२०८२, कार्तिक १७ गते

Nov 03 2025 | २०८२, कार्तिक १७ गते

न्यू इन्भाइरन्मन्टमा सिकाई मेला सम्पन्न

सोमवार , कार्तिक १७, २०८२

  • 490
    Shares
  • 490
    Shares
  • बुटवल, १७ कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित न्यू इन्भाइरन्मन्ट इङ्गलिस सेकेण्डरी स्कूलमा क्रियाकलापमा आधारित शिक्षण विधि : सिकाई मेला–२०८२ सम्पन्न भएको छ । ‘प्रविधियुक्त, गुणस्तरीय, संस्कारयुक्त शिक्षा : आजको आवश्यकता, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ विद्यार्थीहरुको सिक्न सक्ने क्षमताको विकास गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलोपटक यस्तो मेला आयोजना गरिएको विद्यालयले जनाएको छ । 

    सिकाई मेलाका मुख्य प्रशिक्षक तथा सहजकर्ता अर्जुन भट्ट र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल बनले संयुक्त रुपमा सिकाई क्रियाकलापमार्फत् उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले कक्षाकोठामा रहेका विद्यार्थीहरुको सिक्न सक्ने क्षमता पनि फरकफरक हुने बताउनुभयो । उहाँले फरकफरक क्षमताका सबै विद्यार्थीहरुको क्षमता विकास गरी अब्बल बनाउने र विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले आध्यात्मिक शिक्षा तथा पञ्चशीललाई ग्रहण गर्दै विद्यार्थीहरुलाई नैतिकवान बनाउने र संस्कारसहितको शिक्षा प्रदान गर्ने विद्यालयको मुख्य ध्येय रहेको बताउनुभयो ।

    प्राचार्य ज्ञवालीका अनुसार कार्यक्रममा कक्षा १, ३, ५ र ७ कक्षामा अध्ययनरत ७५० जना विद्यार्थी र अभिभावकहरुको सहभागीता थियो । विद्यार्थीहरुलाई २२ वटा समूहमा विभाजन गरी विभिन्न ६ चरणमा १३२ वटा सीपमूलक तथा मनोरञ्जनात्मक क्रियाकलाप गराइएको थियो । पाँचौ चरणसम्म विद्यार्थीहरुलाई सिकाई क्रियाकलाप गराइएको थियो भने अन्तिम छैठौं चरणमा अभिभावकहरुलाई मनोरञ्जनात्मक खेल खेलाइएको थियो ।

    विद्यालयका अध्यक्ष बनले विद्यालयको प्रगति दिनप्रतिदिन चुलिदो रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुले असफलताबाट पनि धेरै कुरा सिक्न सक्ने भन्दै उहाँले आफm्नो मिहेनतलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभइ अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाउने गरी पठनपाठन गराउँदै आएको अध्यक्ष बनले बताउनुभयो । 

    कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले विद्यार्थीहरुको सिकाई अभिवृद्धिका लागि यस्तो मेला उपलब्धीमूलक देखिएको भन्दै यहाँका अन्य विद्यालयहरुले पनि यस्ता कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिनुभयो । 

    त्यस्तै समीक्षक तथा प्रा.डा.गणेश पाठकले सिकाईका लागि यो मेला अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । विद्यार्थीहरुले कक्षाकोठामा सुनेर ५–१० प्रतिशत मात्र सिक्न सक्ने भन्दै उहाँले रमाइलो वातावरणमा यस्ता क्रियाकलापबाट सिकेको कुरा जीवनभर सम्झिन सक्ने बताउनुभयो । कक्षा कोठामा पनि शिक्षकहरुले यस्ता क्रियाकलापहरुलाई समावेश गर्नुपर्नेमा उहाँले मेलामा सहभागी विद्यार्थीहरु आरुयू नेपाल, प्रकृति भट्ट, मेरिडा मल्ल, अभियान खनाल लगायतले बोल्दै यो मेलामा सहभागी हुँदा उत्साहित भएको बताउनुभयो ।

    कार्यक्रममा विद्यार्थीहरुले राष्ट्रिय गान, नगर गान, पञ्चशील, वेद मन्त्र प्रस्तुत गरेका थिए । विद्यालयमा १६० जना शिक्षक–कर्मचारी कार्यरत तथा २ हजार बढी विद्यार्थी अध्ययनरत रहेका छन् । कार्यक्रमको सञ्चालन कक्षा ९ की छात्रा प्रान्जु अर्यालले गर्नुभएको थियो ।