२०८२, पौष १२ गते

Dec 27 2025 | २०८२, पौष १२ गते

मलखाद कारखाना स्थापना गर्न नागरिक सरोकार मञ्चको माग

बुधवार , कार्तिक २६, २०८२

  • 961
    Shares
  • 961
    Shares
  • भैरहवा, २६ कार्तिक । नागरिक सरोकार मञ्च नेपाल, रुपन्देहीले मलखाद उत्पादन गर्ने कारखाना यथाशिघ्र स्थापना गर्न आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ । मञ्चले कृषि क्षेत्रलाई व्यवस्थित गर्दै नेपालमै आत्मनिर्भर हुने योजना बनाउन माग गरेको हो ।

    नेपाल कृषिप्रधान देश भएको र यहाँका अधिकांश नागरिक कृषि पेशामा निर्भर भएकाले रासायनिक मलखाद, उन्नत जातको बिउबिजन, सिंचाई, आवश्यक प्रविधि र प्राविधिक तथा बजारको व्यवस्थापन यथोचित समयमा गर्नका लागि योजना निर्माण गर्न मञ्चको माग छ ।

    मंगलबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन–पत्र बुझाउँदै मञ्चले कृषि पेशामा आवश्यक पूर्वाधार, प्रविधि र समयमा मलखाद, गुणस्तरीय बिउबिजन र सिंचाईको व्यवस्था नहुँदा कृषि कर्म गर्ने किसानहरु पेशा छोड्न बाध्य भएको जनाएको छ । ‘किसानहरु आफ्नो पेशा छोडी वैदेशिक रोजगारी र अन्य पेशा गरी आफ्नो जीवनयापन गर्न डरलाग्दो रुपमा विस्थापित हुने गरेको कुरा जगजाहेर छ, ’मञ्चका अध्यक्ष आनन्द प्रसाद गुप्ताले भन्नुभयो–‘जसको फलस्वरुप नेपालमै प्रशस्त उत्पादन हुने धान, गहुँ, मकै, तेलहन, दलहन, तरकारी, बेसार, जौ, कोदो, माछा–मासु, फलफूल, मरमसाला आदि दैनिक अत्यावश्यक वस्तुहरुमा परनिर्भर हुनुपरेको छ । जसले गर्दा वार्षिक खरबौं नेपाली रुपैयाँ विदेश जाने गरेको उहाँले बताउनुभयो ।

    त्यस्तै मञ्चले करिब ४० अर्ब भन्दा बढी रकमको लगानीमा निर्माणसम्पन्न भएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसक्दा राज्यको लगानी बालुवामा पानी जस्तै भएको बताएको छ ।

    विमानस्थल निर्माणसँगै निजीस्तरको अरबौं लगानीबाट निर्माण गरिएका आवश्यक विभिन्न संरचनाहरु सञ्चालन नहुँदा यहाँका उद्योगी–व्यवसायी र लगानीकर्ताहरु आर्थिक रुपमा धरासायी भएको अध्यक्ष गुप्ताले बताउनुभयो । विमानस्थल क्षमताअनुसार सञ्चालन गर्नका लागि आवश्यक व्यवस्था र पूर्वाधारहरु यथाशीघ्र व्यवस्था गर्न मञ्चले सरकारको ध्यानाकर्षण समेत गराएको वरिष्ठ उपाध्यक्ष विकास रायमाझीले बताउनुभयो ।

    ज्ञापन-पत्र बुझाउने कार्यक्रममा मञ्चका महासचिव दीपक केसी, कार्यसमिति सदस्य पशुपति कान्दु, राम बहादुर बस्नेत, सल्लाहकार गोविन्दराज पाण्डे लगायतको उपस्थिति थियो ।