बुधवार , कार्तिक २६, २०८२
भैरहवा, २६ कार्तिक । लुम्बिनी क्षेत्रका सारस संरक्षण प्रयासमा एक महत्वपूर्ण माइलस्टोन हासिल भएको छ । नेपालमा पहिलोपटक सारसमा जीपीएस ट्यागिङ सफलतापूर्वक सम्पन्न गरिएको छ । यस कार्यको नेतृत्व लुम्बिनीका युवा संरक्षणकर्मी अर्जुन कुर्मीले गर्नुभएको हो ।
जीपीएस ट्यागिङका माध्यमबाट सारसको दैनिक चाल–ढाल, बसोबास, भ्रमण मार्ग तथा प्रजनन क्रममा हुने गतिविधिहरूको वैज्ञानिक अध्ययन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा सारसको महत्त्वपूर्ण आवासस्थल मानिँदै आएको छ र यस क्षेत्रमा बढ्दो संरक्षण प्रयासका लागि यो कदम ऐतिहासिक मानिएको छ। कुर्मीले भन्नुभयो–‘सारसको दीर्घकालीन संरक्षणका लागि वैज्ञानिक तथ्य अत्यन्त आवश्यक हुन्छ । जीपीएस ट्यागिङमार्फत सारसको वास्तविक अवस्थाबारे देश–विदेशका अनुसन्धानकर्तालाई प्रामाणिक डेटा उपलब्ध हुनेछ ।’
यस परियोजनामा स्थानीय समुदाय, संरक्षणकर्मी तथा सरोकारवाला निकायहरूको सक्रिय सहयोग रहेको बताइएको छ । बेईजिङ फरेष्ट युनिभरसिटी, चीनको प्राविधिक सहयोगमा भक्तपुर बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालयका प्राणीशास्त्री तथा नेपाल पन्छी संरक्षण संघ (बिसिएन) का कार्यकारी सदस्य दिक्पालकृष्ण कर्माचार्य र ग्रीन युथ अफ लुम्बिनीका अध्यक्ष तथा सारस संरक्षणकर्मी अर्जुन कुर्मीले नेपालमा पहिलोपटक रुपन्देहीमा तीन र कपिलवस्तुमा तीनगरी ६ वटा सारसमा सेटेलाईट ट्याग लगाउनुभएका हो ।
सारसको आनीबानी, विचरण मार्ग, चाल गतिविधि र प्रजनन विषयमा अध्ययन गर्न सेटेलाईट ट्याग लगाइएको कर्माचार्यले बताए । यसबाट सारसको उडान मार्ग, विश्रामस्थल, कुन समयमा कुन क्षेत्र प्रयोग गर्छन् ? र मौषमी स्थानान्तरणका नयाँ सूचनाहरु बाहिर आउनेछन् । यी नविनतम सुचना अन्य माध्यमबाट पत्ता लगाउन नसकिने उहाँले भन्नुभयो–‘सैले जिपिएस ट्याग लगाइएको हो । यसबाट आउने नतिजाले सारस संरक्षणका कुन क्षेत्रमा के गर्नु पर्छ भन्ने योजना बनाउन सहयोग पुग्नेछ ।’
वयस्क सारसलाई नियन्त्रणमा लिएर ट्याग लगाउन गाहैं हुने हुदा उडन् नसक्ने अर्धवयस्क दाँया खुट्टामा सेटेलाईट ट्याग र बाया खुट्टमा कलर रिङ लगाइएको छ । सेटेलाईट ट्यागले सूचना दिन्छ भने कलर रिङ नम्बरिङ गरी पहिचान गर्न लगाईएको छ । एउटा सारसलाई ४ देखि ६ मिनेटमा ट्याग र रिङ लगाउन समय लागेको थियो । त्यसपछि तौल गरेर सारसलाई आफ्नै परिवारसँगै आफ्नै बासस्थानमा सकुशल छाडिन्थ्यो । अर्धवयस्क सारस ६ देखि ८ किलोसम्म तौलका थिए ।
एउटा सेटेलाईट ट्यागको साढे तीन लाख रुपैयाँ लागत रहेको छ । सारसमा लगाइएको सेटेलाईट ट्याग ३ देखि ५ वर्षसम्म चल्ने बताइएको छ । सेटेलाईट ट्याग लगाउँदा चराको कुल तौलको ३ प्रतिशतभन्दा कम तौल रहेको ट्याग लगाउनुपर्ने विश्वव्यापी नियम छ । जसबाट उनीहरुलाई कुनै असर पर्दैन् । यहाँ लगाइएको ट्यागको तौल चराको कुल तौलको एक प्रतिशतभन्दा पनि कम रहेको प्राणीशास्त्री कर्माचार्यले बताउनुभयो ।
डिभिजन वन कार्यालयका अधिकारीको उपस्थितिमा सारसलाई नियन्त्रणमा लिएर अत्याधुनिक वैज्ञानिक उपकरण प्रयोग गरी ट्याग लगाई सुरक्षित रुपमा छाडिएको थियो । ट्याग लगाएको सारसलाई निगरानी गर्दै आफनो परिवारमा सकुसल घुलमिल भएपछि मात्र प्राविधिकहरु एक ठाउँबाट अर्को ठाउँ जाने गर्थे ।
ट्याग लगाइएको सारसलाई प्राविधिकहरुले ट्यागपछि पोष्ट मनिटरिङ गरिरहेका छन् । ट्याग लगाएको ठाउमा पुगेर आफनो परिवारमा छ की छैन् । भौतिक रुपमा कुन अवस्थामा छ हेरिरहेका छन् । यस प्रविधिबाट ट्याग लगाएका सारस कुन दिशातिर कति ल्याटिच्यूट र लंगिच्यूटमा उडीरहेको सबै तथ्यांक दिन्छ । कुन ठाउँमा कसरी बसेको र प्रतिघण्टा कति किलोमिटरका दरले उडीरहेको छ, त्यो पनि जानकारी दिन्छ । सेटेलाईट ट्यागमा रहेको ब्याट्रीले काम गरे नगरेको र चार्ज रहे–नरहे सबैको जानकारी दिन्छ । घामले सेटेलाईट ट्यागको ब्याट्री आफै चार्ज हुन्छ । कम्प्युटरमा सफट्वयेर मार्फत सूचना पाउन सकिने र त्यसलाई आफुले नियमित मनिटरिङ गरेर अध्यावधिक राख्ने प्राणी शास्त्री कर्माचार्यले बताउनुभयो ।
नेपालमा बाघ, हात्ती, गैडा, हिउचितुवा, खर मजुर र गिद्धमा सेटेलाईट ट्याग लगाएर अध्ययन अनुसन्धान गरिएकामा यसपटक सारस थपिएको हो । वन तथा भूसंरक्षण विभागबाट अनुमति लिएर आहाराका लागि कति परसम्म पुग्छ, कस्तो ठाउमा प्रजनन् गर्छ र ट्रान्सबर्डर बसाईसराई गर्छ की गर्दैन् भन्ने पत्ता लगाउन ट्याग लगाइएको डिभिजन वन कार्यालयका सिनियर बन अधिकृत ईश्वरीप्रसाद पौडेलले बताउनुभयो । त्यस्तै कस्तो कस्तो ठाँउमा पुग्छ र यसलाई कस्ता कस्ता चुनौती आइपर्छन् भन्ने थाहा लगाउन पनि सेटेलाईट ट्याग लगाईएको उहाँले बताउनुभयो ।
सारसमा सेटेलाईट ट्याग लगाउने नेपाल चौथौं देश रहेको प्राणीशास्त्री कर्माचार्यले बताउनुभयो । सन् १९९८ देखि २००२ सम्म कम्बोडिया र भियतनाममा ७ वटा, २०१५ देखि २०१७ सम्म १० गरी १७ वटा तथा सन् २०२४ मा भारतमा एउटा वयस्क सारसमा सेटेलाईट ट्याग लगाएर अध्ययन गरिएको उनले बताउनुभयो ।
सारस कृषकको गतिलो साथी पनि हो । बालीनालीलाई नोक्सानी पुर्याउने संखे किरा लगायत किराफ्टयांग्रालाई आहार बनाउँछ । सारस बस्ने ठाउँ वरीपरी सर्पको डर हुँदैन । सजिलै आहार बनाउँछन् । सारसले ओथारो बसेको ३१ देखि ३४ दिनमा बच्चा कोरल्छ । १० देखि १२ किलो तौल हुने यो ५ देखि ६ फिट अग्लो हुन्छ । यो ४०/५० फिट उचाइमा उड्छ ।
सारसलाई बौद्ध धर्मावलम्बीहरु यसलाई आस्थाका रुपमा हेर्छन् । त्यस्तै वाल्मिकृत रामायणको आरम्भ पनि प्रयणरत सारस जोडीको वर्णनबाट सुरु भएको छ । साँस्कृतिक र धार्मिक महत्व पनि उत्तिकै छ । पालैपालो अण्डाको स्याहार र चर्न जाने गर्छन् । यिनीहरुले चिच्चाएर कल आवाज दिन्छन् । यो आवाज सम्पर्कको माध्यम हो । आवाजबाटै परपरका सारस एकत्रित हुन्छन् । कहिलेकाही जोखिम हुँदा पनि कल दिएर सर्तक अपनाउँछन् । नजिकै चितुवा, बाघ भालु लगायत जन्तु आउन लागे पहिले कराएर अग्रिम जानकारी दिन्छन् । यस्ले सम्भावित आक्रमणबाट बच्न सघाउँछ । सारसको महत्वकै कारण लुम्बिनी साँस्कृतिक नगरपालिकाले नगर पंक्षी र भारतको उत्तर प्रदेशको राज्य पंक्षी बनाएको छ ।
वि.सं. २०८० मा गरेको अध्ययनले नेपालमा ६ सय ९० को संख्यामा सारस रहेको बताइएको थियो । जसमध्ये रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा ८० प्रतिशत बढी छन् । विश्वमा पाइने १५ प्रजातिमध्ये नेपालमा चार प्रजातिका सारस पाइन्छन् । जसमा सारस, क¥याङकुरुङ सारस, लक्ष्मण सारस र कालीकण्ठ सारस छन् । कर्याङकुरुङ, लक्ष्मण र कालीकण्ठ सारस हिउँदे आगन्तुक हुन् । यी सारस हिउदमा उत्तरी ध्रुवबाट बसाईसराइ गरेर नेपाल हुदै दक्षिणीतिर लाग्छन् भने केही यही बसेको पाईन्छ ।
सारस जोडी जीवन भर साथसाथै रहने गर्छन् । अर्कोलाई पनि जीवनसाथी बनाउँदैनन् । अन्य जोडीसँग पनि झैगडा नगर्ने भएकाले सारसलाई शान्ति र प्रेमको प्रतिकको रुपमा लिइने चराविद्हरु बताउँछन् । सारस दुर्लभ चरा भएकाले नै वन्यजन्तु संरक्षण ऐन ०२९ ले संरक्षित गरेको ९ पंक्षी प्रजातिमध्ये एक हो । सारस कम देखिन थालेपछि सन् २००० मा विश्वमै दुर्लभ पंक्षीमा सूचीकृत भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij