२०८२, आश्विन २२ गते

Oct 08 2025 | २०८२, आश्विन २२ गते

तरकारी बजारमा हरियो साग तथा तरकारीको मूल्यमा अस्वभाविक वृद्धि

बुधवार , आश्विन २२, २०८२

  • 319
    Shares
  • 319
    Shares
  • काठमाडौं, २२ असोज । गत शनिवार र आईतवारको अविरल वर्षाले तरकारी तथा हरियो सागको आपूर्ति प्रभावित हुँदा काठमाडौंको कालिमाटी तरकारी बजारमा हरियो साग तथा तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ ।

    अविरलको वर्षासँगै पहिरो खस्दा उपत्यकासँग छिमेकी जिल्लाको सडक नेटवर्क अवरुद्ध हुँदा तरकारी भित्रिन नपाएको हरियो साग तथा तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि भएको हो ।

    सकडमार्ग अवरुद्ध भएको कारण गाउँका उत्पादकहरुले साग तथा तरकारी काठमाडौं ल्याउन पाएका छैनन् । सोही कारण सामान्यतया २ सय रुपैयाँ प्रतिकिलोमा उपलब्ध हुने तरकारीका मूल्य ६ सय रुपैयाँसम्म पुगेको छ ।

    कालिमाटी तरकारी बजारका व्यवसायी रामकृष्ण दुवालकाअनुसार दशैँअघि दैनिक तीन–चार हजार केजी तरकारी तथा सागसब्जी कालिमाटी बजारमा भित्रिने भएपपनि  दशैँको समयमा यो परिमाण घटेर दुई–तीन क्विन्टलमा झरेको थियो ।

    जसले स्थानीय बासिन्दाहरूलाई समेत पर्याप्त रुपमा तरकारी उपलब्ध गर्न समस्या भएको उहाँको भनाइ छ । वर्षाले सडक तथा बाटोमा पानीको सतह बढाउँदा ग्रामीण क्षेत्रबाट तरकारीको पूर्णतः ढुवानी हुन नसकेकोले आपूर्तिमा समस्या भइरहेको उहाँको भनाइ छ । 

    उहाँले भन्नुभयो,‘अविरल वर्षाको कारण दशैँ पछाडि बजार तरकारी आएन । त्यसकारण दशैँसँगै आएको अविरल वर्षाको कारण दुई सय पर्ने तरकारी किलोको ६ रुपैयाँसम्म पुगेको छ ।  धनिया मात्र पनि दशैँभन्दा पहिले दुई सय रुपैयाँमा पाइन्थ्यो ।

    अहिले ८ सय रुपैयाँ प्रतिकिलो पुगेको छ । पानी परेर गाउँबाट ल्याउन नसकिएकै कारण हरियो साग र तरकारीको भाउ दोब्बरभन्दा बढीले बढ्यो । दशैँमा तरकारीको आपुर्ती कम भयो । तीन चार हजार आउनुपर्ने तरकारी र सागहरु दशैंको समयमा दुई, तीन क्वीन्टल मात्र आयो । त्यो तरकारीले त यहाँको स्थानीयलाई पनि पुगेन ।

    त्यो समयमा धनिया किलोको ८ सय, पालक किलोको ३ सय अनि गोलभेडा किलोको १ सय रुपैया पनि पुग्यो । त्यसकारण पाउँदै नपाउने अवस्था त भएन । तर आपूर्ति कम र माग बढी हुँदा महंगियो ।’

    सडक सञ्जाल खुलेसँगै तरकारी आपूर्ति सहज हुने व्यवसायीहरुको विश्वास छ ।