बिहिवार , कार्तिक २७, २०८२
बुटवल, २७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी कार्तिक २९ गते शनिबार देशभरका जिल्लाहरूमा जनसभा गर्दैछ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित सरकारले गरेको प्रतिनिधि सभा विघटनप्रति एमालेले आपत्ति जनाउँदै आएको छ ।
सोही क्रममा विघटित प्रतिनिधि सभा पुनः स्थापनाको माग गर्दै एमालेले देशका सबै जिल्लाहरूमा शनिबार जनसभा र प्रदर्शन आयोजना गरेको हो । रुपन्देहीमा पनि शनिबार बुटवलमा जनसभा हुँदैछ ।
एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मीन प्रसाद पौडेलले प्रतिनिधि सभा विघटनविरुद्ध रुपन्देहीमा पनि जनसभा आयोजना गरिएको बताउनुभयो । पौडेलले शनिबारको जनसभा र प्रदर्शन लोकतन्त्रको पक्षमा र प्रतिगामी षडयन्त्रकाविरुद्धमा आयोजना गरिएकोले सबैलाई सहभागी हुन आग्रह गर्नुभयो । उहाँका अनुसार जनसभाअघि युवाहरूले बुटवल राजमार्ग चौराहाबाट ट्राफिक चोकसम्म मार्च पास गर्नेछन् । युवाहरूको मार्च पासपछि प्रदर्शन जनसभामा परिणत हुनेछ ।
प्रचार विभाग प्रमुख पौडेलका अनुसार एमालेले यसपटकको प्रदर्शनलाई जागरण अभियानको रूपमा अघि बढाएको हो । एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध देशैभरी जनपरिचालन गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार गत २२ गते देशभरका वडा तथा २५ गते पालिकाहरूमा भेला र जनप्रदर्शन सम्पन्न गरिसकेको छ । शनिबार सबै जिल्लाहरूमा प्रदर्शनपछि मंसिर ६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने एमालेले तयारी गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij