
बुधवार , आश्विन २२, २०८२
काठमाडौं, २२ असोज । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतेले आफूहरु संसद पुनस्र्थापनाको माग लिएर अदालत जाने बताउनुभएको छ ।
बुधवार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी उहाँले एमाले संसद पुनस्र्थापनाको माग लिएर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने जाने बताउनुभएको हो ।
नेता बस्नेतले संसद पुनस्र्थापनाको माग पार्टीले आधिकारिक ढंगले अघि बढाउने वा कानून व्यवसायीमार्फत अघि बढाउने भन्ने विषयमा पनि अन्तिम छलफल भईरहेको समेत बताउनु भयो । उहाँले भ्रष्टाचारविरुद्धको जेनजी पुस्ताको आन्दोलनमा आफूको पूर्ण साथ रहने पनि पटक पटक बताउनु भयो ।
नेता बस्नेतले भन्नुभयो,‘संसद पुनःस्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौं । पार्टीले आधिकारिक ढंगले जाने अथवा कानून व्यवसायीमार्फत जाने । त्यो कुरामा हामी अन्तिम छलफल गर्दैछौं ।
र, यतिखेर जेनजीहरुको मागलाई नयाँ दलहरुले सम्बोधन गर्दैनन् कि भन्ने एउटा चिन्ता र अफवाह फैल्याइएको छ । म जेनजी भाईबहिनीहरुलाई अनुरोध गर्न चाहन्छु–अब तपाईहरुको नाम हामीले जेनजी होइन, डिजिटल जेनेरेशन राखिदियौं हामीले । अब तपाईहरुलाई म अनुरोध गर्न चाहन्छु–भ्रष्टाचार रोक्ने तपाईहरुको मागलाई हामी पूर्ण साथ दिन्छौं ।
भ्रष्टाचार विरुद्ध निष्पक्ष छानविन समिति बनाएर छानविन गर्ने कुरामा पुराना दल अथवा नेकपा एमाले अथवा हामी स्वयममाथि पनि तपाईहरुको आशंका छ भने हामी छानविनको दायरामा आउन तयार छौं । तर तपाईहरुको रगतमा होलि खेलेर घाईतेहरुको बैशाकी टेकेर अहिले सरकारमा गएर तपाईहरुलाई उचाल्ने हरेक व्यक्तिहरुको पनि छानविन हुनुपर्छ ।’
नेता बस्नेतले जेन—जी पुस्ताको नाममा सरकारमा गएकाहरु पनि भ्रष्ट भए÷नभएको छानविन गर्नुपर्ने माग गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij