२०८२, कार्तिक १५ गते

Nov 01 2025 | २०८२, कार्तिक १५ गते

उद्योगीले विद्युत महशुल नतिरेको भनेर भ्रम फिंजाइयो : अध्यक्ष आचार्य

शनिवार , कार्तिक १५, २०८२

  • 754
    Shares
  • 754
    Shares
  • भैरहवा, १५ कार्तिक । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले उद्योगीहरुले विद्युत महशुल नतिरेको भनेर भ्रम फिँजाइएको बताउनुभएको छ । उहाँले उद्योगहरू बन्द हुँदा विद्युत् महशुलमा मात्र मासिक डेढ अर्ब रुपैयाँ बराबरको घाटा भएको बताउनुभयो ।

    उर्जामन्त्री कुलमान घिसिङले शनिबार सामाजिक सञ्जाल फेसबुकमा उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेर विद्युत् आपूर्ति पाएको तर, आजसम्म पनि उनीहरूले त्यसबापतको प्रिमियम महसुल नबुझाएको स्टाटस लेख्नुभएको छ । मन्त्री घिसिङले नियमित बिल तिरे पनि प्रिमियम महसुलको बक्यौता तिर्न नमान्दा नेपाल विद्युत प्राधिकरणले कानूनबमोजिम लाइन काट्न बाध्य भएको स्टाटस लेख्नुभएको हो ।

    अध्यक्ष आचार्यले फेसबुकमा लेख्नुभएको छ–‘कुलमानलाई प्रतिकृया लेख्न बाध्य पारेको मेरो आर्टिकल यही हो । यसैसँगै उद्योगीहरुले विद्युत महशुल नतिरेको भनेर भ्रम फिंजाइएको छ । जबकी प्राधिकरणले पठाएको नियमित बील अनुसार महशुल तिरिरहेकै थिए र छन् ।’ 

    उहाँले लोडसेडिङका बेला उद्योगीहरुसँग डेडिकेटेट र ट्रंकलाइनमार्फत खपत गर्दा लाग्ने अतिरिक्त प्रिमियम शुल्कमा मात्र विवाद भएको र यो विवादको सिर्जना नेपाल विद्युत प्राधिकरण आफैले सिर्जना गरेको बताउनुभयो ।

    ‘प्राधिकरणले नियमित बीलसँगै प्रिमियम महशुलको बील किन पठाएन ? लोडसेडिङ अन्त्य भएको घोषणा गरिसकेपछि पनि किन प्रिमियम महशुल दावी गरेर ३ वर्षपछि मात्र अतिरिक्त शुल्क दावी गर्दै प्रयोग गरेको बिलको प्रमाण बिना गुण्डागर्दी शैलीमा महशुल उठाउन खोज्छ ?, उहाँले प्रश्न गर्नुभयो ।

    उद्योगीहरुबाट गलत भएकै छ भने यसको निरुपण न्यायिक निकायमार्फत गर्ने कि अर्थतन्त्रको मेरुदण्ड उद्योगहरु बन्द गराउने भन्दै आचार्यको प्रश्न छ । ‘यी यावत प्रश्नहरुको जवाफ दिन प्राधिकरण र वर्तमान उर्जामन्त्री तयार छैनन् । तत्कालिन प्राधिकरण प्रमुख तथा वर्तमान उर्जामन्त्रीको गल्ती र ‘इगो’ साँध्न देशको अर्थतन्त्रको ढाड भाँच्न खोजिएको छ, ’उहाँले भन्नुभयो ।