आइतवार , कार्तिक १६, २०८२
काठमाडौं, १६ कार्तिक । शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका बासिन्दासँग विभिन्न समयमा भएका सहमतिहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
आईतवार बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको अनुगमन गर्ने क्रममा उहाँले स्थानीयका मागहरु १५ दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले वातावरणीय प्रभाव मूल्याङ्कन बाहेक अन्य मागहरु १५ दिनभित्र पूरा गर्ने बताउनु भयो ।
उहाँले वातावरणीय प्रभाव मूल्याङ्कन भने पुस महिनापछि हुने बताउनु भयो । सो कार्यको लागि परामर्शदाता छनौट गरी काम भइरहेको समेत जानकारी दिनुभयो । ल्याण्डफिल्ड साइटबाट प्रभावित हुने क्षेत्रको यकिन गर्न चार चरणको तथ्याङ्क आवश्यक पर्ने भएकाले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सम्पन्न गर्न केही समय लाग्ने उहाँको भनाई छ ।
मन्त्री घिसिङले इआइएपछि प्रभावित क्षेत्रको पहिचान हुने भएकाले सोही बमोजिम जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुभयो ।
मन्त्री घिसिङले स्थानीयवासी र नगरपालिकाबीच २०७९ मा भएको १८ बुँदे सहमति र २०८० सालमा प्रधानमन्त्रीसँग भएको ४ बुँदे सहमति अझै कार्यन्वयनमा नआएको स्वीकार गर्नुभयो ।
उहाँले स्थानियवासीसँग भएको सम्झौतालाई अनिवार्य कार्यन्वयन गर्नुपर्ने पक्षमा आफू रहेको बताउनु भयो । सहमति कार्यन्वयनका लागि सबै सरोकारवालाहरुसँग समन्वय गर्ने उहाँको भनाई छ ।
उहाँले पुराना सम्झौता कार्यन्वयन हुँदा मात्रै पनि धेरै समस्या समाधान बताउँदै फोहोर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजनासहित अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अल्पकालीन रुपमा गर्न सकिने काम तत्काल अगाडि बढाउने र विगतमा भएका सहमति कार्यान्वयनका लागि गर्नुपर्ने नीतिगत निर्णय गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हिजो अस्तीदेखि मैले अध्ययन गरँे, तपाईंहरुको विषयमा धेरै सहमति भएको रहेछ । १८ बुँदे सहमति ०७९ सालमा नगरपालिकासँग भएको रहेछ, २०८० सालमा प्रधानमन्त्रीसँगै ४ बुँदे सहमति भएको रहेछ । त्यो सहमतिहरुलाई कार्यन्वयन गर्नुपर्छ ।
कहीँ कार्यन्वयन भएको छैन भने त्यो कार्यन्यवन किन भएन भन्नेकुरा अब सरकारले र सम्बन्धित निकाय सबै एक भएर कार्यन्यवयन गर्नुपर्छ । त्यो कार्यन्वयन गर्नमा म प्रतिवद्ध भएर सबै निकार्यसंग समन्वय गर्छु भनेर म प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छु ।
त्यो कार्यन्यनको विषय मात्रै हुँदा पनि धेरै कुरा समाधान हुने रहेछ । थप विषयहरु पोलिसिगत विषयहरु अझै पनि के के गर्नुपर्ने विषयहरु छ भने त्यो पनि हामी छलफल गर्नसक्छौँ ।’
उहाँले फोहोर व्यवस्थापनको काम रातीको समयमा गर्न पनि निर्देशन दिनुभयो । राती काम गर्नको लागि उहाँले विद्युतको व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभयो ।
ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले सहमति गर्ने तर त्यसलाई कार्यन्वयन नगर्ने प्रचलन बसेको भन्दै असन्तुष्टि जनाउनु भयो । नागरिकले आन्दोलन नगरेसम्म निदाएर बस्ने प्रचलन अन्त्य गर्नुपर्ने उहाँको माग छ ।
स्थानीयले नयाँ कुनै माग नराखेको भन्दै उहाँले सरकारसँग विगतमा भएको जमिनको रेखाङ्कन, मूल्याङकन, अधिकरण, निक्षेपको व्यवस्थापन सम्बन्धि भएको सहमति कार्यन्वयन गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले शहरी विकास मन्त्रालयमा नै एउटा समझदारी गरेका थियौँ । संगै वडा अध्यक्षज्युहरुले पनि काठमाडां महानगरको कार्यलयमा त्यहाँका मेयर, उपमेयर लगायतका पात्रहरु बसेर एउटा समझदारी गर्नुभएको छ । हाम्रो प्रचलन के रह्यो भने सहमतिमा सम्झौता गर्ने तर त्यसलाई फर्केर नहेर्ने ।
जुन दिन पुनः त्यहाँका नागरिकले आन्दोलन गर्ने प्रयत्न गर्दैनन्, तबसम्म निदाएर बस्ने प्रचलन हाम्रो छ । यो प्रचलनलाई मैले खबरदार भन्न चाहन्छु । त्यो दिन यो आजको दिनबाट अन्त्य होस् ।
यहाँका आन्दोलनकारी कुनै ठूलो माग राख्नुभएको मैले देख्दिन । यहाँका स्थानियवासीहरुले पुरानै २०८०। १ । २९ गते नेपाल सरकारको प्रधानमन्त्री कार्यलयमा नै बसेर गरिएको निर्णयहरु कार्यान्वयन भइदियो भने यहाँका नागरिकको समस्या अहिले जुन उठाइराख्नुभएको छ, त्यो चार बुँदामा लेखिएको दोस्रो बुँदामा लेखिएको छ, विशेष गरेर यहाँको जग्गाको रेखाङकन, मूल्याङकन, अधिकरण, निक्षेपको व्यवस्थापन सम्बन्धि निर्णय छ ।
यो निर्णय कार्यन्वयन भईदिने हो यहाँका नागरिकले सधैका लागी फोहोर सुध्नबाट हामी टाढा हुन्छौँ भन्ने यहाँका आम फोहोरबाट प्रभावित बासिन्दा हुनुहुन्छ, उहाँहरुको यही नै माग हो ।’
मन्त्री घिसिङले स्थानीयको माग पूरा गर्ने प्रतिवद्धता जनाउनुभएपछि बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जन गर्न पाँच दिन यता भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडी ल्याण्डफिल्डसाइटतर्फ गएका छन् ।
फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ, शहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिका कार्यकारी अधिकृतसहितको टोली लिएर आइतबार बिहान बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा जानुभएको थियो ।
टोलीले फोहोर विसर्जन गर्ने ठाउँको स्थलगलत निरीक्षण गर्नुकासाथै ल्याण्डफिल्ड साइट पर्ने धादिङको धुनिवेशी नगरपालिकाका प्रमुख, नुवाकोटका ककनी गाउँपालिका अध्यक्ष, प्रभावित वडाका वडाध्यक्षहरु र स्थानीय बासिन्दासँग अन्तक्रिया गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij