
बुधवार , कार्तिक ५, २०८२
काठमाडौं, ५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले छठ पर्वपछि वामपन्थी एकता हुने दाबी गर्नुभएको छ ।
जनकपुुरधाममा बुधवार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । समाजवादी मोर्चामा रहेका राजनीतिक दलहरु एकता प्रक्रियामा अग्रसर रहेको बताउनु भयो ।
वामपन्थी एकताको नयाँ परिस्थिति छठपछि देखिने उहाँको दाबी छ । उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचन तोकिएको समयमै हुनुपर्ने र सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनु भयो ।
मंगलवार मात्रै संसदीय दलहरुसँग सरकारले वार्ता गरेको र सरकार विस्तारै निर्वाचनतिर गम्भीर हुँदै गएको आभाष भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचन तोकिएको समयमा हुनुपर्छ । सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्छ । हिजोमात्रै संसदीय दलहरुसँग जुन वार्ता भएको छ, सरकारको त्यसबाट सरकार विस्तारै निर्वाचनतिर गम्भीर हुँदै गएको आभाष त मिल्छ तर यतिबेला अझै पनि निर्णय गर्ने पार्टी माओवादी केन्द्रै बन्यो ।
जेन जी आन्दोलनपछि सार्वजनिक रुपमा अपिल गर्ने पनि हामी नै भयौँ । काठमाडौं उपत्यका बाहिर आएर मधेस प्रदेशमा कार्यक्रम गर्ने पनि हामी नै सायद पहिलो पार्टी हौँ । निर्वाचनको वातावरण बन्नुपर्छ ।
वामपन्थी एकता र ध्रुविकरणको कुरा समाजवादी मोर्चामा भएका पार्टी एकता प्रक्रियातिर हामी अघि बढेका छौँ । छठपछि नयाँ परिस्थिति देख्नुहुनेछ, वामपन्थी एकताको ।’
उहाँले जेन—जी आन्दोलनपछि मधेस प्रदेशमा सार्वजनिक कार्यक्रम गर्ने पार्टी माओवादी केन्द्र रहेको समेत दाबी गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij