२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

पामिरमा हस्तलेखन कार्यशाला सुरु

बिहिवार , कार्तिक २७, २०८२

  • 214
    Shares
  • 214
    Shares
  • तिलोत्तमा, २७ कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित पामिर इन्टरनेशनल एकेडेमीमा चारदिने हस्तलेखन कार्यशाला सुरु भएको छ । मंसिर १ गतेसम्म सञ्चालन हुने कार्यशालामा कक्षा २ देखि १० सम्मका विद्यार्थीहरूको सहभागीता रहेको विद्यालयले जनाएको छ ।

    कार्यशालामा प्रशिक्षक ओमप्रकाश बस्यालले विद्यार्थीहरूलाई सुन्दर र स्पष्ट लेखाइका लागि आवश्यक अभ्यास, अक्षर बनावट सुधार्ने तरिका र लेखनशैलीमा ध्यान दिनुपर्ने पक्षबारे प्रशिक्षण दिइरहनुभएको छ । उहाँले हस्तलेखन सुधारले विद्यार्थीको ध्यान केन्द्रित गर्न, स्मरणशक्ति वृद्धि गर्न र शैक्षिक उपलब्धीमा सुधार ल्याउन सहयोग पुर्‍याउने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य गोपाल गौतमले हस्तलेखन केवल लेखाइको सौन्दर्य मात्र नभई विद्यार्थीको अनुशासन, ध्यान र व्यक्तित्व विकाससँग पनि सम्बन्धित रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–‘राम्रो हस्तलेखनले विद्यार्थीमा आत्मविश्वास र सकारात्मक सोच विकास गराउँछ, जुन शैक्षिक सफलता प्राप्त गर्नका लागि अत्यन्त जरुरी छ ।’

    विद्यालयले हस्तलेखन कार्यशालाबाट विद्यार्थीको लेखन सीपमा उल्लेखनीय सुधार आउने र शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रमबाट विद्यार्थीहरुको हस्तलेखन सीप वृद्धि गर्ने र समग्र शिक्षा क्षेत्रको गुणस्तर वृद्धि गर्ने, एकाग्रता अनुशासन बढाउने, लेखाइ प्रविधि सिकाउने, शैक्षिक उपलब्धिमा सुधार ल्याउने, आत्मविश्वास अभिवृद्धि गर्ने, सिर्जनशीलता र सौन्दर्य बोध विकास गर्ने जस्ता उद्देश्य प्राप्तिका लागि कार्यक्रम गरिएको प्राचार्य गौतमले जानकारी दिनुभयो ।

    साथै यस्ता सिर्जनात्मक कार्यले विद्यार्थीमा सिकाइप्रति रुची र लगाव बढाउने भएकाले आगामी दिनमा पनि निरन्तर आयोजना गर्ने योजना रहेको विद्यालयले जनाएको छ ।