२०८२, कार्तिक ४ गते

Oct 21 2025 | २०८२, कार्तिक ४ गते

गाईको पूजा गरी मनाइयो गाई तिहार

मंगलवार , कार्तिक ४, २०८२

  • 412
    Shares
  • 412
    Shares
  • भैरहवा, ४ कार्तिक । नेपालीहरूको महान चाड तिहारको चौथो दिन आज गाई पूजा गरेर मनाइँदैछ ।

    घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गइ गाईको पूजाआज गरेका हुन् । यमपञ्चक अर्थात तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ ।

    गौशालामा रहेको नन्दी सेवास्थलमा पनि गाई पूजा गर्नेको भीड छ । आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन नेपालीहरुको घर, गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइएको छ ।

    गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

    गाई हिन्दु धर्मावलम्वीहरूका लागि पवित्र र महत्वपूर्ण प्राणी हो । आमाले आफ्ना सन्तानलाई दुध खुवाएजस्तै गाईले मानवलाई दुध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई गौमाताको रुपमा पुकारिने गरिन्छ ।

    गाईबाट प्राप्त हुने दुध, दही, घ्यु, गहुँत, गोबर आदि प्राचिन कालदेखि नै मानिसले प्रयोग गर्दै आएका छन् । कृषि–उत्पादन वृद्धिका लागि समेत गाईको गोबर र गहुँत मल र विषादी दुवै रूपमा प्रयोग हुने गर्छ । प्राचिन कालमा गाई सबैभन्दा महत्वपूर्ण चल सम्पती मानिन्थ्यो ।

    पृथ्वी सबैको साझाका अभियन्ता आरवी न्यौपानेले नेपाल देवभूमि रहेको र देवभूमिमा गाईको अपमान भइरहेको बताउनु भयो । मानिसमा धर्म सक्किँदा यो अवस्था आएको उहाँको भनाइ छ ।

    गाईलाई दिइने खानेकुरा ल्याउन पनि पशुपति क्षेत्र विकास कोषले समस्या सिर्जना गरिरहेको गुनासो गर्नुभयो । बेलुका ९ बजेपछि मात्रै ल्याउ भन्ने, बिहान ल्याउनै नदिने जस्ता समस्या रहेको बताउनु भयो । गाईलाई बचाए मात्रै नेपालीको धर्म र संस्कृति बाँच्ने भन्दे सबै गाई बचाउने अभियानमा लाग्नुपर्ने बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘आज यो विश्वको गुरुदेव, ऋषिभूमि, तपोभूमि र देवभूमि हो । यो देशमा गाईको अपमान भयो । जिउँदो देवतालाई । यो कसलाई दोष दिने ? गाईले आराध्यदेव पशुपतिनाथ पत्ता लगाइदिनुभयो ।

    मानिसमा धर्म सक्कियो । अरुको भाग खोस्न मिल्दैन । गाईलाई चाहिने खानेकुरा पनि दिनुहुन्न । खानेकुरा ल्याउन नदिने अन्याय गरेको छ । गाईलाई बचाउने अभियानमा लाग्नुपर्छ । अन्तरिम सरकारका प्रधानमन्त्रीलाई म अनुरोध गर्दछु गाई कसरी बचाउने ? त्यसमा लाग्नुपर्छ । सरकार जुनसुकै आएपनि गाईको व्यवस्थापन हुन सकेको छैन ।’

    गाईको संरक्षणमा लाग्दै आउनुभएकी हीरा पाण्डेले गाईलाई आमाकै रुपमा लिइने र जन्मदेखि मृत्युपर्यन्तसम्म गाईको महत्व रहेको बताउनु भयो । गाईमा ३३ कोटी देवताको नै बास हुने बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘गाई आमाकै रुपमा लिन्छौँ । जन्मदेखि मृत्युपर्यन्तसम्म रहन्छ । दीपावलीको बेला त महत्व छँदैछ । अरु दिन पूजा गरेको पनि साक्षात ३३ कोटी देवताको नै बास छ ।’

    घरमा गाई नभएकाले पशुपतिको गौशाला र अन्य गाई पालन गरेका ठाउँमा गएर गाई पूजा गरेका छन् ।