आइतवार , कार्तिक १६, २०८२
काठमाडौं, १६ कार्तिक । नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले जेन–जी पुस्ता र आफ्नो पार्टीबीच साझा धारणा रहेको दाबी गर्नुभएको छ ।
आईतवार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले जेन–जीले उठाएका माग आफूहरुले यस अघि नै उठाएको माग भएको जिकिर गर्दै उनीहरुसँग आफ्नो पार्टीको सोच, विचार र धारणा समेत साझा रहेको बताउनुभएको हो ।
नेता सापकोटाले जेनजी पुस्ताको मागसँग आफूहरु सकारात्मक रहेको कुरा राष्ट्रपति, प्रधानमन्त्रीसँगको भेटमा पनि आफूहरुले गर्दै आएको स्मरण समेत गराउनु भयो ।
उहाँले जेन–जी पुस्ताले उठाएको सबै माग जायज रहेको जिकिर समेत गर्नुभयो ।
नेता सापकोटाले भन्नुभयो, ‘हामी जेन–जीले उठाएका मागहरुमा सकारात्मक मात्रै होइन, ती त हामीले पहिलादेखि नै उठाएका मागहरु हुन् । र उनीहरुको हाम्रो धारणा समान छ, साझा छ । र अहिले त्यसका लागि नै हामीले कुराकानी गरिरहेका छौं ।
चाहे प्रधानमन्त्रीले बोलाउँदा होस, चाहे राष्ट्रपतिले बोलाउँदाखेरी होस् । जेनजीको र हाम्रो सोच, विचार र समान धारणा छ । त्यहाँ एकरुपता भइरहेको छ । यही कुरा म फेरी पनि स्पष्ट पार्न चाहन्छु ।’
नेता सापकोटाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने कुरालाई आफूहरुले सकारात्मक रुपमा लिएको टिप्पणी समेत गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij