
शनिवार , आश्विन २५, २०८२
भैरहवा, २५ असोज । समाजमा मानसिक स्वास्थ्य समस्यासम्बन्धी रहेका रुढीवादी सोचलाई हटाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुले अझै पनि मानसिक स्वास्थ्य सम्बन्धी समस्यालाई नकारात्मक रुपमा लिइएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल एरिया–५ को आयोजनामा शुक्रबार रुपन्देहीको भैरहवामा भएको प्रभातफेरी पश्चात आयोजित समापन कार्यक्रममा सहभागीहरुले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दै गएको बताए ।
कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पी, नेपालका जीएमएच कोर्डिनेटर ओम कुमार श्रेष्ठले कोभिड–१९ पछि विश्वमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या ह्वात्तै बढेको बताउनुभयो । उहाँले जेनजी आन्दोलनपछि यो समस्या झनै बढेको बताउनुभयो । ‘विश्वमा यति धेरै प्रगति भइसक्दा अझै पनि मानसिक स्वास्थ्य समस्यालाई नकारात्मक रुपमा लिने गरिएको छ, समस्यालाई नकारात्मक रुपमा नलिइ उपचारमा जानुपर्छ ।’
त्यस्तै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवाको क्षेत्रीय प्रमुख शान्ति सुवेदीले शारीरिक स्वस्थताका लागि खाना, उपचार, व्यायाममा ध्यान दिए जस्तै मानसिक स्वास्थ्यका लागि मनको व्यायाम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले मनको व्यायामका लागि सकारात्मक सोचको नित्य अभ्यास गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । ‘मानसिक रुपमा स्वस्थ हुन मनलाई दमन होइन, सकारात्मक बनाउनुपर्छ, ’उहाँले भन्नुभयो।
त्यसै गरी कार्यक्रमका प्रमुख अतिथि लायन्सका पूर्व डिष्ट्रिक गभर्नर तथा एलसीआईएफ एमडी कोर्डिनेटर अरुण प्रताप राणाले मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई व्यापक रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । भूकम्प, कोरोना र पछिल्लो समय भएको जेनजी आन्दोलनपछि मानसिक स्वास्थ्य समस्या अझ बढेको उहाँले बताउनुभयो । जेनजी आन्दोलन सकारात्मक मागका लागि भए पनि आन्दोलनमा धेरै नकारात्मक गतिविधिहरु भएको उहाँको भनाइ छ ।
भैरहवाको बुद्धचोकदेखि सुरु भएको प्रभातफेरी बर्मेलीटोली, नारायणपथ, विद्रोहीचोक, प्रहरी टोल हुँदै मिलनचोकमा पुगेर समापन भएको लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालको मानसिक स्वास्थ्य कार्यक्रम संयोजक उमेश आचार्यले बताउनुभयो । प्रभातफेरीमा एरिया–५ अन्तर्गत रहेका लायन्स क्लबहरु, ब्रह्माकुमारी ईश्वरीय विद्यालय, साईकल सिटी भैरहवा, जगर्श गु्रप, भैरहवालगायतको सहभागीता रहेको एरिया–५ का चिफ प्रशान्तमणि रामदामले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij