२०८२, कार्तिक २१ गते

Nov 07 2025 | २०८२, कार्तिक २१ गते

जसपाको केन्द्रीय समिति बैठक सम्पन्न, के–के भयो निर्णय ?

शुक्रवार , कार्तिक २१, २०८२

  • 562
    Shares
  • 562
    Shares
  • काठमाडौं, २१ कार्तिक । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । कार्तिक १९ र २० गते काठमाडौंमा बसेको बैठकले समसामयिक राजनीतिक विषयमा विभिन्न निर्णयहरु गरेको छ । 

    बैठकले पार्टीका अध्यक्ष अशोक राईले प्रस्ताव गर्नुभएको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । राईले प्रतिवेदनमा समसामयिक राजनीतिको विश्लेषण र पार्टीले आगामी दिनमा लिनुपर्ने नीतिहरुबारे प्रस्ताव गर्नुभएको थियो । 

    बैठकलाई सम्बोधन गर्दै अध्यक्ष राईले पार्टीले आफ्नो विचारको रक्षा गर्दै विचार मिल्ने राजनीतिक दल वा समूहहरुसँग आवश्यकता अनुसार एकता, मोर्चाबन्दी वा चुनावी गठबन्धनमा जान सकिने बताउनुभयो । 
    त्यस्तै बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ तथा महासचिव मोहम्मद इश्तियाक राईले विशेष सम्बोधन गर्नुभएको थियो । 

    बैठकले सरकारलाई निर्वाचनको वातावरण बनाउन शान्ति सुव्यवस्थाको प्रत्याभूति गर्न राजनीतिक दलहरुसँग समन्वय गर्नुपर्ने, भ्रष्टाचार काण्डहरुको छानबीन गर्न सम्बन्धित निकायहरुलाई निर्देशित गर्नुपर्ने, संघीय लोकतान्त्रिक गणतन्त्र, पहिचान र समावेशीताविरुद्धका षड्यन्त्रहरु चिर्न वैचारिक एवं राजनीतिक गतिविधिहरु गर्ने, मुद्दा मिल्ने दलहरुसँग राजनीतिक सहकार्य वा मोर्चाबन्दीका लागि संवाद अघि बढाउने लगायतका नीति तथा कार्यक्रमहरु पारित गरेको छ ।

    साथै चर्चामा आएजस्तो नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरुको एकता प्रक्रियामा मिसिने विषयमा भने जसपाले कुनै निर्णय भने नगरेको पार्टीका राजनीतिक समिति सदस्य एवं लुम्बिनी प्रदेशका इञ्चार्ज मनिकर कार्कीले बताउनुभयो ।

    त्यसै गरी पार्टीले आन्तरिक कोष व्यवस्थापनका लागि आर्थिक विनियम पारित गरेको छ । आगामी निर्वाचनबारे विचार, सिद्धान्त, भावना र कार्यशैली मिल्ने दल वा राजनीतिक समूहहरुसँग एकता, सहकार्य, मोर्चाबन्दी गर्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिलाई अधिकार दिइएको कार्कीले बताउनुभयो ।