२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

‘बहादुर कर्णेल’ को शालिक निर्माणका लागि रेशम रायमाझीद्वारा सहयोग

बुधवार , कार्तिक २६, २०८२

  • 214
    Shares
  • 214
    Shares
  • पाल्पा, २६ कार्तिक । पाल्पा बल्ढेङ्गढीका समाजसेवी रेशम रायमाझीले नेपालको इतिहासमा वीरताको प्रतिमूर्तिका रूपमा चिनिएका ‘बहादुर कर्णेल’ गम्भीर सिंह रायमाझीको पूर्णकद शालिक निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ ।

    संयुक्त राज्य अमेरिका (युएसए)मा बसोबास गर्दै आउनुभएका रायमाझीले आफ्नो उद्गमस्थल पाल्पा छहरामा निर्माणाधीन शालिकका लागि उक्त १ लाख ५१ हजार ५ सय १० रुपैयाँ रायमाझी कुलदेवता समिति केन्द्रीय कार्यालयलाई हस्तान्तरण गर्नुभएको हो । करिब रु. ११ लाख लागतमा बन्ने शालिक निर्माण कार्यका लागि उहाँले आवश्यकताअनुसार थप रकम सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । 

    रायमाझी परिवारको ऐतिहासिक व्यक्तित्व ‘बहादुर कर्नेल’ नेपाली सेनाका कमाण्डिङ्ग कर्णेल गम्भीर सिंह रायमाझी हुनुहुन्थ्यो । उहाँले तेस्रो नेपाल–तिब्बत युद्धमा देखाएको साहस र भारतको १८५७ सिपाही विद्रोहमा प्रदर्शन गरेको अदम्य वीरता आज पनि नेपाली सेनाको गौरवको अध्याय बनेको छ । 

    भारतको जौनपुर नजिकैको चन्दा क्षेत्रमा भएको भीषण युद्धमा रायमाझीले खुकुरी प्रयोग गर्दै पाँचजना शत्रुलाई पराजित गर्नुभएको थियो । उहाँले कब्जा गरिएको तोपलाई पुनः आफ्नो फौजको नियन्त्रणमा ल्याउनुभएको थियो । युद्धकै क्रममा पेटमा गहिरो चोट लाग्दा आन्द्राभुँडी बाहिर निस्किएको अवस्थामा उहाँले तत्कालै कचौरामा राखी पटुकाले बाँधेर युद्धलडी सफलता प्राप्त गर्नुभएको थियो । यस अद्भुत साहसका कारण उहाँलाई तत्कालिन नेपाल सरकारले ‘बहादुर कर्नेलको’ पदवी प्रदान गरेका थियो । नेपाली सेनाले रायमाझीको योगदानलाई सदैव स्मरण गर्दै आएको छ । 

    उहाँको स्मरणमा रायमाझी कुलदेवता समितिले पाल्पाको छहरामा निर्माण गर्नका लागेको पूर्णकदको शालिकका निम्ति रेशम रायमाझीले आर्थिक सहयोग प्रदान गर्नुभएको हो । रेशम रायमाझी, पाल्पा बल्ढेङ्गढी निवासी नरबहादुर रायमाझीका नाती र समाजसेवी निरखबहादुर रायमाझीका सुपुत्र हुन् । विदेशमा रहँदै पनि आफ्नो जन्मभूमिप्रति समर्पित रायमाझीले विगतका वर्षहरूमा समेत थुप्रै सामाजिक र मानवीय कार्यहरूमा आर्थिक सहयोग पुर्याउँदै आउनुभएको छ ।

    रायमाझीले बल्ढेङ्गढी निवासी मृगौला पिडित विमला रास्कोटीलाई  १ लाख ५ हजार ८ सय २५ र जगद्गुरु पीठ भैरहवालाई भजन सामग्री खरिदका लागि ४० हजार रुपैयाँ बराबरको सहयोग गर्नुभएको छ  । पाल्पा बल्ढेङ्गढी समाजलाई २७ हजार लगायत विभिन्न व्यक्ति तथा संघ–सस्थालाई रेशम रायमाझीले चालु आर्थिक वर्षमा सहयोग प्रदान गरेको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ ।