२०८२, कार्तिक १६ गते

Nov 02 2025 | २०८२, कार्तिक १६ गते

गफले रोजगारी सिर्जना हुँदैन : हर्क साम्पाङ

आइतवार , कार्तिक १६, २०८२

  • 442
    Shares
  • 442
    Shares
  • काठमाडौं, १६ कार्तिक । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाकाका प्रमुख(मेयर) हर्क साम्पाङको गफले मात्रै रोजगारी सिर्जना नहुने बताउनुभएको छ ।

    आईतवार निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई दिएको मान्यताको प्रमाणपत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने बताउनु भयो । श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक रुपान्तरण र आर्थिक रुपान्तरणको लागि फिल्डमा खटेर काम गर्ने उहाँको भनाई छ ।

    उहाँले उत्पादन बढाउन नसक्दा प्रायः नेपाली बेरोजगार हुनुपरेको बताउनु भयो । उहाँले देश आफैँले बनाउने मौलिक शैली अपनाउने उल्लेख गर्नुभयो । देश विदेशी ऋणले मात्रै नचल्ने बताउनुहुँदै उहाँले देश अब नेपाली आँफैले बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गरिबी, अभाव र यसकै कारणले हुने विभिन्न खालका ठगी, भ्रष्टाचार, बेइमानीलाई अन्त्य गर्ने बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘जुन काम आजसम्म भएन, यत्तिका वर्षसम्म । त्यो काम गर्ने हो । उत्पादन, निर्माण, सामाजिक रपन्तरणका लागि, आर्थिक रुपान्तरणको लागी हामी अब फिल्डमा निस्केर काम गर्छौं । अफिसका बसेर भाषणमा सिमित हुँदैनौँ ।

    हामी चाँही पक्का फिल्डका काम गर्ने एउटा संगठन निर्माण गर्दैछौँ । पहिला त यो देशमा काम गर्नुपर्छ । उत्पादन बढाउनुपर्छ । हामी सबै बेरोजगार छौँ प्रायः । रोजगारीको सिर्जना गफले हुँदैन ।

    विदेशी ऋणले नी चल्दैन यो देश । त्यसले गर्दाखेरि यो देश अब हामी आँफैले बनाउनुपर्छ भन्ने हाम्रो मौलिक शैली छ । ती शैलीलाई हामीले विर्सियौँ । त्यो मौलिक शैलीहरुलाई पनि हामीले फेरि उजागर   गर्छौ ।’ 

    उहाँले आफूहरुले दलको झण्डा नराख्ने बताउनु भयो । दलको चुनाव चिन्ह भने माटोको ढिस्को राखिएको छ । लोकतन्त्रमा विश्वास राख्ने भएकोले आवधिक निर्वाचनमा पार्टीले भाग लिने उहाँको भनाई छ ।

    निर्वाचनको लागि तयारी पनि भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले परम्परागत राजनीतिक दलजस्तो आफ्नो पार्टी नहुने पनि दाबी गर्नुभयो । हरेक टोलमा पार्टीले काम गर्ने श्रमदाता बनाउने उहाँले जानकारी दिनुभयो ।

    निर्वाचन आयोगले साम्पाङको पार्टीलाई आईतवार मान्यता दिएको हो । साम्पाङले आईतवार आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र लिनुभएको छ ।