२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

बन्द हयात रिजेन्सीद्वारा १३३ श्रमिक कटौतीको घोषणा

बुधवार , कार्तिक २६, २०८२

  • 745
    Shares
  • 745
    Shares
  • काठमाडौं,  २६ कार्तिक । जेन–जी आन्दोलनको कारण देखाउँदै बन्द भएको पाँचतारे होटल हयात रिजेन्सीले श्रमिक कटौटीको घोषणा गरेको छ । 

    गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाउँदै १३३ जना श्रमिकको कटौती गर्ने निर्णय गरेको हो । 

    यो निर्णय मंसिर २२ गते (डिसेम्बर ७, २०२५) बाट लागू हुने बताइएको छ । होटलको मानव शंसाधन विभागका महाप्रवन्धक आशिष कुमारले दिएको जानकारी दिँदै भने–‘होटलको मर्मत सम्भारको कार्य प्रारम्भ भइसकेको र सोका लागि आर्थिक स्रोत जुटाई खर्च व्यवस्थापन गर्नुपर्ने एवं यस अवधिमा सञ्चालनमा नरहेको होटलमा श्रमिकहरुलाई काममा लगाउन समेत होटल असमर्थ रहेको हुँदा होटलमा कार्यरत सम्पूर्ण श्रमिकहरुलाई कटौती गर्नपर्ने भएकाले यो सूचना प्रकाशित भएको मितिले ३० दिन अर्थात मिति २०८२।०८।२२ गते देखि लागू हुनेगरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण (१३३) श्रमिक कटौती गर्न यो सूचना जारी गरिएको छ ।’

    भदौ २३ र २४ गते आन्दोलनका क्रममा आपराधिक समूहले होटल परिसरमा प्रवेश गरी तोडफोड, लुटपाट र आगजनी गरेका थिए । उक्त घटनामा एक विदेशी पाहुनाले आगलागीबाट ज्यान जोगाउने क्रममा चौथो तलाबाट हामफाल्दा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको थियो ।

    आगलागी र तोडफोडका कारण होटलको भौतिक संरचना पूर्णरूपमा नोक्शानमा परेको छ र अन्तर्राष्ट्रिय स्तरमा होटलको ख्यातीमा समेत नकारात्मक असर परेको छ ।

    “होटलको मर्मत सम्भार नगरी सञ्चालन गर्नसक्ने अवस्था नरहेकाले मर्मत अवधिभर कुनै आम्दानी नहुने र ठूलो आर्थिक चुनौतीको सामना गर्नुपर्ने अवस्थाका कारण श्रमिक कटौती गर्नुको विकल्प नरहेको”– महाप्रवन्धक कुमारले दिएको जानकारीमा भनिएको छ ।

    कोभिड–१९ महामारीको कारण लामो समय होटल तथा पर्यटन क्षेत्र प्रभावित भएको र हालसालै केही सुधारको संकेत देखिन थालेको अवस्थामा भदौ २४ को घटनाले होटललाई पुनः गम्भीर आर्थिक संकटमा पारेको व्यवस्थापनले जनाएको छ ।

    हायतले भनेको छ–‘कोभिड १९ का कारण लामो समय सम्म होटल तथा पर्यटन क्षेत्र बन्द भई होटललाई निकै नै ठूलो आर्थिक क्षति भएको र सो अवस्थाबाट हालसालै मात्र केहि सुधार आइरहेकोमा मिति २०८२ भाद्र २४ को घटनाको कारण पुनः होटललाई ठूलो आर्थिक क्षति हुन पुगेको छ ।

    यस परिस्थितिमा होटलको मर्मत सम्भारका लागि करोडौँ रकम लाग्ने र मर्मत अवधि भर होटलको कुनै आम्दानीको स्रोत समेत नहुने भएकाले प्रतिष्ठानलाई विगतको भन्दा ठूलो आर्थिक चुनौति समेत आएको छ ।’ 

    होटलले श्रमिक व्यवस्थापनका सम्बन्धमा सक्रिय ट्रेड युनियनहरूसँग छलफल गरे पनि कुनै ठोस निष्कर्षमा पुग्न नसकिएको हायतले जानकारी दिएको छ । बौद्धस्थित हयात रिजेन्सी काठमाडौं,नेपालको प्रमुख पाँचतारे होटलमध्ये एक हो । र भदौ २४ को घटनापछि पूर्ण रूपमा बन्द रहेको छ ।