेकाले संघीथा बचाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । केन्द्रीय सदस्य अब्दुल रसिद खाँले मधेश जनविद्रोहबाट प्राप्त उपलब्ध संस्थागत गर्न अपूरो संविधानलाई पूर्ण गर्नुपर्ने र त्यसका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभयो ।
केन्द्रीय सदस्य कैलाश गुरुङले आगामी निर्वाचनबाट जसपा नेपाल मुलुकको निर्णायक शक्ति बन्ने दावी गर्नुभयो । केन्द्रीय सदस्य रामवचन यादवले सबैको अधिकारका लागि लड्ने पार्टी जसपा नेपाल नै भएको बताउनुभयो ।
केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले संघीयता महंगो भयो भन्दै केही व्यक्तिहरुले बदनाम गरिरहेको बताउनुभयो । उहाँले संघीयताकै कारण गाउँघरका जनताले नजिकबाट सरकारको अनुभुति गर्न पाएको बताउनुभयो ।
केन्द्रीय सदस्य सावित्रा वि.क.ले जेनजी पुस्ताले उठाएको मागहरु जसपा नेपालले वर्षौदेखि उठाउँदै आएको बताउनुभयो । केन्द्रीय सदस्य निलम यादवले आन्दोलन सफल बनाउन महिलाको सहभागीता महत्वपूर्ण हुने बताउनुभयो । केन्द्रीय सदस्य भगवती सुवेदीले केही तत्वले संघीयताको विरोध गरेको तर, प्रदेश र स्थानीय तहलाई अझ बलियो बनाउनुपर्ने बताउनुभयो ।
जसपा नेपालका केन्द्रीय सचिव सुरेश मण्डलले संघीयताविरोधीसँग लड्नुपरेको बताउनुभयो । उहाँले संघीयता लगायत मधेश आन्दोलनको उपलब्धी रक्षा गर्न संघर्ष गर्नुपर्ने बताउनुभयो ।
केन्द्रीय महासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार शर्माले संविधानबाट प्राप्त अधिकार सुनिश्चित गर्दै संविधान संशोधनमार्फत सहमति गरी देशलाई अग्रगमनतर्फ लैजानुपर्ने बताउनुभयो ।
पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संघीय संरचनालाई सुधार्न प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्ने उहाँको भनाइ छ । अहिले प्रदेश सरकारसँग न प्रहरी, न कर्मचारी, न अधिकार छ, चोरलाई समातेर अदालतसम्म पुर्याउने अधिकार पनि छैन, उहाँले भन्नुभयो त्यसैले अधिकारसम्पन्न प्रदेश बनाउनुपर्छ,’उहाँले भन्नुभयो ।
उहाँले काँग्रेस–कम्युनिष्टले संघीय प्रणाली र गणतन्त्र अगाडि बढेको देख्न नचाहेको दावी गर्नुभयो । अहिलेको निर्वाचन प्रणाली गलत भएकोले यसलाई सुधार गर्नुपर्ने उहाँले भनाइ छ । पार्टी र उम्मेदवारले पैसा खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणालीमा नेपालमा आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । विकास बजेटमा पनि भेदभाव रहेको उहाँको भनाइ छ । ‘जहाँको जनसंख्या ६० प्रतिशत छ, त्यहाँको विकास बजेट ११ प्रतिशत छ, अनि कसरी विकास हुन्छ ? ’उहाँले भन्नुभयो–तराई उर्वराभूमि हो । तर, यहाँ गरीबी र बेरोजगारी छ ।’
जसपा नेपाल लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष रामअवतार यादवको अध्यक्षता, इना मुल्लाह फकिरको स्वागत तथा समाजवादी विद्यार्थी युनियन नेपालका वरिष्ठ उपाध्यक्ष राहुल यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य मोहम्मद इस्लाम खाँ लगायतले बोल्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij