२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

नवलपरासीमा ६७ वटा गिद्ध मृत फेला

बुधवार , बैशाख ८, २०७८

परासी, ८ वैशाख । 
पश्चिम नवलपरासीमा विश्वकै लोपोन्मुख पंक्षी गिद्ध मृत परेका छन् । जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर ४ जितपुरस्थित एक पर्तीजग्गामा ६८ वटा गिद्धमध्ये ६७ वटा मृत फेला परेका छन् भने एउटा गिद्ध विरामी अवस्थामा फेला परेको छ जसको उपचार भइरहेको छ । गिद्धहरु उक्त क्षेत्रमा मारेर फालिएको कुकुरको सिनो खान आएका थिए ।

स्थानीयका अनुसार जितपुरका एक व्यक्तिले एउटा कुकुरलाई विष खुवाएर मारेर फालेका थिए । त्यही सिनो खाएर पनि गिद्धहरु मरेको हुन सक्ने अनुमान रहेको जानकारी दिएको छ । संरक्षण गर्नुपर्ने लोपोन्मुख गिद्धहरुलाई यसरी मृत देख्दा सबैको मन दुखी समेत भएको स्थानीयले दु:खेसो पोखेका छन् ।  

स्थानीयका अनुसार हिजो मंगलबार दिउँसो ३ बजेको समयमा ती गिद्धहरु सिनो खाएर अचानक विरामी भइ धमाधम मर्न थाले । गिद्धहरु विरामी भएको र मर्न थालेको कुरा फेसबुक र फोन लगायतका विभिन्न माध्यमबाट सम्बन्धित निकायलाई पुर्याउँँदा पनि समयमा सम्बन्धित निकायले चासो नदिदा ती गिद्धहरुको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । यति धेरै संख्यामा मृत लोपोन्मुख गिद्धहरु राज्यको लागि ठुलो क्षति रहेको देखिन्छ ।  

मृत गिद्धहरुमा डंगर अतिसंकटापन्न गिद्ध ३१ वटा सानो खैरो अतिसंकटापन्न गिद्ध १ वटा, हिमाली संकटापन्न ३३ वटा र राजगिद्ध संरक्षित २ वटा गरि कुल ६७ वटा गिद्धहरु रहेका छन् । यी गिद्धहरु मर्नुका मुख्य कारण विषादी रहेको हुन सक्ने अनुमान गरिएको छ । गिद्धहरु मृत फेला परेको स्थल र त्यहाँको वस्तुस्थिति बुझ्दा मृत कुकुरको सिनोमा विषादी रहेको हुन सक्ने र त्यही विषादीयुक्त सिनो खाएरै गिद्धहरु मरेको हुन सक्ने नेपाल पंक्षी संरक्षण संघ बुटवलको टोलीले जनाएको छ ।

अहिले गिद्धहरुलाई एक ठाउँमा संकलन गरिएको छ । गिद्धहरुको पोष्ट मार्टम गर्न राष्ट्रिय निकुञ्ज चितवनको चिकित्सक टोलीसहित घटना स्थलमा आईरहेको र ती गिद्धहरुको मृत्यु के कारणले भएको हो भनी पुष्टि समेत हुने रामग्राम नगरपालिकाले जनाएको छ । विषादी दिएर कुकुर मारेर खुल्ला ठाउँमा फाल्ने व्यक्तिको समेत खोजी कार्य भइरहेको प्रशासनले जनाएको छ ।
यसरी गाउँ घरमा विषादी दिएर मारिएको जनावरहरुको शवलाई उचित व्यस्थापन नगर्दा यस्तो दुःखद र अप्रिय घटना घटिरहेको छ । कुनै पनि जनावरलाई विषादी दिएर मार्नु हुदैन र मरेको जनावरलाइ उचित ठाउँमा लगेर पुर्ने समेतको कार्य गर्नुपर्ने जनचेतना सबैमा हुनुपर्छ जसले यस्तो घटनालाई न्युनस्करणमा मद्दत पुग्नेछ ।