२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैन : भट्टराई

शुक्रवार , कार्तिक १४, २०८२

  • 946
    Shares
  • 946
    Shares
  • काठमाडौं, १४ कार्तिक । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ । 

    एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वपक्षीय सरकारको प्रश्ताव अघि सारिरहेका बेला उहाँले यस्तो धारणा राख्नुभएको हो । भट्टराईले तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने चेतावनी दिँदै यही संविधानमा टेकेर दलहरुले छिटो निर्वाचन गराउने दिशामा अघि बढ्नुपर्ने बताउनु भयो ।

    वर्तमान कार्की नेतृत्वको अन्तरिम सरकारमा भएका कमीहरु हटाएर मुलुकलाई निर्वाचन सम्पन्न गराउनेतिर अघि बढाउनुपर्ने उहाँको भनाई थियो ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां ले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै भट्टराईले नेपालको वर्तमान संविधानलाई आधार बनाएर मुलुकमा रास्वपालगायतका वैकल्पिक राजनीतिक दलहरुले अघि बढ्दा नै उपयुक्त  हुने समेत बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘अब निर्वाचनमा त हामीले जसरी पनि गर्नुपर्छ । कथमकदाचित निर्वाचन भएन भने डरलाग्दो अध्यारो सुरुङमा देश फस्छ । त्यसैले हामी सबैले सहयोग गरेर यो अन्तरिम सरकार, यो सुशीला कार्की नेतृत्वको जुन सरकार छ ।

    यसका अपूर्णता, कमी,कमजोरी छन् भने यसलाई सच्याउन लगाऔं । तर यसैमार्फत नै छिटो चुनाव गराउनेतिर नै हामी जानुपर्छ । त्यसमा निम्ति जुन हाम्रा अलगअलग दलहरु छन् । अलग अगल दल पनि चुनावमा जान सकिन्छ । रास्वपाका साथीहरुलाई हामी एक्लै जान सकि हाल्छौ भन्ने आधारहरु पनि छन् त । ’ 

    भट्टराईले मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउनका लागि सम्बन्धित निकायहरुलाई बलियो बनाएर अघि बढन उपयुक्त पनि स्पष्ट पार्नुभयो ।