२०८२, आश्विन २३ गते

Oct 09 2025 | २०८२, आश्विन २३ गते

मिडिया ट्रायल: भूमिका र प्रभाव

बुधवार , आश्विन २२, २०८२

  • 592
    Shares
  • 592
    Shares
  • अहिले समाजको सबैभन्दा विश्वासिलो माध्यम भनेको मिडिया हो । मिडियाले सम्प्रेषण गरेका करिबकरिब सामग्रीहरु सत्य, तथ्य र निष्पक्ष हुन्छ भन्ने आम मानिसहरुमा धारणा रहेको छ । मिडियाले सरकार र जनताबीच सूचना आदानप्रदान गर्न पुलको काम गर्छ । तर, अहिले नेपालमा मिडियालाई ट्रायल सेन्टरको रुपमा विकास गरेको अनुभुति भएको छ । सामान्यदेखि गम्भिर प्रकृतिको विषयवस्तु अथवा घटनाहरुलाई मिडियामार्फत जनतामा सम्प्रेषण गर्ने र त्यसपछि सत्यतामा भ्रम छर्ने प्रयास गरेको थुप्रै उदाहरण छन् । कुनै पनि सार्वजनिक मिडियामार्फत कुनै अपराध, विवाद वा सामाजिक घटनाका बारेमा अदालत वा सम्बन्धीत निकायबाट उचित निर्णय आउनुपूर्व नै दोषी वा निर्दोष करार गरी सजायको मागसम्म गर्ने जस्ता क्रियाकलापलाई सामान्य रुपले मिडिया ट्रायल भन्ने गरिन्छ । मिडिया ट्रायल सामान्यतया अदालतमा विचाराधीन मुद्दाका विषयमा समाचार माध्यमहरुले निरन्तर सार्वजनिक बहस, अन्तरवार्ता, सामाचार रिपोर्ट, टिप्पणीमार्फत जनतासामु प्रस्तुत गर्ने र जनताबाट नै त्यसलाई सफाई दिने वा निर्णय गराउने प्रयास गरिरहेका हुन्छन्, यस्तो क्रियाकलापले अदालतको भूमिकालाई समेत अप्रत्यक्ष रुपमा प्रभाव पार्ने प्रयास भएको देखिन्छ ।

    सन् १९२० को दशकतिर अमेरिकामा त्यहाँको मिडियाले राजनैतिक भ्रष्टाचार र देशभित्रको हत्या–हिंसाको घटनाहरुलाई सनसनीपूर्ण तरिकाले प्रस्तुत गरी मिडिया ट्रायल शब्दलाई व्यापक प्रचारमा ल्याइएको देखिन्छ भने नेपालको हकमा वि.सं. २०५० तिरबाट जब निजी टेलिभिजन र अनलाईन मिडियाको सुरुवात भयो त्यसपछि यो प्रयोग भएको देखिन्छ ।

    मिडिया ट्रायल किन गरिन्छ ?
    १. सुचना र जनचासोका लागि: जनताका चासोका विषयवस्तुमा सूचनाहरु सम्प्रेषण गर्ने क्रममा समाचार माध्यमहरुले त्यसको विस्तृत रिपोर्टहरु तयार गर्छन् । जब त्यो विषयवस्तु भावनात्मक, एकतर्फी वा अनुमानमा आधारित हुन्छ त्यसपछि नै सो विषयवस्तु मिडिया ट्रायलको रुपमा रहने हुन्छ । जसले जनतालाई सूचना वा जनचासोका विषयको पक्ष वा विपक्षमा जनमत सृजना गर्न सक्छ ।

    २. न्यायीक दबाबका लागि: सार्वजनिक घटना वा विषयवस्तुका बारेमा हुनुपर्ने न्याय कहिलेकाही विविध कारणले ढिला हुन पुग्छ, जुन समयमा यसप्रकारको मिडिया ट्रायलमार्फत न्यायको पक्षमा छिटो निष्कर्ष निकाल्न दबाब सृजना गर्न सकिन्छ ।

    ३. व्यवसायिक प्रतिष्पर्धा: मिडिया हाउसहरुले कहिलेकांही आफ्नो हाउसको व्यवसायलाई बढाउन र दर्शकहरुको ध्यानाकर्षण गर्नका लागि र अरु भन्दा पहिले र नयाँ ढंगबाट प्रतिष्पर्धा गर्न पनि यसलाई प्रयोग गरेको देखिन्छ ।

    ४. राजनितिक प्रभाव: केही मिडिया हाउसहरुले विभिन्न खालको राजनीतिक दलको प्रभावमा परी उनीहरुको राजनीतिक र वैचारिक मुद्दालाई एकतर्फी रुपमा सम्पे्रषण गरी आफ्नो प्रभाव जनतासामु देखाउनका लागि ट्रायल गरेको अनुभुति हुन्छ ।

    यसले पार्ने प्रभाव:
    मिडिया ट्रायलले जनतासामु सकारात्मक र नकारात्मक दुवै प्रकारका प्रभावहरु पारेको हुन्छ । जनताको भावना नबुझी वा वास्तविकता भन्दा टाढा वा हतारमा आफ्नो मिडिया हाउसको प्रभाव देखाउन खोज्दा यसले न्याय क्षेत्र वा अदालतको निर्णय गर्ने कुरामा अप्रत्यक्ष रुपमा प्रभाव पार्छ भने जो व्यक्तिको सामाजिक न्याय वा अदालती प्रक्रियाको पर्खाइमा हुन्छ, उसको व्यक्तिगत प्रतिष्ठामा समेत आँच आउने हुन्छ तथा यस्तो खालको ट्रायलले पत्रकारिताको आचारसंहितालाई समेत लात मारेको अनुभुति हुन जान्छ भने अझ हाम्रो समाज तथ्य भन्दा भावनामा बढी बग्ने हुँदा जनताको मनोभावनाको गलत नजिर बस्ने र दोषीलाई छ्ुट हुने सम्भावना बढ्ने देखिन्छ । हुन त मिडिया ट्रायलले नकारात्मक मात्र होइन सकारात्मक प्रभाव पनि परेको हुन्छ, यस्तो खालेको ट्रायलले जनसमुदायमा वा समाजमा फैलिरहेको नकारात्मक वा गलत कार्यको विरुद्ध सचेतना गराउँछ, लामो समय न्याय प्रक्रिया रोकिएको अवस्थामा समयमा न्याय दिन दबाब सृजना हुन्छ भने सरकार, प्रहरी प्रशासन वा सम्बन्धीत निकायलाई निष्पक्ष र समयमा कार्य गर्न वा जवाफदेहिता बनाउन पनि ठूलो मद्दत गर्छ ।

    कानूनी तथा नैतिक पक्ष
    नेपालको संविधान २०७२ को धारा १७ र १९ ले नेपालमा प्रेस स्वतन्त्रता सुनिश्चित गरेको छ । यस धारा अन्र्तगत मिडियालाई पनि आचारसंहिता र कानूनी सीमाभित्र रहेर काम गर्ने दायित्व हुन्छ । त्यस्तै नेपाल प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता अनुसार मिडियाले अदालतमा विचाराधीन मुद्दाको निर्णयलाई प्रभावित पार्ने सामग्री प्रकाशन वा प्रसारण गर्न नहुने भनेर उल्लेख गरेको छ भने विभिन्न ऐनहरु, संहिताहरुले पनि व्यक्तिको मान, प्रतिष्ठा र निज धारणा वा विचारको संरक्षणको प्रावधान गरेको कारण कानूनी तथा नैतिक रुपमै मिडिया ट्रायललाई बन्देज जस्तै गरेको छ । यस्तो परिप्रेक्षमा पनि केही मिडिया हाउसहरुले सो कार्य गर्नु उचित मान्न सकिदैन ।

    नेपालको सन्र्दभमा मिडिया वा पत्रकारितालाई लोकतन्त्रको चौथो अंगको रुपमा मानेको छ, त्यसैले यसको भूमिकालाई सबैले सम्मान गर्नुपर्छ । जनतालाई सही र सत्य सूचना दिनु, सत्ता र समाजमा पारदर्शीता ल्याउनु, सरकारले गरेका राम्रा र नराम्रा कामहरुको खण्डन गर्नु अनि जनताको समेत भूमिकालाई उत्साहित गराउने हरेक मिडियाको दायित्व हो । तर, जब मिडियाले न्यायालयको अधिकार क्षेत्रमा हस्तक्षेप गर्छ, त्यो स्वतन्त्र प्रेसको सीमाभन्दा बाहिरको गतिविधि हुन्छ । अतः आम सञ्चार माध्यमले मिडिया ट्रायलको सट्टा जिम्मेवार पत्रकारिता गर्न आवश्यक छ, जसले तथ्य, सन्तुलन र नैतिकता कायम राख्दै समाज र न्याय दुवैको सम्मान गर्न सकोस् ।