बिहिवार , कार्तिक १३, २०८२
भैरहवा, १३ कार्तिक । मजदूर नेता तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतम बिहीबार नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडि बोल्दै हुनुहुन्थ्यो । उहाँ उद्योगी–व्यवसायी र श्रमिकहरुद्वारा आयोजना गरिएको धर्ना कार्यक्रममा बोल्दाबोल्दै ढल्नुभयो । उहाँले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गर्नुभएको थियो । उहाँले श्रमिकहरूलाई गुमाउन नचाहेको बताउँदै बताउँदै उहाँको बोली लरबरिएको थियो । ‘अतः यो कारणले’ भन्दै गर्दा उहाँ ढल्नुभयो ।
धर्नामा उद्योगी र मजदूरको बारेमा बोलिरहदा गौतम एकाएक ढलेपछि त्यहाँको माहोल केहीबार सुनसान बन्यो । तत्काल उहाँलाई उपचारका लागि तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित क्रिमशन अस्पतालमा लगियो । तर, चिकित्सकले उहाँलाई मृत घोषणा गरेका छन् ।
बुटवल उपमहानगरपालिका–३ निवासी गौतमको ६२ वर्षको उमेरमा निधन भएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका गौतम सरल र इमान्दार नेताको रुपमा परिचित हुनुहुन्छ । गौतमको निधन भएपछि उद्योगी, व्यवसायी र आम नागरिक चिन्तित भएका छन् । स्वर्गीय गौतमको श्रीमती र दुई छोरा छन् ।
कमल गौतमको निधनले पार्टी र समाजलाई अपुरणीय क्षति पुगेको एमाले रुपन्देहीका उपाध्यक्ष हितराज पन्थीले बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij