२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

जेन–जीका माग पूरा नभइकन निर्वाचन हुँदैन : सुदन गुरुङ

बिहिवार , कार्तिक २७, २०८२

  • 223
    Shares
  • 223
    Shares
  • काठमाडौं, २७ कार्तिक । जेन–जी प्रतिनिधि सुदन गुरुङले जेन–जीले राखेका मागहरु पूरा नभइकन निर्वाचन हुन नसक्ने बताउनुभएको छ । 

    बिहीवार बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रा.लि.ले सञ्चालन गर्दै आइरहेको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि त्यहाँ पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले केही बाहेकका सबै जेन–जीहरु एक ठाउँमा रहेको भन्दै माग पूराहुनुपर्ने बताउनु भयो । जेन–जीहरुका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताउनु भयो ।

    जेन–जीका हरेक वार्ताहरुमा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास गृहमन्त्रीले दिनुभएको भएपनि अहिले त्यसअनुसार काम नभइरहेको उहाँको भनाइ छ । 

    उहाँले भन्नुभयो, ‘समग्र हामी जेन–जी हरुको टिम एक ठाउँमा छ । एक दुई जना तलमाथि हुनुहुन्छ । उहाँहरुलाई नै बोलाउँछौँ । माग पूरा नभइकन कसरी चुनाव हुन्छ । यो सबैकुरा गृहमन्त्रीज्युले जिम्मा लिनुपर्छ ।

    उहाँ हामीसँग जंगीअड्डामा पनि सँगै हुनुहुन्थ्यो । राष्ट्रपति कार्यालयमा संविधानविद् भने मलाई चिनाइएको हो । माग पूरा हुन्छ, हुँदैन उहाँहरुलाई थाहा थिएन र ? गिरीबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे । यो सबै भएन भने धोका दिनुभएको हो हामीलाई । अहिले आएर चुनाव चुनाव भन्नुहुन्छ ।’

    आफूहरुका माग पूरा नभए गृहमन्त्रीले धोका दिनुभएको ठहर हुने भन्दै गृहमन्त्रीले जेन–जीका माग पूरा गर्न छोडेर निर्वाचनको रटान लगाउनुभएको उहाँको टिप्पणी छ ।