मंगलवार , कार्तिक २५, २०८२
भैरहवा, २५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुले वर्तमान सरकारको निर्वाचन गराउनै नसक्ने दावी गरेका छन् । उनीहरुले यो सरकार असंवैधानिक भएकोले निर्वाचन हुन्छ भनेर आफूहरुलाई विश्वास नलागेको बताएका हुन् ।
एमाले सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको नगरस्तरीय भेलामा उनीहरुले फागुन २१ गते निर्वाचन सम्भव नभएको दावी गरेका हुन् । कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले सुशीला कार्कीको नेतृत्वमा बनेको यो सरकारले प्रतिनिधि सभा विघटन गरेर चुनावको घोषणा गरे पनि चुनाव हुन्छ भन्ने कुरा विश्वास नलागेको बताउनुभयो ।
‘अरु मान्छे, अरु पार्टीहरुलाई लागेको होला, तर हामीलाई त्यो विश्वास छैन उहाँले भन्नुभयो–‘किन लागेको छैन भने जेलमा थुनिएका थुप्रै अपराधी र प्रहरीका हतियार र गोलीगठ्ठा बाहिर छन्, उहाँले भन्नुभयो–‘ यिनीहरुले चुनावको कुरा फ्याकेर जनतामा भ्रम सिर्जना गर्दैछन् । अरु पार्टी अलमलमा भए पनि एमाले स्पष्ट रहेको उहाँको दावी छ ।
पूर्व प्रदेश सभा सदस्य समेत रहनुभएका न्यौपानेले विघटन गरिएको प्रतिनिधि सभा पुर्नस्थापना भएर देशका जेनजी युवायुवतीका माग सम्बोधनका लागि सर्वपक्षीय बैठक गरेर संविधान संशोधन हुनुपर्ने बताउनुभयो । ‘यो सरकार असंवैधानिक छ, यो संविधानमा टेकेर बनेको सरकार होइन, उहाँले भन्नुभयो–‘त्यसकारणले यसले चुनाव गराउन सक्दैन भन्ने हाम्रो ठम्याइ छ ।’
एमाले नेतृत्वको सरकारले विकासका थुप्रै कामहरु गरे पनि जनतालाई बुझाउन नसक्नु कमजोरी भएको बताउनुभयो । त्यसकारण केही व्यक्तिहरु भुलभुलैयामा लागेर घर र सम्पदाहरु तोडफोड र आगजनीमा लागेको न्यौपानेको भनाइ छ । ‘भदौ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेपछि सिंहदरबार, सर्वोच्च अदालत, दैशभरी सरकारी कार्यालय, पार्टीका कार्यालय, नेताका घरहरु ध्वस्त पारिए, त्यसको नेतृत्व कसले गरेका थिए ? नेता न्यौपानेले भन्नुभयो–‘यो देशलाई ध्वशं गर्ने योजनासहित भएको हो ।’
त्यस्तै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य, सिद्धार्थनगर इञ्चार्ज तथा हरि प्रसाद अधिकारीले एमाले लगायत पार्टीको सर्वदलीय सरकार गठन नगरिकन यो देशमा निर्वाचन हुन नसक्ने दावी गर्नुभयो । उहाँले अब हुने निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी लाग्न पार्टीका नेता–कार्यकर्ताहरुलाई आह्वान गर्नुभयो ।
सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहनुभएका अधिकारीले २०७४ सालमा बहुमतसहित जितेको एमाले नेतृत्वको स्थानीय सरकारले नगरमा नमूना कार्य गरेको दावी गर्नुभयो ।
पार्टीको रुपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थीले अहिलेको सरकारले निर्वाचनको कुरा गरेर देशको विकासलाई ओझेलमा पार्न खोजेको आरोप लगाउनुभयो । ‘हामी निर्वाचनको विरोधी होइनौ, एमाले निर्वाचनमा जान डराउने पार्टी होइन तर, लुटिएका हतियार र जेलबाट भागेका कैदी फिर्ता नभएसम्म निर्वाचन कसरी हुन्छ ?’उहाँले प्रश्न गर्नुभयो । उपाध्यक्ष पन्थीले एमाले मात्र नभइ अन्य राजनीतिक दलले पनि संसद् पुर्नस्थापनाको कुरा उठाइरहेको बताउनुभयो ।
एमाले जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले घर, गाडी जले पनि आस्थाहरु नढलेको बताउनुभयो । उहाँले एमालेका नेता–कार्यकर्ताहरुको घर जलाएर मात्र नभइ टाउको फुटाए पनि आस्था कहिल्यै नमर्ने दावी गर्नुभयो ।
पार्टीको सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले विगतमा भएको आन्दोलनमा यति धेरै विध्वंश नभएको तर, एमाले नेतृत्वको सरकार हटाउन भदौ २३ र २४ गते विध्वंश भएको बताउनुभयो । उहाँले जेनजीको नाममा सार्वजजिक सम्पत्ति तोडफोड गर्न मिल्छ भन्दै प्रश्न गर्नुभयो ।
एमाले सिद्धार्थनगर कमिटी उपाध्यक्ष माया कंडेलको स्वागत तथा सचिव उमेश थापा लाटोमगरको सञ्चालनमा भेला सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij