शुक्रवार , कार्तिक २१, २०८२
भैरहवा, २१ कार्तिक । भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीले बेलहिया, रुपन्देहीले चालु आर्थिक वर्षको ३ महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत साउनदेखि असोजसम्म कार्यालयले २८ अर्ब ५७ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा लक्ष्यको ९७ दशमलव १५ प्रतिशत राजस्व संकलन गरेको हो ।
भन्सार अधिकृत तथा कार्यालयका सूचना अधिकारी सन्तोष कुमार न्यौपानेका अनुसार साउनमा ८ अर्ब ८४ करोड ८४ लाख ९० हजार राजस्व लक्ष्य पाएकोमा ९ अर्ब २ करोड ९४ लाख ३४ हजार रुपैयाँ संकलन गरेको छ । प्रतिशतको हिसाबले यो लक्ष्यको १०२ दशमलव ०५ प्रतिशत हो ।
त्यस्तै भदौ महिनामा ९ अर्ब ७० करोड ६३ लाख ९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको यो कार्यालयले ९ अर्ब ४३ करोड ९२ लाख २४ हजार रुपैयाँ संकलन गरेको छ । जुन लक्ष्यको ९७ दशमलव २५ प्रतिशत हो ।
त्यसै गरी असोजमा १० अर्ब १ करोड ७४ लाख १ हजार राजस्व संकलनको लक्ष्य पाएको कार्यालयले ९ अर्ब २८ करोड ६७ लाख २० हजार संकलन गरेको छ । जुन लक्ष्यको ९२ दशमलव ७१ प्रतिशत हो ।
गत आर्थिक वर्ष २०८१/०८२ को तीन महिना (साउनदेखि असोजसम्म) मा कार्यालयले २७ अर्ब ४६ करोड ८३ लाख ४२ हजार राजस्व संकलनको लक्ष्य पाएकोमा २५ अर्ब ७ करोड ४९ लाख ९ हजार अर्थात लक्ष्यको ९१ दशमलव २८ प्रतिशत राजस्व संकलन गरेको थियो ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा भैरहवा भन्सार कार्यालयले १ खर्ब १३ अर्ब ६६ करोड ६८ लाख १९ हजार राजस्व संकलनको लक्ष्य पाएको छ । उहाँले भैरहवा भन्सार कार्यालय नेपालको ‘लाइफलाइन’ को रुपमा रहेको बताउनुभयो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट भैरहवा भन्सार कार्यालयको भवनमा क्षति पुगेको थियो । तर, कार्यालयले केही दिनपछि कार्यालय परिसरमा टेण्ट टांगेर सेवा सुरु गरेको थियो । स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नेपालको प्रमुख नाका भन्सार नाका हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij